धरानः रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आन्दोलन सुरू गरेको दुई घण्टाभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूले वार्ता गरी मौखिक रूपमा मागको सम्बोधन गरेको छ ।
प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु सुरक्षाको माग गर्दै मंगलबार बिहान आन्दोलित भएका थिए । रेडियोलोजी विभागको सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलित समुहसँग प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारले चरणवद्ध छलफल गरेका थिए ।
आन्दोलित समुहको मागहरूको बारेमा तुरून्त सम्बोधन हुने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले बताए । ‘उनीहरूलाई नियमितरूपमा नै स्वास्थ सामाग्री प्रदान गरीरहेको र वितरणमा केही कमी कमजोरी भएमा त्यसको निराकरण गर्ने भनेका छौं,’ उनले भने, ‘सरकारको निर्णयअनुसार स्वास्थ संस्थामा कार्यरत मृतकको क्षतिपुर्तिका लागि पहल गर्नेछौं ।’ हालसम्म बीपीमा कार्यरत रेडियोग्राफर र जुनियर फोरम्यान दुवैको लागि क्षतिपुर्तीको माग गरिने भएको छ । प्रतिष्ठानका स्वास्थकर्मी र कर्मचारीहरूको लागी भनेर आइसियु बेड समेत छुट्याइएको रजिष्ट्रार रेग्मीले बताए ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले कर्मचारीको मृत्यु हुनु दुःखद घटना भएको बताए । निर्देशक साहले आन्दोलित कर्मचारी काममा फर्किएको समेत जानकारी गराए ।