धरानः कोरोनाको कम जोखिम रहेका क्षेत्रमा विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोनाको कम जोखिम रहेका क्षेत्रमा विद्यालय सञ्चालन गरिने बताए । उनले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गरेर विद्यालय सञ्चालन गरिने बताए । ‘सबै क्षेत्र लगभग खुलिसकेको छ, त्यसैले भीडभाड नगरी, मास्क, सेनिटाइजर सबैको प्रयोग, सामाजिक दूरी मेन्टेन गर्दै विद्यालय सञ्चालन गरिनेछ ।’
स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उनले बताए । मन्त्रालयका प्रवक्ता शर्माले स्थानीय तहले विद्यालय सञ्चालन गर्न पाउनेगरी एक सातामा विद्यालय सञ्चालनका लागि कार्यढाँचा जारी गर्ने जानकारी दिए ।
उनका अनुसार कार्यढाँचा जारी भएपछि विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाउनेछन् । ती तहहरूले जहाँ कोरोना जोखिम छैन । त्यहाँ विद्यालय सञ्चालन गर्न पाउनेछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) का केन्द्रीय अध्यक्ष टिकाराम पुरी भन्छन,‘लामो समयदेखि विद्यालय बन्द छन । अब यसरी बन्द गर्नुभएन । स्वास्थ्य मापदण्ड अपनाएर कम जोखिम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्छ ।’
कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन सकेको छैनन् । सरकारले वैकल्पिक प्रणालीबाट शिक्षणसिकाइ अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन ।