Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिकाका लागि ‘रमाइलो शनिबार’

हाम्रो कोशी आवाज
मंसिर २७ २०७७, शनिबार
बालबालिकाका लागि ‘रमाइलो शनिबार’

विष्णु स्कुलकी प्रतिभावान आशिका

धरानः धरानकी आशिका गौतम गीत गाउन र नाच्न खप्पिस छिन् । १२ वर्षकी उनी गीत गाउन र नाच्न खप्पिस रहेकी हुन् ।
धरान–९ स्थित विष्णु मेमोरियल माविको कक्षा–७ मा अध्ययरत् उनी गीत गाउन र नाच्न भनेपछि स्कुलमा आयोजना हुने प्रतियोगितादेखि अन्य प्रतियोगितामा समेत अघि सर्छिन् । स्कुलमा आयोजना भएका गायन र नृत्य प्रतियोगितामा भाग लिएर उनले धेरै पुरस्कार जितिसकेकी छिन् ।
विशाल गौतम, लक्ष्मी गौतमकी छोरी उनी ९ वर्षको उमेरदेखि गाउन र नाच्न थालेको बताउँछिन् । चाइल्ड आइकनलगायत अन्य प्रतियोगितामा भाग लिएर उनी प्रथम, दोस्रो बनिसकेकी छिन् । भविष्यमा सफल गायक, कलाकार र एयरहोस्टेज बन्ने उनको लक्ष्य छ । लकडाउन होस् वा अन्य समयमा फुर्सदिलो समयमा उनले टिकटकलगायतका सामाजिक सञ्जालमा पनि गीत गाएको, नाचेको भिडियो हालेकी छिन् । त्यसमा धेरैले मन समेत पराइदिएको उनले बताइन् ।

