धरानः सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ ।
सरकारले बहालवाला निजामती कर्मचारीलाई लोकसेवा तयारी कक्षामा पढाउन बन्देज लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोकसेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षामा पढाउन पाउने छैनन् । मन्त्रालयले निजामती कर्मचारीले कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन निषेध गरेको हो ।
निजामती सेवाका कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
लोकसेवा तयारी कक्षा पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।
बहालवाला सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।
यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ । विभिन्न मन्त्रालय, विभाग, आयोग तथा अन्य निकायमा कार्यरत सरकारका सहसचिवस्तरका धेरै कर्मचारीले विभिन्न इन्स्टिच्युटमा पढाउने गरेका छन् ।
सबै मन्त्रालय र निकायलाई मातहतका कर्मचारीलाई बाहिर पढाउने कार्यका लागि कुनै किसिमको बिदा नदिन समेत निर्देशन दिइएको छ । साथै कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया थालिने चेतावनी मन्त्रालयले दिएको छ ।