Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नियात्राः नेपोलियन बोनापार्टको जन्मथलो पुग्दा

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७७, शुक्रबार
नियात्राः नेपोलियन बोनापार्टको जन्मथलो पुग्दा

हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।
अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोनादेखि टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्हसम्म घाम लजाएर नवदुलही झैं घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापरयो अनि निमेषभरमै बिलाइहाल्यो ।
टुलनमा भएको त्यति बिरमाइलो मौसमलाई, हामीले जित्न सकिरहेको थिएनौं । तर, बेलुकीपख पानीजहाज कोर्शिका टापु जाँदै थियो । त्यसैले मेरा मनभित्र केही खुशीका तरङ्गहरु उब्जिरहेका थिएँ किनभने कोर्शिकामा फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको जन्म भएको थियो । त्यसैले मेरा मन त्यहाँ पुग्न एकदम आतुर आतुर भइरहेका थिएँ ।
बेलुकीको समय ६ बज्नै लागेको थियो । तारासँग जहाजको दशौं तलामा उभिएर टुलन बन्दरगाहको दृश्यावलोकन गरिरहेका थियौं । तर, समुन्द्रतटबाट उठेका बतासको मन्द मन्द गतिले हाम्रा गालाहरुमा छोइरहेका हामीलाई यदाकदा आभाष भइरहेको थियो । अझै आवाजबिहीन तिनै सामुन्द्रिक हावाले ताराको सेतो जामालाई फरर उडाइरहेको क्षण हेर्दा मलाई असाध्यै रमाइलो लागिरहेको थियो ।
फ्रान्सको दक्षिणी सहर टुलनमा, त्यतिबेला हेमन्त ऋतुको समय थियो । त्यस्तो समयमा बन्दरगाहको नजिकै विरुप भएका नग्न रुखहरुको दुःखद् दृश्यलाई देख्दा मेरो हृदय थोरै टुटेंका थिएँ । समय समयमा चलेको चिसो बतासले तिनै रुखहरुलाई बिनासङ्गीत नचाँइरहेको उराठिलो दृश्य देख्दा मेरो मुटु झन छियाँ छियाँ परिरहेका थिएँ ।
पानीजहाजको पौडी पोखरी सिधै अगाडि एउटा ठूलो भित्तेघडी झुन्डिरहेको थियो । हामी मन्त्रमुग्ध भएर टुलन सहरलाई अङ्गालो मारिरहँदा त्यो घडीले अचानक ‘टिङरिङ्ग’ गरेको आवाज दियो । अनायसै त्यसरी आएको आवाजलाई पछ्याउँदै पछ्याउँदै, मैले टाउको घुमाएर घडीको छातीमा पुरयाएको थिएँ । त्यतिबेला, फ्रान्सको समय बेलुकीको ६ बजेको थियो ।

घडीको आवाज आएको केहीक्षणमा, हामीले यात्रा गरिरहेको पानीजहाज ‘आइल्याण्ड एस्क्याप’ ले टुलन सहर थर्कने गरेर ठूलो ठूलो हरण बजाउन थाल्यो । त्यति ठूलो हरणको आवाजले मेरो दिललाई एकछिन बैचैन बनाइरह्यो किनभने, टुलन सहरको यात्रा हाम्रो जिन्दगीमा प्रथम अनि अन्तिम पटकको थियो । त्यसपछि, ‘हामी कहिले पनि टुलन फर्केर नजाने है ?’ ताराले भनेकी कुरोलाई मैले त्यसबेला झलझलि सम्झिरहें ।
बिदाइको हरण तीनचोटि बजेपछि, पानीजहाजले बिस्तारै बन्दरगाहलाई छाड्दै गयो । एकछिनपछि, फ्रेन्च लडाकु बिमान बोक्ने पानीजहाज ‘चाल्र्स डे गुले’ को नजिकै भएर हाम्रो पानीजहाज बहन थाल्यो । मैले त्यसबेला त्यति ठूलो बिमान बाहक युद्धपोतलाई राम्ररी नियालेर हेरिरहेको थिएँ किनभने त्यो जहाज फ्रेन्च जलसेनाको सबैभन्दा ठूलो लडाकु पानीजहाज थियो अनि टुलन तिनै फ्रान्सका लडाकु युद्धपोतहरुको जलगृह पर्दथ्यो ।