तिमी राम्रो बन

आश्मा अर्याल

कसले केके भन्छन् यहाँ
सबको आफ्नै मन
एउटा कुरा भन्छु म त
तिमी राम्रो बन ।

बोली फरक विचार फरक
सबको आफ्नै भावना पनि
स्वीकार गर सबैसबैलाई
थरीथरीका फूल ठानी ।

सुनी राख बोली राख
हिँड अनि आराम गर
जेजे गर्छौ राम्रो गर
सारा संसार तिम्रै घर ।

कहिले रुन्छ कहिले हाँस्छ
यस्तै त हो नि मन
सबै जाती देख्छौ तर
तिमी राम्रो बन ।

बाल कथा : यो पढ्ने उमेर

भोला दुलाल

सानु मैचा कागती गाउँकी केटी हुन् । उनी अहिले कक्षा–७ मा पढ्दैछिन् । असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउँछिन् । कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु उनी सर–मिसको माया पाएर झन हौसिएकी थिइन् ।
पोहोर साल बाबु धनबहादुर मरेपछि उनी टुहुरी भइन् । अघिपछि सधैं हँसिलो अनुहार हुने सानु मैचा आज अलि फरक देखिन्छिन् । निन्याउरो र मलिन अनुहार लिएर विद्यालय आएकी सानुमैचालाई उनको मलिन अनुहारको बारेमा हेडसरले सोधपुछ गर्नुभयो ।
‘किन सानुमैचा ? तिमी एकदुई दिनदेखि बेखुसी देखिन्छेउनी ?’
हेडसरको प्रश्न भुइँमा खस्न नपाउँदै सानुमैचाको आँखाका डिलमा आँशु तर्कियो । हेडसरले फेरि खै गर्नुभयो ।
‘किन के भयो र ?’
सानुमैचा भक्कानिँदै भन्छिन्, ‘सर म पढ्न चाहन्छु । म पढेर देशको नाम उच्च बनाउन चाहन्छु । तर मेरो आमाले अब मेरो बिहे कक्षा–६ मा पढ्ने रामलाल श्रेष्ठसँग गरिदिने रे । गाउँभरी हल्ला छ । मेरो कक्षाका साथीहरू मेरो र रामलालको कुरालाई लिएर जिस्काउँछन् । सानुमैचाको कुरालाई लिएर हेडसरको मनपनि चसक्क भो ।
एकदिन शुक्रबारको दिन विद्यालयमा हुने अतिरिक्त क्रियाकलापपछि छुट्टी भो । विद्यार्थी भने घर गए । तर हेडसरले सानुमैचाको आमा र रामलालको बुबा–आमालाई स्कुलमा बोलाउनु भयो । ‘सानुमैचा र रामलाल दुवै नाबालक हुन् । उनीहरुको विवाह गर्ने उमेर पुगेको छैन । उनीहरु असल विद्यार्थी हुन् । भविष्यमा उनीहरुले राम्रो गर्न सक्छन् ।
त्यसकारण उनीहरुको विवाह होइन उचित शिक्षादीक्षामा ध्यान दिनु होला । हुनपनि कागती गाउँमा सानैमा विवाह गरिदिने चलन पुरानै हो । घर धान्न र बाबुआमाको बोझको रूपमा रहेको छोरीको बिहे गरिदिन पाए आङ हलुको हुने सोचाइ थियोे । सानुमैचा र रामलालका बाबुआमालाई त छोराछोरीको बिहेको चिन्ता नहुने कुरै भएन ।
हेडसरले कागती गाउँका बालबालिका उमेर नपुग्दै विवाह गरेर विभिन्न स्वास्थ समस्याले ग्रसित भएको र सामाजिक बेथिति रहेको कुरामा जानकार थिए । उनले सानुमैचा र रामलालको बाबुआमालाई राम्ररी सम्झाएपछि दुवैपक्ष सानुमैचा र रामलालको पढाइ अगाडि बढाउन सहमत हुन्छन् ।
अहिले सानुमैचा नर्सिङ पेशा सम्हालेर गाउँमा नै सेवारत छिन् । उता रामलाल गाउँमा शिक्षण पेशामा संलग्न छ । उनीहरुको विवाह भयो भएन त्यो थाहा छैन । तर हेडसरको बेलैको सम्झाइबुझाइले सानुमैचा र रामलाल देशकै दक्ष जनशक्ति भएर उदाहरण बने ।

सिद्धान्त सुब्बा, सेन्ट जोसेफ इ.बो. स्कुल, धरान-१७

इतिहास पढाउने एक शिक्षकले एक विद्यार्थी रामलाई सोधेछन्–
शिक्षकः भन त राम नालापानीको लडाईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
रामः नालापानीको लडाईमा नाला फुटेर पानी बाहिर निस्केको हुँदा चिप्लिएर बलभद्र कुँवर लडेका थिए सर ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………

शिक्षकः हामीले लामखुट्टे जन्मिनबाट रोक्नुपर्छ ।
विद्यार्थीः त्यो त हुन नै सक्दैन ।
शिक्षकः किन ?
विद्यार्थीः लामखुट्टेहरुले लगाउने त्यत्रो सानो कन्डम नै बन्दैन सर ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………

शिक्षक : चोरीको फल एकदम नराम्रो हुन्छ । त्यसैले कहिले पनि चोरी नगर्नु ।
रामले बीचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तरः झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ ।)
सन् १९२१ मा सगरमाथाको प्रथम आरोहण प्रयास कसको नेतृत्वमा भएको थियो ?
उत्तरः कर्णेल चाल्स हवार्ड बरी (बेलायत)
सन् २०१९ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के रहेको छ ?
उत्तरः सब्ैका लागि स्वास्थ्यः प्रत्येकलाई जहीँतहीँ ( सन् १९४८ अप्रितल ७ देखि मनाउन थालिएको हो।)
राष्ट्रिय बाघ गणना – २०१८ को तथ्याङ्क अनुसार हाल नेपालमा बाघको संख्या कति रहेको छ ?
उत्तरः २३५ वटा (सन् २०१३ को गणनामा १९८ वटा)
व्यवसायिक रुपमा पाँचौ पुस्ता (छन्) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?
उत्तरः दक्षिण कोरिया
लालचोक कुन दरबारभित्र रहेको चोक हो ?
उत्तरः पचपन्न झ्याले दरवार
सुपारी विवाह कुन जातिमा प्रचलित छ ?
उत्तरः धिमाल

जहाजमा किन चरा ठोकिन्छन् ?

धरानः विमानस्थल वा अन्य ठाउँमा बेलामा बेलामा चराले सताउने गर्छ । विमानस्थल कार्यालयका अनुसार गमी मौसममाभन्दा जाडो मौसमा विमानस्थलमा चराले बढी सताउने गर्छ । चराको रोजाइका विमानस्थल नै पर्छ । विमानस्थलमा विहानदेखि बेलुकासम्म नै घाम लाग्छ । जसकारण पनि चराउ पारिलो ताप्नका लागि विमानस्थल आसपासमा उडिरहेका हुन्छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानलाई चराले ठूलो चुनौति दिइरहेका छन् ।
चरा ठोक्किँदा कतिपय विमान ध्वस्त भएका छन् भने कतिपय विमान दुर्घटनाबाट जोगिएका छन् । नेपालमा विमान दुर्घटनाका विभिन्न कारणमध्ये चरा पनि एक हो । चरा धपाउन अत्याधुनिक प्रविधिको विकास भइसकेको छ । तर हामी सिकारीमार्फत चरा धपाइरहेका छौं । चराकै कारण विमान दुर्घटना बढेपछि क्यानले विमानस्थलमा ‘एभिन राडार’ कन्ट्रोल मेसिन जडान गर्ने योजना बनाएको थियो । तर, यो योजना अहिले काम नै नभइ बन्द भइसकेको छ ।
विमानस्थलमा रहेका प्राविधिकहरुले रोडारबाट प्राप्त सूचना पहिले नै विमान चालकलाई उपलब्ध गराउन सक्छन् । विमान चालकले विमान अवतरण गर्नु आगावै विमानस्थलमा चरा रहे नरहेको थाहा पाउने भएकोले दुघर्टना हुने सम्भवना अत्यन्तै कम हुन्छ । विमानस्थलमा पशुपंक्षी आउन नदिनका लागि चारवटा प्रविधि अपनाइँदै आइएको छ । यसमा ग्यास क्यानन, एक्रो क्रो, वेलर मेसिन र सिकारी हुन् ।
ग्यास क्यानन ड्वाङ आवाज आउने मेसिन हो । विमानस्थलमा चरो बसेमा रिमोट कन्ट्रोलमार्फत ग्याँस ड्वाङ पड्किन्छ र चरा उडेर भाग्छ । विमानस्थलमा एक्रो क्रो प्रविधि पनि चरा धपाउनका लागि प्रयोग हुँदै आएको छ । यसमा रहेको चम्किलो लाइट टल्किएपछि चराहरु आउँदैनन्, विमानस्थलमा भएका पनि भाग्छन् । वेलर मेसिनले पनि विमानस्थलमा चरा धपाउने गरिएको छ । यो मेसिनले विभिन्न चराहरुको आवाज निकालेर चराहरु धपाउँछ ।

चराले गराएका घटना
झन्दै दुई महिना अगाडि मात्रै हिमालएयरलाइन्सको जहाज चरासँग ठोकिन पुग्यो । जहाज चरासँग ठोकिएपनि कुनै ठुलो घटना भने भएन् । तर, जहाज एक साता ग्राउन्डेट भएको थियो ।
सन् १९९६ अक्टोबरमा थाई एयरवेजको ए ३०० जहाज चरा ठोक्किएर दुर्घटना भयो । यस्तै, सन् २०१० सेप्टेम्बरमा बंगलादेशको डिसी १० र सन् २०१२ सेप्टेम्बरमा सीता एयरको जहाज पनि चरासँगै ठोक्किएर दुर्घटनामा परेका थिए ।
सन् २०१४ को डिसेम्बरमा जेट एयरवेजको जहाज पनि चरासँग ठोक्किएको थियो । साथै, सन् २०१५ मा टर्किस एयरको जहाज पनि चरासँग ठोक्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।
दुई वर्षअघि लुक्लातर्फ उडेको गोमा एयरको जहाज पनि चरासँग ठोक्किएको थियो । तर, जहाज विमानस्थलमै अवतरण गर्न सक्दा ठूलो घटना भने भएन । जहाज सकुशल अवतरण नगरेको भए ९ जना यात्रु र चालक दलका सदस्यको ज्यान जाने थियो । चरा ठोक्किँदा विमानको दायाँ पखेटा कुच्चिएको थियो ।

