धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी बोर्डबाट आपूर्तिका लागि हालको भौतिक संरचनाको अवस्था तथा व्यवस्थापनको विषयमा अध्ययनका गर्न पाँचजनाको टेक्निकल टिमको तयारी गरिएको छ ।
प्रतिष्ठानको खानेपानीको अध्ययन गरी रिपोर्टिङ गर्नका लागि प्रतिष्ठानका इञ्जिनियर नेत्र खड्काको संयोजत्वमा प्रतिष्ठानका सिभिल इञ्जिनियरका शाखा प्रमुख विकास बस्याल सदस्य सचिव रहने गरी टिम बनाइएको हो ।
यस्तै, सदस्यमा धरान खानेपानी व्यवस्थापन बोर्डबाट कार्यकारी निर्देशक इ. राजु पोखरेल, बोर्डका इ. प्रशान्त अधिकारी र खानेपानी संस्थानका धरान प्रमुख रामकुमार श्रेष्ठ सदस्य रहने गरी टिम बनाइएको छ । टिमले दुईदिनभित्र प्रारम्भिक रिपोर्ट बुझाउने र संस्थान, प्रतिष्ठानको जिम्मेवारीमा परेको मर्मत तथा निर्माण कार्य ७ दिनभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
टिमले खानेपानी संस्थानसँग भएको सम्झौताअनुसार खानेपानी आपूर्तिको लागि भौतिक संरचनाको वर्तमान अवस्था र दायित्वको बारेमा रिपोर्ट बुझाउने रजिष्ट्रार रेग्मीले जानकारी गराए ।
‘प्रतिष्ठानले सम्झौता गरेर खानेपानी आपूर्तिको व्यवस्थापन तथा सञ्चालनको लागि संस्थानलाई बार्षिक रूपमा नै रुपैँया तिर्दै आएको छ,’ रजिष्ट्रार रेग्मीले भने, ‘दुईदिनअघि अनुगमनमा जाँदा संस्थानसँग सम्झौता भएअनुसारको कार्यहरू पालना नभएको पाइएको छ । यसकारण भौतिक संरचनाहरू जीर्ण अवस्थामा रहेको पाइयो । प्रतिष्ठानबाट समेत फलोअपमा कमीकमजोरी भएकोले गर्दा दुवै मिलेर समस्याको समाधान गर्ने र नयाँ संरचना अनुसार बोर्डबाट पानी आपूर्ति गर्नका लागी कार्यहरू अगाडि बढाउनेछौं ।’
प्रतिष्ठानको भौतिक संरचना व्यवस्थित गर्ने जिम्मेवारी र दायित्व खानेपानी संस्थान र प्रतिष्ठानको रहेको मेयर राईले बताएका छन । ‘बोर्डले जिम्मा लिनुभन्दा अगाडि प्रतिष्ठानको खानेपानीको सबै संरचना सम्झौतामा भएअनुसारको हुनुपर्ने बताएका छौं,’ उनले भने, ‘संस्थानले भन्दा राम्रो र पर्याप्त रुपमा बोर्डमार्फत् खानेपानी प्रतिष्ठानलाई आपूर्ति गर्नेछौं ।’ खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने प्रक्रियाको थालनी भइसकेको र सबै सम्पत्ति तथा दायित्वको बारेमा बुझ्ने क्रम रहेको मेयर राईले जानकारी दिए ।
छलफल प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा. डा. गुरूप्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायत धरान खानेपानी व्यवस्थापन बोर्ड तथा खानेपानी संस्थानका पदाधिकारीहरुबीच भएको हो ।