धरानः प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोध धरानमा पनि भएको छ ।
संसद विघटनको निर्णयविरुद्ध दाहाल-नेपाल पक्षका कार्यकर्ता सडकमा ओर्लिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर एक हौं, अग्रगामी कदम मान्दैनौंलगायतका नारा लगाउँदै उनीहरुले जुलुस निकालेका हुन् । उनीहरुले संसद विघटनको सिफारिस खारेज गर्नुपर्ने भन्दै टायर समेत बालेका थिए । छाताचोकबाट निस्किएको जुलुस भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रधानमन्त्री ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।
त्यस्तै राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ’संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’