२४ वर्षीया युवती चन्द्रमामा सफल अवतरण

चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको विषय बनेकी छन् ।
वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमाण्डर भएपनि झाउ चेङ्गयुलाई उनको कामप्रति सम्मान दर्शाउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ । चन्द्रमामा सफल आवतरण गरेको चाङ्ग–अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो ।
झाउ त्यो प्रक्षेपणको रकेट कनेक्टर प्रणालीकी प्रमुखको जिम्मेवारीमा थिइन् । नोभेम्बर २३ मा सफल प्रक्षेपण गरिएको चाङ्ग–अ फाइभ मिसनमा संलग्न व्यक्तिको रूपमा चीनको सरकारी सञ्चारमाध्यमले चर्चा गरेपछि उनी चिनियाँ सामाजिक सञ्जाल वाइबोमा चर्चाको विषय बनिन् ।

उनले सानै उमेरमा गरेको कामले धेरैलाई आकर्षित गरेको छ । प्रयोगकर्ताहरूले उनलाई ‘विलक्षण’ भन्दै उनी देशका लागि ‘प्रेरणाको स्रोत’ रहेको भन्दै चर्चा गरिरहेका छन् । ठट्टा भावमा कयौं मानिसहरूले त्यो उमेरमा आफूले गरेका काम तुलना गरेका छन् ।
यी युवतीप्रति मानिसहरूको चासो अत्याधिक भए पनि त्यसले उनलाई खासै प्रभाव पारेको छैन । वेवसाइट डुकाई गुइझाउ नेटका अनुसार आफ्नो काममा चर्चाले अवरोध नपुरयाओस् भन्दै अन्तर्वार्ताको लागि बारम्बार गरिएको प्रयासलाई उनले अस्वीकार गरेकी थिइन् ।
चिनियाँ चन्द्र भगवानको नाममा राखिएको चाङ्ग–अ–फाइभ मिसनको उद्देश्य चन्द्रमाको सतहबाट चट्टान सङ्कलन गरी चन्द्रमाको उत्पत्तिबारे अनुसन्धान गर्नु रहेको छ । सफल भएमा ४० वर्षभन्दा बढी समययता चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्रमा अभियान हुनेछ ।
हिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्रै चन्द्रमाबाट चट्टान पृथ्वीमा ल्याएका छन् । राष्ट्रपति सी जिनपिङले ‘राष्ट्रिय रूपान्तरण’को एउटा कदम बताएको उक्त मिशन अन्तरिक्षको महाशक्ति बन्न बेइजिङले गरिरहेको जोडबलको एउटा पाटो हो ।
चीनका लागि अन्तरिक्षको खोज उसको बढ्दो प्राविधिक क्षमता देखाउने र विश्व मञ्चमा आफ्नो शक्तिशाली भूमिका प्रस्तुत गर्ने माध्यम बनेको छ । सामाजिक सञ्जालमा त्यसले उनलाई ‘अन्तरिक्ष जगतमा अग्रमोर्चाकी सेना’ र ‘ठूली दिदी’ जस्ता शब्दावली प्रयोग गरिएको छ ।
बीबीसीकी चीन मीडिया विश्लेषक केरी एलन भन्छिन्, ‘पुरुषहरूको बाहुल्य रहेको देशको नेतृत्वका माझ पछिल्लो समय चीनले शक्तिशाली महिलाहरूलाई प्रस्तुत गरिरहेको छ ।’ गतवर्ष चीन आफ्नो एउटा मानवरहित अन्तरिक्ष यान चन्द्रमाको अहिलेसम्म नपुगिएको कुनामा अवतरण गर्न सफल भएको थियो । आउँदा केही दशकमा उसले चन्द्रमामै अध्ययन केन्द्र स्थापना गर्ने र मानिसलाई मङ्गल ग्रह पठाउने योजना बनाएको छ ।

प्रकाशित मिति: मंसिर २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend