धरानः लियोनल मेसीले गरेको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा लेभान्टेलाई १–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा कप्तान मेसीले ७६औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । फ्रांक डी जोङले दिएको पासलाई मेसीले पोष्टको दिशा दिएका थिए । त्यसअघि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङलेट, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनले अवसर पाएका थिए । तर, त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
लेभान्टेका जर्ज डी फ्रुटोसले गोलको राम्रो अवसर खेर फाले । त्यस्तै वैकल्पिक खेलाडी सन राईटले अन्तिम समयमा गरेको प्रयासलाई मार्क आन्द्रे टेर स्टेगन विफल बनाइदिएका थिए ।
लिगको ११ खेलमा बार्सिलोनाको यो पाँचौं जित हो । जितसँगै बार्सिलोना १७ अंकका साथ आठौं स्थानमा छ । पराजित लेभान्टे ११ अंकका साथ रेलिगेशन क्षेत्रमा छ ।