लडाकु बिमान बोक्ने चाल्र्स डे गुलेलाई छाडेर, हाम्रो पानीजहाज विस्तारै बहँदै भूमध्ये सागरको मध्य भागतर्फ लाग्यो अनि जहाजले दिएको मधूरो बत्तीको प्रकाशले घरिघरी टल्केको पानीको फोहोरासँग सँगै क्रमशः अगाडि बहिरह्यो ।
एकछिनपछि, पानीजहाजको गति २० नटस प्रतिघण्टा पुगेको कुरो पोलिस कप्तान बार्तोसले ध्वनिप्रशारक यन्त्रदेखि बताउन थाले अनि उनले त्यसरातको मौसमको भविश्यकथन गर्दैगर्दा हामी आफ्नो कोठातर्फ जानको लागि बाटो तताइसकेका थियौं । हामी कोठामा पुग्यौं, र टेलिभिजन हेरेर केही समय बितायौं । त्यसपछि, बेलुकीको खाना खान सातौंतलामा अवस्थित ‘आइल्याण्ड भोजनालय’ तर्फ लाग्यौं ।
हामी आइल्याण्ड भोजनालयमा पुग्दा बेलुकीको समय सात बजिसकेको थियो । हामी त्यहाँ पुगेर कछुवा गतिमा अग्रिम आरक्षण गरेको टेबलतर्फ लाग्यौं । भोजनालयमा हाम्रो टेबलको नम्बर २२० थियो । र, टेबल जहाजको बायाँपट्टिको झ्याल नजिकै पर्दथ्यो । त्यस टेबलमा हामीलाई सेवाप्रदान गर्ने बेयराहरु यात्राको अबधिभरि फेरिदैन थिएँ । मलाई पानीजहाजको त्यो पक्ष साह्रै राम्रो लाग्दथ्यो । त्यतिबेला पनि हामी टेबलमा पुग्नै आँट्दा जानोले देखिन र मस्किँदै मस्किँदै हाम्रो नजिक आइहालिन् ।
जानो बिगत तीन दिनदेखि तारासँग राम्रो साथी बनिसकेकी थिइन् । कोहीमा, नागाल्याण्डबाट आएकी उनले हामी नजिक आउँदा एकहातमा जगभरि पानी पनि लिएर आइन् । हामी कुर्सीमा बस्ने बितिक्कै थपक थपक पानीको गिलास भरिदिइन् र लज्जालु स्वरमा बोल्न थालिन् ।
‘तारा, आज तपाई के पिउनुहुन्छ ?’ जानोले आत्मीयताको साथ हिन्दी भाषामा सोधिन् । ताराले उनको कुरो प्रष्टै बुझेपनि, केही बोलिनन् । उनले अब के भन्ने होला भनेर मेरो मुहारतिर एकझलक हेरिन् ।
‘जानो, हामी पहिले खानाको मेनु हेर्छौ । अनि खानाअनुसारको वाइन मगाउँछौ ।’ ताराको सट्टा मैले नै हल्का जवाफ उनलाई फर्काइदिएँ ।
मेरो कुरो सुन्नेबितिक्कै जानोले हात उठाएर भोजनको बेयरालाई बोलाइन् । त्यसदिन उपलब्ध हुने भोजनको मेनु हातमा लिएर हल्लिँदै हल्लिँदै डिमिट्रीले हाम्रो अगाडि उपस्थित जनायो । त्यति हँसिलो मुहारका डिमिट्री किभ, युक्रेनदेखि आएका पानीजहाजका कर्मचारी थिएँ । उनी हाम्रो भोजनको बेयरा र जानो पेय पदार्थको बेयराहरु थिएँ ।
मैले मेनु हेरिसकेपछि, डिमिट्रीलाई एउटा ‘बिफ वेलिङटन’ मगाए । त्यो गोरुको मासुको परिकारलाई बेलायती ‘ड्युक अफ वेलिङटन’ ले वाटरलुको युद्धमा नेपोलियनलाई हराएवापत त्यसको नाम बिफ वेलिङटन राखिएको थियो । त्यो परिकारको जस्तो नाम थियो, स्वादपनि त्यस्तै राम्रो भएकोले सर्लक्कै जिब्रोमा बिलाइ हाल्दथ्यो ।
अझै मुख्यकुरो त हामी भोलि बिहानको छ बजे राजनेता नेपोलियनको जन्मभूमी आजासियो, कोर्शिकामा उत्रँदै थियौं । त्यसैले फ्रान्सको पूर्व राजनेता नेपोलियन बोनापार्टलाई सम्झँदै सम्झँदै मैले त्यो परिकार खाने रुचि राखेको थिएँ । अनि ताराले त खै के के मगाइन, कुन्नि ? मैले उनीप्रति त्यति धेरै जान्ने उत्सुकता पनि देखाइनँ ।
