Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कलामार्फत् सुनसरीलगायत देशभर किशोरीका मुद्दा

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
कलामार्फत् सुनसरीलगायत देशभर किशोरीका मुद्दा

धरानः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेशनल नेपालले आफ्नो विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत किशोरकिशोरीहरुले तयार पारेको आर्टहरुको भर्चुअल प्रदर्शनी शुभारम्भ गरेको छ ।
प्रदर्शनीमा किशोरकिशोरीहरुले बनाएकामध्ये किशोरी र बालबालिकाको समस्या, उनीहरुको मुद्धा, धारणा, अनुभव र कथाहरुलाई चित्रण गरिएका १५० वटा आर्टहरु राखिएका छन् ।
यस प्रदर्शनीअघि प्लान इन्टरनेशनलले गत अक्टोवरमा अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा सुनसरी, बाँके, बर्दिया, मकवानपुर, जुम्ला, कालिकोट र सिन्धुलीका २५० जना किशोरकिशोरीहरुलाई कला सिर्जनासम्बन्धी सीप सिकाउन भर्चुअल माध्यमबाट आर्ट वर्कसप आयोजना गरेको थियो । त्यसका सहभागीहरुले आफ्नो समस्या र मुद्धाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न खालका कला सिर्जना गरेका थिए ।
प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, ‘हामीले यो वर्षको आर्ट इज पावर’ कार्यक्रमबाट किशोरी र किशोरका थुप्रै उत्कृष्ट आर्टहरु संकलन गरेका छौं, उनीहरुले तयार पारेका सिर्जनाहरु धेरै राम्रा छन्, जसमा किशोरीहरुले कुनै पनि प्रकारका हिंसाबाट मुक्त हुन पाउनुपर्ने चाहना राखेका छन्, हामीले उनीहरुको यो सिर्जनालाई सम्मान गर्नुपर्छ ।’
किशोरकिशोरीहरुका लागि १० वटा कार्यशालामार्फत् कला सिर्जनाका विभिन्न माध्यम चित्रकला, कमिक्स, कविता, गीत लगायतबारे सिकाइएको थियो । बाँकेकी सहभागी अञ्जना थापा मगरले भनिन्, ‘किशोरीहरुको मुद्दालाई चित्रण गर्दै कला सिर्जना गर्न पाउँदा निकै खुशी लागेको छ, त्यस्तै भर्चुअल प्रदर्शनीमा मेरो सिर्जना प्रस्तुत गर्न पाउँदा गौरव लागेको छ ।’
आर्ट इज पावर कार्यक्रमको यो दोस्रो संस्करण हो । कोभिड–१९ को महामारीका कारण यो पटक भर्चुअल माध्यमबाट गरिएको कार्यशाला र आर्ट प्रदर्शनीका लागि कालो १०१ नामक संस्थाले सहजीकरण गरेको थियो । किशोरकिशोरीले तयार पारेको कला सृजनामा आधारित भई व्यवसायिक कलाकारहरुले ११ वटा क्यानभास तयार पारेका छन् । नेपालमा किशोरीहरुले भोगिरहेका समस्याबारे सरकारी निकाय, स्थानीय जनप्रतिनिधि लगायतको ध्यानाकर्षण गराउन उनीहरुका लागि समेत ती क्यानभासलाई प्रदर्शनी गरिनेछ ।
प्लान इन्टरनेशनल नेपालको बारेमा
प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि क्रियाशील विकास र मानवीय सहायतासम्वन्धि एक संस्था हो । प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा पिछडिएका बालबालिका, उनीहरुका परिवार र समुदायका लागि जीवनयापन, संरक्षण र सहभागितामा उनीहरुको अधिकारको पहुंच दिालउन काम गर्दै आएको छ । स्थानीय साझेदार र सरोकारवालासंगको समन्वयमा संस्थाले अहिले नेपालका १२ वटा जिल्लामा काम गरिरहेको छ ।
गल्स गेट इक्वेल अभियानबारे
विश्वभरका युवा अभियन्ताहरुलाई सहभागी गराएर प्लान इन्टरनेशनलले गल्र्स गेट इक्वेल अभियान शुरु गरेको हो । यो अभियानले सबै खालको विविधितामा रहेका किशोरी र युवा महिलालाई उनीहरुको जीवनका लागि चाहिने समान शक्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो अभियान अहिले विश्वका ६२ वटा देशमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend