धरानः धरानमा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताको विस्तारित बैठक तथा भेला सकिएको छ ।
भेलाले १५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति गठन भएको छ । आइन्द्रविक्रम बेघाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन भएको हो । समितिको सह–संयोजक चोत्लुङ रहेका छन् ।
यस्तै, चोत्लुङकै संयोजकत्वमा स्रोत परिचालन कमिटी पनि गठन गरिएको छ भने प्रचारप्रसार समितिको संयोजकमा केशव घिमिरे छन् । यस्तै, पदम लिम्बूको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी पनि गठन गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको बैठकमा नेता–कार्यकर्ताको सानदार उपस्थिति रहेको नेता बेघाले जानकारी दिए । उनले गठित समितिले प्रम ओलीको कदमविरुद्ध सशक्त आन्दोलनमा होमिने जानकारी दिए ।
बैठकमा यसअघिका सांसद, जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै सांसद जयकुमार राईले प्रम ओलीले संसद विघटन गरेर ‘कु’ गरेको धारणा राखे । कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज धर्म निरौलाले नेकपामा कसैले पनि नसोचेको घटना घटेको बताए । ‘अब अलमल नगरौं, हामी कित्ता क्लियर गरौं, अलमलमा पर्नुपर्ने कुनै कारण छैन’, उनले भने, ‘यति बुझ्नुहोस् कि प्रम ओलीले असंवैधानिक कदम चालेकै हुन् ।’ उनले प्रम ओली समूहलाई बुर्जुवाको संज्ञा पनि दिए । ‘उनको पार्टी नेकपा एमाले बनेपनि त्यो पार्टी बुर्जुवा कम्युनिष्ट मात्रै हुनेछ, त्यो पार्टी बुर्जुवा विचारमा पलायन भएको पार्टी हो,’ उनले भने, ‘कम्युनिष्टमा लाग्नुहुन्छ भने यता आउनुहोस्, बुर्जुवा बन्नुहुन्छ भने उता जानुहोस् ।’
कार्यक्रममा बोल्दै नेकपाका मुक्सामहाङ मेन्याङ्बोले अलोकतान्त्रिक, प्रतिगामी कदम भएको बताए । कार्यक्रममा उमिता बराइली, रमेश बस्नेत, योगेन्द्र मण्डल ‘पप्पु’ र किरण राईलगायतले पनि बोलेका थिए । सुनसरीमै जिल्ला तहका अध्यक्ष, सचिवलगायत अन्य नेता कार्यकर्ता पनि प्रचण्ड-माधव पक्षमै छन् ।
तस्वीरः हाम्रो कोशी आवाज