साठीको दशकमा बिफ वेलिङटन ज्यादै प्रचलित भएको थियो । अझै त्यसको लोकप्रियता बेलायतमा भन्दा उत्तर अमेरिकामा बढि परेको थियो । मलाई त्यो फ्रेन्च गोरुको मासुसँग सायद क्याबरनेट सेभिङनन नै अति उत्तम हुन्छ होला जस्तो लाग्यो । त्यसैले, लामो समयदेखि मैले के माग्ने होला भनेर मेरो प्रतिक्षा गरेर बसिरहेकी कोहिमाकी बैनीलाई एकबोतल फ्रेन्च वाइन, क्याबरनेट सेभिङनन ल्याइ दिनुहोस है भनेर मगाएँ ।
मैले वाइन मगाएपछि, टकटक हिल पडकाउँदै जानो हामीसँग बिदा भइन् । डिमिट्रीलाई कोर्शिकाको बाख्राको पनिर पनि ल्याइदिनु है भनेर अनुरोध गरें । त्यो पनि कोर्शिकाको प्रख्यात र अति स्वादिष्ट हुन्छ भन्ने पहिले नै सुनेका थिएँ । त्यति स्वादिष्ट हुनुको मुख्यकारण चाहिँ सामुन्द्रिक हावापानी नै हुन रे । किनभने कोर्शिका नजिकको सामुन्द्रिक पानीमा नुनको मात्रा अलिक बढी नै हुन्छन् र नुन पानीसँग सँगै उडेर वनस्पतिका पात पातमा अडिन्छन् । र, तिनै वनस्पतिका पातहरु खाएका बाख्राका दूधबाट बनेका पनिर असाध्यै स्वादिलो हुन्छन् भन्थे ।
लगभग दुईघण्टा समय लगाएर हड्डीबिनाको गोरुको मासु र वाइनले टन्न पेट भरेपश्चात् हामी ‘ओसन थिएटर’ हलमा पुगेका थियौं ।
हामी त्यहाँ पुग्दा बेलुकीको समय ९ बज्नै लागेको थियो । जब घडीले ९ बजायो । मेघ गर्जेझै बजेको सङ्गीतको तालमा पाँचजना जोसिला अंग्रेज युवतीहरुले सेता सेता तिघ्रा देखाउँदै ‘जय हो, जय हो’ भन्ने गीतमा नाट्यमन्च हल्लाउन थाले । एकछिनमा अन्य पाँचजना युवकहरु पनि उनीहरुसँग सँगै नाँच्नको लागि मञ्चमा देखा परिहालें ।
त्यति कामुक युवतीहरुको कलकलाउँदो उमेर र बत्तीको प्रकाशले मलाई पनि उनीहरु सँग नाचौं नाचौं जस्तो रहर लागिरहेको थियो । तर, जो कोहीको नशिवमा कहाँ त्यस्तो लेखेको हुन्थ्यो र ? तै पनि केही टाढा दुरीबाट उनीहरु प्रति म किन किन आकर्षित भइरहेको थिएँ । हामीले नाट्यशालामा नाच, सर्कस र जादुसँग सँगै एक घण्टाको समय एक झिमिकमा नै बिताएको जस्तो बोध भयो ।
नाचको कार्यक्रम सकिएपछि हामी नाट्यशालाबाट बाहिर निस्क्यौं । र, मिराजबारमा ककटेल पिउनको लागि जाने भनेर सल्लाह गरयौं । तर, जहाजभित्र भित्र हिँड्दै जाँदा अन्य समयमा भन्दा अलिक बढी नै जहाज हल्लिरहेको हुनाले तारा कोठामा सुत्न जान्छु है, भन्दै आफ्नो कोठातिर लागिन् । त्यसपछि, म एक्लै लिफ्ट पक्रेर दशौं तलातर्फ उक्लिएँ ।
मिराजबारमा पुगेर एउटा, ‘सेक्स अन द बिच’ मगाएको मात्रै थिएँ । केहीबेर अगाडि नाट्यशालामा देखिएका नृत्यङगानाहरु पनि मेरो पछिपछि त्यहाँ आइपुगेका देखिएँ । उनीहरुको अनुहार त्यहाँ देखिएपछि मैले मनमनै ‘आम्मैनी हौ,’ छोकडीहरु पनि यहाँ आइपुगे छन् भने ।
त्यहाँ आइपुग्ने बितिक्कै उनीहरु बारको बिचौबिच भागमा नाच्न सुरु गरिहालें । कुनै कुनै नृत्यङ्गानाहरुले भट्टीपसलमा पेय पदार्थसँग रुझिरहेका यात्रुहरुलाई नचाएर मनोरन्जन दिन थालें । अ…म चाहिँ बरु एक्लै थिएँ । त्यसैले हातमा एउटा ककटेल समातेर बारको सिधै अगाडि उभिएर उनीहरुको रमाइलो नाच हेरिरहें ।

केही समयपछि, ‘मेरो नाम सामन्था हो,’ भन्दै एउटी पातली नृत्यङ्गाना मेरो नजिक आइपुगिन् । उनको नाम सुनेपछि, हतार हतार मेरो नाम पनि उनलाई बताइदिइहालें । त्यसपछि, एसेक्स, इङ्ल्याण्ड बाट आएकी त्यति कामुक सुन्दरीले मेरो दाहिने हात समातेर उनीसँग नाच्न जानको लागि मरिहत्ते गर्न थालिन् । केहीबेर अगाडि नाट्यशालामा यिनीहरुसँग नाच्न पाउँदा कति भाग्यमानी भइन्छ होला भनेर सोचिरहेको थिएँ । तर, जब मलाई अवसर मिल्यो । त्यतिबेला कहीँ नभएको लाज लागेर आउन थाल्यो ।
वर्षायामको आकाशमा बादल गर्जेझै गरेर मिराजबारको सिलिङमा ८० र ९० दशकका गीतहरु गर्जिरहेका थिएँ । भूमध्यसागरमा आएर पनि जाबो के लजाइरहने है भनेर ढुकढुक गरिरहेको मेरो मुटुलाई एकचोटी छामे, अनि बेस्सरी आँट कसेर तिनै युवतीसँग नाँच्न तम्सें ।
तर, सबैभन्दा पहिले एक सिरिप ककटेल पिएँ, र गिलासलाई त्यहीँ राखिछाडें । त्यसै त ‘एसेक्स’ भन्ने बितिक्कै कामोतेजक महिलाहरुको राजधानी भनेर बेलायतमा दुर्नाम कमाएको स्थान थियो । अब त्यति कामोतेजक युवतीले मरिगए मेरो हात छाडनेवाला छैन भनेर मैले भित्रभित्रै चाल पाइसकेको थिएँ । त्यसैले, अवसरको फाइदा उठाउँदै उनको हात कस्सेर समाए र नाँच्नको लागि फुर्तिको रुसाथ नृत्यस्थलमा पुगिहालें ।
जब हामी नृत्यस्थलमा पुग्यौं । उनको एउटा हातले मेरा कम्मरलाई च्याप्प समातिन् । र, अर्को हातचाहिँ मेरो काँधमा आराम गराइहालिन् । त्यसपछि, बेस्सरी हल्लिँदै हल्लिँदै उनी नाच्न सुरु गरिन् । उनीहरुको मुख्य ब्यवसाय नै यात्रुहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाउनु थियो । म पनि के कम हुने भन्दै, ठेक्कै उनको नक्कल गर्न सुरु गरिहालें ।
तर, त्यति रापिलो शरीरको तापले मलाई एकैछिनमा खलखली पसिना छुट्न थालिहाल्यो । अझै मेरो शरीर उनको अर्धनग्न शरीरसँग निक्कै लामो समयसम्म टाँसिरहँदा मलाई हल्का अफ्ठ्यारो महसुस हुन थाल्यो । त्यहीबेला निर्दोष ताराको यादले मेरो बायाँ छातीमा कताकता च्वास्स पोलेको अनुभूति भयो । किनभने म आफ्नो जीवन सङ्गीनीसँग २० औं वैवाहिक वार्सिकोत्सव मनाउन पानीजहाजमा पुगेका थिएँ ।
त्यसरी अचानक बाटोमा भेटिएकी अप्सरा ‘एसेक्स गर्ल’ सँग किन यो दुश्कर्म गरिरहेको छु, भन्ने सम्झेर थोरै आत्मग्लानी भयो । ‘साम, मलाई नाँच्ने अवसर प्रदान गरेकोमा धेरैधेरै धन्यवाद छ,’ भन्दै बिस्तारै उनको हातहरु मेरो शरीरबाट पन्छाइदिएँ । र, उनको बहुँपासदेखि मुक्त हुँदै नृत्यस्थलबाट सरासर बाहिर निस्कें । अनि केही नबोली कोठामा गएर मज्जाले आराम गरें ।

भोलि बिहान उठ्ने बितिक्कै तारा श्रृँगारपट्टारमा ब्यस्त रहिन् । म एक्लै १० औं तलामा रहेको खाजा खाने रेस्टुँरामा पुगिसकेको थिएँ । म त्यहाँ पुग्दा यात्रुहरुको उपस्थित एकदम पातलो थियो । तर, बेयरा र भान्सेहरुको भीड चाहिँ निक्कै बाक्लो देखिएका थियो । म सुस्तरी हिँड्दै एकजना गोरी तथा अग्ली चिनियाँ भान्सेको नजिकै पुगें । उनको नजिकै पुगेपछि, मलाई चिनियाँ झै मानेर उनले ‘नि हाउ’ भनिन् । मैले प्रति उत्तरमा ‘नि हाउ, व श निपुअर रन’ अथवा, ‘हेल्लो ! म त नेपाली हुँ,’ भनेपछि उनी झसङ्ग भइन् । त्यसपछि, एक अर्कामा हाम्रो छोटो परिचय भयो । उनको नाम लिना वङ र सिचुँवान प्रान्तदेखि आएकी रहेछिन्, भन्ने मैले त्यतिखेर चाल पाएँ ।
मेरो लागि एउटा अम्लेट पकाइ दिनको लागि तिनै भान्सेलाइ हल्का अनुरोध गरें । ‘भइ हाल्छनि, बरु तपाईलाई के के मनपर्छ कुन्नि ?’ भन्दै एकहातले डाँडु र अर्कोहातमा सानो प्लेट उचालेर मलाई खुशी हुँदै सोधिन् । मैले हातले घोचेर टेबलमा सजाइएका च्याउ, हाम, जैतुन, हरियो खुर्सानी, प्याज र गोलभेडा सबैथोक मिसाएर बनाइ दिनुहोला भनें । मैले भनेको सबैचिज मिसाएर, उनले एकैछिनमा एउटा अम्लेट तयार गरिदिइन् । यदि तपाईलाई ज्यादै पिरो मनपर्छ भने, सिचुँवान सस पनि थपि दिन्छु है भन्दा मैले थोरै डरमान्दै भैगो भनें । किनभने, सिचुवान प्रान्तमा पुगेर त्यसको नराम्रो अनुभव मैले पहिले नै गरिसकेको थिएँ ।
निख्खर सेतोटोपी पहिरन गरेकी तिनै ‘ब्युटी क्विन’ चिनियाँ भान्सेले पकाएकी एउटा अम्लेट लिएर म सरासर जहाजको बार्दलीमा निस्कें । अनि दशौं तलाको तिनै बार्दलीदेखी आजासियो, कोर्शिका नियाल्दै खाजा खान थालें । साच्चै ! त्यहाँदेखि देखिएको कोर्शिकाको बिहानीको दृश्य अति रमणीय थियो । केहीबेरमा जमैकाकी एकजना काली बेयराले ‘चिया कि कफी ?’ भन्दै मेरो सामु खडा भइन् । मैले उनको अनुहारलाई एकझलक नियालिहेरें । अनि तिनै अनुहारको प्रतिबिम्व सम्झनको लागि, ‘कृपया कालो कफी दिनुहोला ?’ भनी टोपलें ।
श्यामल वर्णकी कागखुट्टि कालीले एककप कालो कफी टेबलमा थपक्कै राखेर म देखि बिलय भइहालिन् । अब अरु कोही नभएपछि मैले प्रयोग गरेको काँटा र छुरीको आवाज बाहेक टेबलमा एकछिन स्तब्धताले छाइरह्यो । केहीबेरमा ठुल्ठुला किस्तीमा केक बोकेर ‘तागालोक’ भाषामा गीत गाउँदै गाउँदै दुईजना फिलिपिनो युवतीहरुले मेरो नजिकै उपस्थिति जनाएँ । उनीहरुले बोकी हिँडेका केकलाई देख्ने बितिक्कै एकाबिहानै शरीरमा के चिनीको मात्रा थप्ने होला भनेर म हतार हतार बिपरीत दिशातिर फर्किहालें ।
‘महाशय ! एउटा केक चाख्नुहोस् है ?’ भन्दै मेरो दायाँ कानको जालि फुटनेगरी एउटी युवतीले कराइ हालिन् । एउटा ‘वेल्स केक’ थमाउनको लागि उनले मरिहत्ते गरेकी देखेर एकछिन धर्मसंकटमा परिरहें । तैपनि त्यति राम्री युवतीको अनुरोधलाई त्यति बिहानै किन अस्वीकार गर्ने होला भनेर, ‘हवस,’ सम्म भनिदिएँ ।

युवतीहरु मेरो टेबलदेखि विलय भएपछि, म एक्ले ढेँडुझै भएँ । धेरैजसो बेलायती यात्रुहरु सातौं तलाका मिराज भोजनालयमा बिहानीको खाजा खान गएका थिएँ । त्यसैले दशौंतलामा त्यति धेरै भिडभाड देखिएका थिएनन् । तैपनि तारा कतै आइपुगिहाल्छिन् कि भन्ठानेर बेलाबेलामा यताउता हेरिरहें । तर, त्यसबेला सम्म उनको छायाँको अत्तोपत्तो देखिएको थिएन ।
