नयाँ पाठ्यक्रममा अन्योल कायमै रहेका बेला सर्वोच्च अदालतले विद्यालय शिक्षाको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६’ कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पाठ्यक्रम विकास केन्द्र सानो ठिमीलाई विपक्षी बनाई राखिएको रिटको २६ गते थप छलपलका लागि पेशी तोकिएको छ । गत वर्ष नै तयार पारिएको कक्षा ११ को पाठयक्रम यो वर्षदेखि लागू गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको थियो ।
तर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालले पाठ्यक्रम व्यवहारिक नभएको भन्दै विरोध गर्दै आएका थिए । कोरोना महामारीको कारण देखाउँदै उनीहरुले पुरानै पाठ्यक्रम अनुसार पढाउन सुरु गरिसकेका थिए । हाल माध्यमिक तहका विद्यालयबीच नै तालमेल भएको छैन जसका कारण विद्यार्थीहरुलाई समस्या पर्ने देखिन्छ ।
संस्थागत विद्यालयको छाता संगठन प्याब्सनका अनुसार केही विद्यालयले नयाँ पाठ्यक्रमको पठनपाठन गराइरहेका छन् । तर, हिसान (उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल० अन्र्तगतका विद्यालयहरुलाई पुरानै पाठ्यक्रमबाट अध्यापन गराइरहेका छन् ।
‘सरकारले निर्देशन दिइसकेपछि हामीले नाइँ भन्न पाउँदैनौं, त्यसैले मन्त्रालयको निर्देशन बमोजिम नै नयाँ पाठ्क्रम अनुसार पठन पाठन भइरहेको छ,’ प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताए ।
विद्यार्थीले पाठ्यक्रम अनुसार नै किताब किनिसकेका छन् । अब फेरि अदालतको आदेशपछि के गर्ने भन्ने अन्योल छाएको छ । ‘अब नयाँ किताब किनेर पढ्न लागिसकेका विद्यार्थीले के गर्ने?’ उनी भन्छन् ‘यो आदेशले थप अन्योल सिर्जना भयो ।’
तर हिसान भने सर्वोच्चको आदेशले खुसी छ । विद्यालयले नयाँ पाठ्यक्रम लागू नगर्ने भनेर अडान लिएको बेलामा यस्तो आदेश आउनु सुखको कुरा रहेको बताउँछन्, हिसानका अध्यक्ष रामहरि सिलवाल । ‘हामीले पहिलेदेखि नै नयाँ पाठ्यक्रम ल्याउनु हुँदैन भन्दै आएका थियौं। यो पाठ्यक्रम न व्यवहारिक छ, न त यसमा तोकेको विषयहरू एउटै विद्यालयले पढाउनसक्छ,’ उनले भने ।
२० वर्ष पछि सरकारले कक्षा ११ का लागि नयाँ पाठ्यक्रम ल्याएको छ। तर कुनै तयारी नै नगरी एक्कासी लागू गर्न निर्देशन दिएकाले विद्यालयलाई समस्या पर्ने सुलवाल बताउँछन् ।
‘न शिक्षकलाई तालिम दिएको छ, न त समय नै। त्यसमाथि कोरोनाको महामारी। विद्यार्थीहरुलाई संलग्न गराउने हिसाबले मात्र हामीले अध्यापन गराइरहेका छौं,’ उनले भने ।
गणित विषयलाई अन्याय भएको भन्दै हालेको रिटले हिसान अन्र्तगतका विद्यालयलाई राहत मिलेको छ । विद्यालय तहमा संकाय हटाउनका लागि नयाँ पाठ्यक्रममा विद्यार्थीहरुलाई आफुले चाहेको विषय रोज्न पाउने गरी बनाइएको हो ।
