लेखक डेनिअल गोलम्यानका अनुसार भावनात्मक बुद्धिमत्ताले व्यक्तिको सफलता र उसको व्यक्तित्व विकासमा ठूलो भूमिका निर्वाह गर्दछ । यो मनोवैज्ञानिक तत्वहरुको समिश्रण हो।जसले हाँसिल गरेको उपलब्धिको अस्सी प्रतिशत (८०५) अंश ओगट्छ ।
भावनात्मक बुद्धिमत्ताले आत्मसजगता, आत्म व्यवस्थापन र सामाजिक सजगता कायम गर्न मद्दत गर्छ । अनुसन्धानको प्रतिवेदनअनुसार व्यक्तिको आत्मसन्तुष्टि र सफलताको आधार नै उसको भावनात्मक बुद्धिमत्ता हो । त्यसैले हरेक व्यक्तिले भावनात्मक बुद्धिमत्ताको पहिचान, बुझाइ र व्यवस्थापन गर्न जान्नुपर्छ ।
लेखक डेनिअल गोलम्यानका अनुसार हरेक व्यक्तिमा दुईवटा मन हुन्छ । एउटा मन जसले सोच्छ । अर्को मन जसले महसुस गर्छ । यसबाट के स्पष्ट हुन्छ भने सोच्ने मनले शैक्षिक बुद्धिमत्ताको विकास गर्छ । जो तर्कसङ्गत र विवेकपूर्ण सोचाइको लागि जिम्मेवार हुन्छ भने महसुस गर्ने मनले संवेगात्मक बुद्धिमत्ताको विकास गर्छ । जो व्यक्तिको भावना अर्थात् अनुभूति र व्यवहार गर्ने प्रवृत्तिको लागि जिम्मेवार हुन्छ ।
भावनात्मक बुद्धिमत्ता व्यक्तिमा हुनु पर्ने त्यस्तो उच्चस्तरको गुण हो । जसले उसको जीवनमा आउन सक्ने कुनै पनि चुनौतीलाई अवसरको रुपमा ग्रहण उत्साहित गरिरहन्छ । आफ्नो र अरुको भावना बुझ्न सहयोग गर्दछ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने असल सम्बन्ध कायम राख्दै भावनात्मक एकतामा जोड दिन्छ । यो व्यक्ति जागृत रहेको अवस्थामा मात्र सम्भव हुन्छ भन्ने कुरामा लेखकले जोड दिएका छन् ।
लेखक डा. दलिप सिंहका अनुसार, कुनै एक व्यक्ति अर्को कुनै व्यक्तिसँग भावनात्मकरुपमा जोडिनु नै संवेगात्मक बुद्धिमत्ताको उपज हो । उनी थप्छन्–विद्यार्थीले संवेगात्मक बुद्धिमत्ता कक्षाकोठामा पढाइने पाठ्यक्रमभित्रबाट होइन बाहिरबाट सिक्छन् । जसले उसको जीवनमा असल मनोवृत्ति निर्माण गर्न र आत्मसन्तुष्टि प्राप्त गर्न धेरै महत्व राख्छ । त्यसैले यसलाई हरेक व्यक्तिले एक महत्वपूर्ण सीपको रुपमा स्वीकार गर्नुपर्छ ।
उनका अनुसार व्यक्ति, समाज र देशमा असल शासन कायम राख्न हरेक शिक्षक, विद्यालय, परामर्शदाताले भावनात्मक बुद्धिमत्ता अनिवार्य सिकाउनुपर्छ । यसले व्यक्तिको मनमा आउने विचारलाई उसको भावनाले कस्तो प्रभाव पार्छ ? गलत भावनालाई कसरी सुधार गर्न सकिन्छ ? अरुलाई कसरी प्रभावित पार्न सकिन्छ ? भन्ने बारेमा पूर्व ज्ञान दिन्छ ।
कुनैपनि क्षेत्रमा भावनात्मक बुद्धिमत्ताको महत्व दिन प्रति दिन बढ्दै गइरहेको छ । यसले व्यक्तिलाई अहंकारी होइन प्रेमी बनाउँछ । तर विडम्वना के छ भने हाम्रो घर, परिवार र समाजले आफ्ना सन्तानहरुलाई भावनात्मक भन्दा शैक्षिक बुद्धिमत्तालाई धेरै महत्व दिएको पाइन्छ ।
तर हिजोआज हामी अधिकांश अभिभावक, आफ्ना छोराछोरी हरुलाई तिमीले साथीलाई विद्यालयमा को कसलाई कस्तो सहयोग गर्यौ भनी कहिल्यै सोध्दैनौं, मात्र आज के पढ्यौ ? के गृहकार्य गर्नुछ ? भनी सोध्छौं । यसले संवेगात्मक बुद्धिमत्तालाई होइन शैक्षिक बुद्धिमत्ता विकासमा मात्र जोड दिन्छ । जसले उसलाई भविष्यमा उच्च पद दिलाउन त सक्ला । तर उच्च तहको स्वास्थ्य र सन्तुष्टि भने विल्कुलै दिन सक्दैन ।
विद्यार्थीले जीवनमा असल र सफल बन्न ऊ सँग दुवै अर्थात् शैक्षिक बुद्धिमत्ता र भावनात्मक बुद्धिमत्ता चाहिन्छ । यी दुई वीचको भेद र महत्व बुझ्नु नितान्त जरुरी छ । सामान्यतः शैक्षिक बुद्धिमत्ताले व्यक्तिको शैक्षिक प्रगति, अनुभव र बुद्धिलाई समेट्दछ । यसले असल कार्य सम्पादनमा जोड दिन्छ भने भावनात्मक बुद्धिमत्ताले असल विचार र असल आचरण निर्माणमा जोड दिन्छ ।
सामान्यतयाः शैक्षिक बुद्धिमत्ता एक निश्चित समयसम्म बढ्छ । त्यसपछि घट्न थाल्छ । तर भावनात्मक बुद्धिमत्ता भने व्यक्तिको उमेर बढ्दै जाँदा यो पनि बढ्दै जान्छ । त्यसैले विद्यार्थी लगायत हरेक व्यक्तिले जीवनमा हुने भावनात्मक बुद्धिमत्ताको महत्वलाई अनिवार्य बुझ्नु पर्छ र लागू पनि गर्नुपर्छ ।
भावनात्मक बुद्धिमत्ता नै किन ?
–आफ्नो र अरुको मनको तुफान अर्थात् भावना चिन्न, बुझ्न, जान्न र व्यवस्थापन गर्दै असल सम्बन्ध कायम राख्न ।
–नकारात्मक भावना जस्तै प्रलोभन, अहंकार, रीस, तनाव, डिप्रेसन, असफलतालाई घटाउन र हटाउन ।
–चुनौतीलाई चिन्न, बुझ्न र अवसरमा रुपान्तर गर्न ।
–असल व्यवहार प्रर्दशन गर्दै अरुलाई उत्साहित र उत्प्रेरित गर्ने गराउने कला सिक्न ।
–संवेगात्मक व्यवस्थापनको माध्यमबाट जीवनमा के राम्रो वा के नराम्रो थाहा पाउन ।
–भावना, अन्तरक्रिया, समन्वय, समायोजन, सञ्चारजस्ता महत्वपूर्ण विषयको सम्बन्धमा पूर्ण ज्ञान हासिल गर्न ।
–भावनात्मक बुद्धिमत्तालाई सीपको रुपमा विकास गर्न ।
–व्यक्तिगत, पेशागत र संस्थागत जीवन सहज बनाउन ।
–आइपर्न सक्ने असफलता र चुनौतीलाई सहर्ष स्वीकार गर्न र त्यसबाट सिक्न ।
–कम तर असल निर्णय र त्यसको सफल कार्यान्वयन गर्न ।
–सामाजिक भावना बुझ्न, सद्भाव, सम्मान र सहानुभूति प्रकट गर्न ।
–आफ्नो र अरुको भावनालाई असर गर्ने परिस्थिति जन्य तत्वहरु अग्रीम रुपमा पहिचान गर्न र व्यवस्थापन गर्न ।
–प्रभावकारी ढंगले नियन्त्रण र द्वन्द्व व्यवस्थापन गर्न ।
–केन्द्रित के मा भन्दा पनि किन र कसरी हुने, यस सम्बन्धमा आवश्यक ज्ञान प्राप्त गर्न ।
–आत्मविश्वास र परविश्वास शक्तिलाई बुझ्ने र बढाउने ।
–अरुको हित अनुकुल दृष्टिकोण निर्माण गर्ने ।
–लक्ष्यउन्मुख हुन र ध्यानाकर्षण बढाउन ।
भावनात्मक बुद्धिमत्ता यसरी बढाउन सकिन्छ ।
–असल मानव सम्वन्ध विकास र विस्तारमा जोड दिने ।
–समस्यासंग भाग्ने होइन जुध्ने बानीको विकास गर्ने ।
–अरुलाई आदर सत्कार र सम्मान गर्ने बानीको विकास गर्ने ।
–आत्म सजगता, आत्म व्यवस्थापन र सामाजिक सजगतामा बिशेष ध्यान दिने ।
–हानीरहित स्पष्ट पहिचान स्थापित गर्ने र मनमा नियमित सकारात्मक विचारको सिर्जना गर्ने ।