मैले कफी पिउने क्रममा टाउकोलाई यसो बायाँतर्फ घुमाएर कोर्शिका टापुलाई धेरै टाढासम्म एकाध हेरिरहें । त्यतिबेला ‘एल्बा’ दिपको क्षितिजदेखि तिरिरी घाम झुल्कन लागेका रमाइलो दृश्य देखा परिरहेको थियो । तिनै एल्बा दिपमा ‘मलाई असल आमा देउ, म तिमीलाई महान राष्ट्र दिन्छु,’ भन्ने विचारका धनि नेपोलियन बोनापार्टलाई सन् १८१४ को ‘फोनटानब्लो’ सन्धिले फ्रान्सका सम्राटदेखि पदच्युत गरेर देशनिकालाका सजाय पाउँदा एल्बा दिप पुरयाइएका नरमाइलो क्षण त्यतिबेला सम्झिरहें ।
उनलाई बेलायती पानीजहाजका कप्तान थोमस उस्सरले ‘एचएमएस अन्डाउनटेड’ राखेर एल्बा दिप लगेका थिएँ । त्यहाँ पुरयाइएपछि, ‘भिल्ला अफ द मिल्स’ भन्ने घरमा राखिएका थिएँ । उनी एल्बा दिपमा छँदा उनको प्रथम श्रीमतीको निधन भएको थियो भने, दोश्रो श्रीमती र छोरा अष्ट्रियामा शरणार्थी जीवन बिताउन थालेका थिए । तिनै दुःखलाग्दो खबरहरुले छियाँ छियाँ बनाएको हृदय लिएर १० महिनापछि एल्बादिपबाट उनी भाग्न सफल भएका थिएँ ।
एल्बा दिपको क्षितिजदेखि उदय भएको त्यति कलिलो सूर्यको प्रकाशले सामुन्द्रिक पानीका तरङ्हरुलाई थोरै थोरै जिस्क्याइरहेको जस्तो मलाई त्यतिबेला अनुभूति भइरह्यो । अझै सबैभन्दा रमाइलो त तिनै निलापानीका छातिमाथि मलेवा र जलहाँसहरुले माछाको खोजी गर्दा खेलेको खेललाई देख्न सकिन्थ्यो । तर, समय समयमा तिनीहरुले समातेका माछाका दृश्य देख्दा प्रकृतिको नियमपनि मान्नैपर्ने जस्तो लागिरह्यो ।
समुन्द्रको पानीदेखि मेरो नजरलाई बिस्तारै घुमाएर सामुन्द्रिक किनारमा पुरयाएको थिएँ । त्यो सामुन्द्रिक किनारै किनार आँखाले देखिन्जेलसम्म एउटा लमतन्न गोरेटो देखापरयो । तिनै लामो गोरेटोमा स्वाभीमानी कोर्शिकन मानिसहरु हाँसीखुशी दौडिरहेका देखिएका थिएँ । काठमाण्डौ, पोखरा र धरानमा हरेक बिहान उठ्नेबितिक्कै पैसाको मात्रै कुरो गरिरहने असन्तुष्टि नेपालीहरुसँग तुलना गर्दा कोर्शिकाका मानिसहरु कति सुखि होला भन्ने मेरो मनमा निक्कै लामो समयसम्म लागिरह्यो ।
त्यसदिन, म बिहान उठेर दशौ तलामा अवस्थित त्यो रेष्टुँरा पुग्न अगावै, हाम्रो पानीजहाज आजासियो बन्दरगाहमा रोकिसकेको भएतापनि हाम्रो बायाँपट्टि एउटा जर्मन पानीजहाज ‘आइदा क्रुज’ भर्खर भर्खरै रोकिदै थिएँ । यसरी फ्रान्सको दक्षिणी सहर निसको अझै दक्षिणी भागमा रहेको ‘कोर्शिका टापु’ छुट्टी मनाउन आउने पर्यटकहरुको लागि ज्यादै प्रख्यात ठाउँ थियो । त्यसैले हरेक नयाँ बिहानीको उदयसँग सँगै त्यहाँ पर्यटकहरु उदाउने गरेका थिएँ । त्यति आकर्षक प्राकृतिक भूवनोट र सामुन्द्रिक तटले कोर्शिका टापुलाई भूमध्य सागरको ‘आइल्याण्ड अफ ब्युटि’ भन्ने उपाधि मिलिसकेको थियो ।

एकछिनपछि स्याउ, सुन्तला, आँप र गोलभेडाको रसहरु डुलाइ हिँडेकी एकजना युवती मेरो सामु आइपुगिन् । उनलाई देख्ने बितिक्कै, मलाई एक गिलास सुन्तलाको रस पिउने रहर अचानक भइहाल्यो । मैले सुन्तलाको रस मागेसँग सँगै बाली, इन्डोनेशियादेखि आएकी तिनै बेयरासँग मेरो सामन्य परिचय भयो ।
