धरानः कक्षा–११ को पाठ्यक्रम सम्बन्धी मुद्दाको सुनुवाइ नहुँदा विद्यार्थीमा अन्यौलता छाएको छ ।
भगवता अर्यालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ भएकै छैन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ बनेर कार्यान्वयनमा आएपछि कक्षा ११ को नयाँ पाठ्यक्रममा गणित विषयलाई ओझेलमा पार्न खोजिएको र विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको अधिकार रहेको भन्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
कक्षा ११ मा यही शैक्षिक सत्रदेखि लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम कार्यान्वयनमा ढिलाइ हुने भएको हो । अन्तिम सुनुवाइ नगर्दा कक्षा ११ मा पढ्ने लाखौं विद्यार्थीको पढाइ अन्योलमा परेको छ ।
गएको २० कात्तिकमा सो रिटको सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तर, मुद्दाको अन्तिम सुनुवाइ भने अझै हुन सकेको छैन ।
एकपटक हेर्न नभ्याएर, अर्कोपटक रिट पक्षका कानून व्यवसायीको आग्रहमा र २१ मंसीरमा अदालतबाटै पेशी स्थगितको सूचना आएको थियो । त्यसपछि सोमबार (६ पुसमा) पेशी तोकिएको थियो ।
अहिले सिकाइ प्रक्रिया अन्योलग्रस्त बनाएको शिक्षक तथा अभिभावकहरूले बताउँदै आएका छन् । उनीहरुले नयाँ अथवा पुरानो पाठ्यक्रममध्ये कुनै एक पक्षमा चाँडो फैसला गरेर निकास दिनुपर्ने उनको माग छ । अहिले कतिले नयाँ पाठ्यक्रममै पठनपाठन गर्दै आएका छन् भने कतिले पुरानै पाठ्यक्रममा पठनपाठन गर्दै आएको एक अध्यापक बताउँछन् । ‘नयाँ पाठ्यक्रममै पनि कतिले धेरै पढाइसके, कतिले पुरानै पाठ्यक्रम पढाउँदै आएका छन्’, उनले भने, ‘यस्तो अन्यौलताले विद्यार्थीको भविष्य डामाडोल हुने देखिन्छ ।