यसमा विज्ञानका विषय पढ्ने विद्यार्थीहरुलाई गणित अनिवार्य गरिएको छैन । यसैकारण गणितप्रेमीहरुले विषयलाई अन्याय भएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।
तर, विद्यालयहरुको निर्णय र सरकारको हठका कारण विद्यार्थीहरुको पढाई अन्योलमा परेको छ । कति विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अन्र्तगत अध्ययन गरिरहेका छन् भने कतिले पुरानै शैलीमा । शिक्षा मन्त्रालय र निजी विद्यालयका सन्चालकहरुको आपसमा कुरा नमिल्दा विद्यार्थी अल्मलिएको बताउँछन् शिक्षाविद् विद्यानाथ कोइराला ।
‘जबसम्म सरकार र विद्यालय चलाउनेहरुको कुरा मिल्दैन विद्यार्थी सधैं यसरी नै झुलिन्छन् ।’ नयाँ पाठ्यक्रम आउनु भनेको समय सापेक्ष पढ्ने पढाउने तरिका बदल्दै लैजानु हो । ‘यसमा आत्तिनुपर्ने त केही पनि छैन। समय सापेक्ष आफूलाई अपडेट गर्दै लैजाने हो’ उनले भने ।
उनका अनुसार अहिलेको नयाँ पाठ्यक्रम एक ‘पथीय’ प्रणालीमा चल्न खोजेको छ। यो कुनै नयाँ प्रणाली भने होइन। पञ्चायत कालमा नै यो प्रणालीको अभ्यास भइसकेको छ। बीचमा गएर बहुपथीय प्रणलीमा गएको हो । बहुपथीय प्रणाली जसमा संकाय अन्र्तगत पढाई हुन्छ यसले विद्यार्थीहरुलाई आफूले चाहेको विषय पढ्नबाट वन्चित गराएको छ ।
एक पथीयबाट बहुप्रणालीमा जानु सरकारको नीति नभएको उनी बताउँछन् । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदका प्रमुख तीर्थ खनियाँले निजी विद्यालयलाई ‘जे विषय पढाउन मन छ त्यही पढाऊ’ छाडा छोडिदिएकाले यस्तो समस्या आएको बताउँछन् । ‘यो सरकारको राम्रो प्रयास हो। तर, पर्याप्त अभ्यास भएन। अनि अन्योल भयो’ उनले भने ।
समाधान के हो?
शिक्षाविद कोइराला विद्यालर्थीलाई नयाँ पाठ्यक्रम अनुसार नै पढाउनुपर्छ भन्नेमा जोड दिन्छन् ।
यसबाट विद्यार्थीले आफूले चाहेको र आफ्नो लगाव भएको विषय पढ्न पाउँछन् । त्यस्तै धेरै विषय पढाउन नसक्ने विद्यालयलाई पनि मान्यता दिनुपर्छ। ताकि विद्यार्थीले अर्को विद्यालयमा गएर मन लागेको विषय पढ्न सकून् ।
अरु देशमा पनि दुईभन्दा धेरै विद्यालयमा भर्ना भएर छुट्टाछुट्टै विषय पढ्न पाइन्छ । त्यस्तै विश्वविद्यालयले विद्यार्थी भर्ना गर्नुअघि नै प्रवेश परीक्षा लिएर, विद्यार्थीले इच्छाएको संकाय पढ्न कुन विषयमा कति अंक छ भनेर हेर्नुपर्छ ।
जस्तै विद्यालय तहमा मानवीकि विषय लिएर पढेको विद्यार्थीले कलेजमा विज्ञान संकाय पढ्न खोज्दा उसलाई कुन कुन विषयमा फेरि तयारी गर्नुपर्ने हुन्छ? कुन कुन विषयको थप ज्ञान चाहिन्छ भनेर त्यसको तयारी गर्न दिनुपर्छ ।
विद्यार्थीहरुको झुकाव, रहर र आर्थिक क्षमता हेरेर विश्वविद्यालयले पढाउने व्यवस्था मिलाउनुपर्छ र विद्यार्थीहरुलाई पनि सही रुपमा अभिमुखीकरण गर्नुपर्छ ।