तर, मलाई बेयराले दिएकी सुन्तलाको रसभन्दा पनि उनको शारीरिक रसमा झन कता कता मिठास देखिरहेको थिएँ अनि त्यति मिठो उनको शारिरिक रससँग झुम्ने भाग्यमानी पुरुष को हुन्छ होला भनेर म केहीबेर चिन्तित बनिरहेको थिएँ । तर, हिजो रातिको मिराजबारको घटना सम्झेंर म जस्तो जोइटिङ्ग्रे मर्दले लिएको जाबो त्यो मेरो चिन्ता ब्यार्थको जस्तो लाग्यो । ठीक त्यहीबेला दुवै हातले टन्न खाजा राखेको किस्ति बोकेर पूर्णिमाको चन्द्रमाझै तारा मेरो अगाडि टुप्लुक्क झुल्किइन् ।
तारालाई देख्नेबितिक्कै, तिनै बालिकी बैनीले कुर्सी तानेर उनलाई बस्ने स्थान बनाइदिइन् । ताराले धन्यवाद भनिन र थपक्कै कुर्सिमा बसिन् । त्यसपछि अति सुन्दर शरीरकी धनी बालिकी बेयराले हामीदेखि बाटो तताइ हालिन् ।
‘बैनीसँगको गफमा मैले कतै बाधा त गरिन् ?’ ताराले सुँगुर घोच्ने फलामे सुइरोलेझै तिखो प्रश्न गरेर मेरा बायाँ छातीमा प्रहार गरिन् ।
निश्चय नै, ‘प्रश्न उठनु पनि सत्यको नजिक पुग्नु हो,’ जस्तो मलाई त्यतिबेला बोध भयो । उनी खाजा लिएर भर्खरै मेरो सामु आइपुगेकी थिइन् । त्यसैले, के कुकुरभेट खाइभेट गर्ने भनेर केही बोल्ने जमर्को गरिन् । बरु चुपचाप कपीm पिउँदै सामुन्द्रिक ज्वारभाँटा हेर्दै बसिरहें । तैपनि आफूभन्दा राम्री देखेपछि पुरुषको बश नियन्त्रण गर्न उटफट्याङ कुरोगर्न हरेक स्त्रीको चरित्रभित्र पर्दछ कि, भन्ने मेरो मनमा त्यतिबेला लागिरहेको थियो ।
ताराले केहीबेरमा खाजा खाइसकिन् । त्यसपछि, हामी पानीजहाजदेखि बाहिर निस्क्यौं । जहाजको मुख्य ढोका ‘ग्याङ्ग वे’ देखि बाहिर एउटा खेलौना रेलले यात्रुहरुको प्रतिक्षा गरिरहेको थियो । जब रेलमा यात्रुहरु पूर्णरुपले भरियो । त्यसपछि, हामी सिधै नेपोलियन बोनापार्टको जन्मघर (सङ्ग्राहलय) तर्फ लाग्यौं । नभन्दै हामीलाई उनको जन्मघर पुग्न त्यति धेरैसमय खर्च गर्नपरेन ।
कार्लो बोनापार्ट र लेटजिय रामोलिना बोनापार्टकी चौथो सन्तानको रुपमा नेपोलियन बोनापार्ट १५ अगष्ट १७६९ मा तिनै घरमा जन्मेका थिएँ । कार्लो बोनापार्टले मृत्युबरण भएको आफ्नो जेठो छोरो नेपोलियनको यादमा उनको नाम पनि नेपोलियन नै राखिदिएका थिएँ ।
जोशेफ र नेपोलियन मात्र तत्कालीन समयमा जीवित भएको हुनाले कसैकसैले सम्राट नेपोलियनलाई दोश्रो सन्तानको रुपमा मान्ने गरेका थिएँ । उनी जन्मेको घरभित्र पसेर नक्कल गरेर बनाइएका उनका बिस्तारा र टेबल कुर्सीहरुलाई केहीबेर नजर लगाइ सकेपछि पुनः हामी घरदेखि बाहिर निस्कियौं ।
त्यहाँबाट निस्केपछि, सुस्तरी हिँड्दै ‘डाइमण्ड स्क्वायर’ मा पुगेका थियौं । तिनै ठाँउमा लिटल कर्पोरल उपाधि पाएका नेपोलियनका चार जना दाजुभाइहरुको शालिक रहेका थिएँ । डाइमण्ड स्क्वायरदेखि केहीबेर हिँडेर हामी उकालि चढ्यौ । र, माथि डाँडामा पुगेका थियौं । जहाँ डाडै ढाक्ने गरेर नेपोलियन बोनापार्टका बिशाल शालिक निर्माण गरिएका थिएँ । अनि उनको शालिकको मुनि भित्तामा उनले वीरता र कौशलता प्रदर्शन गरेका महान युद्धहरुको नाम लेखिएर राखिएका थिएँ ।

शालिकको मुनिरहेका अक्षरहरु पढिरहँदा, मरिया नाम बताउने एकजना कोर्शिकाकी महिलासँग मेरो अचानक भेट भयो । उनैले, ‘इतिहास विजय गर्नेहरु दवारा मात्र लेखिन्छ,’ भन्ने विचारका महाधनी एवं युद्धकौशल नेपोलियनले जम्मा ७० वटा युद्धहरु लडेका थिएँ । तर, दुर्भाग्यबस ती युद्धहरुमध्ये आठवटा युद्धमा उनले सार्है नराम्रोसँग पराजय भोग्नपरेको थियो । सम्भवतः मानवजीवनको इतिहासमा अलेक्जान्डर महान र गेङ्गिस खानपछिको सबैभन्दा बहादुर योद्धा तिनै ‘लिटिल कर्पोरल’ थिएँ होला ? भन्दै मरिया हामीसँग बिदा भइन् ।
हामी त्यहाँबाट थोरै हिँडेर अलिक मुनि सामुन्द्रिक तटतर्फ झरयौं । कोर्शिकामा भएको बाटोघाटो, खोलानाला, पार्टीपौवा, विद्यालय र महाविद्यालयहरु सबैको नाम नेपोलियनसँग जोडिएका थिएँ । जसले गर्दा घरिघरी हामीलाई कोर्शिकाको नक्सा पढ्न पनि अफ्ठ्यारो भइरहेको थियो ।
‘असम्भव भन्ने शब्द केवल मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ ।’ भन्ने नेपोलियनको जिन्दगीमा सबैभन्दा ठूलो क्षति रुसमाथिको आक्रमणमा भएको थियो । सैनिक रणनीतिकार नेपोलियनले सन् १८१२ मा ६ लाख सिपाहीहरु लिएर रुसको राजधानि मस्कोलाई आक्रमण गरेका थिएँ ।
रुस युद्धमा पराजय खेपेर फर्कदै पोल्याण्डको गाडन्स्क आइपुग्दा उनीसँग जम्मा ४० हजार सैनिक मात्रै बाँचेका थिएँ । तिनै बाँच्ने भाग्यमानी सैनिक मध्ये नेपोलियनको चिकित्सक डाक्टर जिन जर्ज हाफनर पनि थिएँ । केही वर्र्ष अगाडि म गाडन्स्क, पोल्याण्ड पुग्दा डाक्टर हाफनरले सपोर्टमा खोलेको ‘स्पा’ पनि पुगेको थिए । डाक्टर हाफनरले रुस युद्धदेखि फर्कदा नेपोलियनको साथ छाडेर पोलिस केटी रेगिना क्यारोलिनासँग विवाह गठबन्धनमा बाँधिएर शेष जीवन त्यतै बिताएका थिएँ ।
एल्बा दिपबाट भागेर आएपछि नेपोलियनले फ्रान्समा दोश्रो पटक शासन गर्न थालेका थिएँ । तर, डब्लिन, आयरल्याण्डमा जन्मेका आर्थर वेल्सली (ड्युक अफ वेलिङ्टन) ले नेतृत्व गरेको ‘वाटरलु युद्ध’ मा स्तन्त्रता, समानता र बन्धुत्वको नारा दिएर हिँडेका नेपोलियनलाई पराजय गरेपछि पक्राउ गरें । उनलाई पक्रेपछि निर्वासन जीवन यापनको लागि सन् १८१५ मा सेन्ट हेलेना दीपमा लगेर राखियो ।
‘जबसम्म तिम्रो पखेटा फिजाउँदैनौ, तिमीलाई थाहा हुँदैन, कि तिमी कति टाढा उड्न सक्छौ ।’ भन्ने विचार लिएका नेपोलियनले ६ वर्षसम्म सेन्ट हेलेना दीपमा एकल जिन्दगी बिताएका थिएँ ।
अन्ततः जिरोदेखि नायक र नायकदेखि जिरोमा झरेका युरोपको महान योध्दा नेपोलियन बोनापार्टले ५ मे १८२१ मा अन्तिमचोटी सास फेरेका थिएँ ।
तर, आन्द्राका क्यान्सरदेखि पीडित, ‘लिटिल कर्पोरल’ को मृत्यु अहिलेसम्म विवादस्पद नै रहेका छन् ।

प्रकाशित मिति: कार्तिक १४ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend