धरानः जनता मिडिया हबद्वारा धरान-१८ मा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ ।
धरान वडा नं. १८ को सहयोगमा शनिबार आयोजित एकदिने तालिममा हबका अध्यक्ष सञ्चारकर्मी देवेन्द्र कार्कीले सहजीकरण गरेका थिए । धरान–१८ का विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई सहजीकरण गर्दै सफल बन्नका लागि अध्ययन गर्न जरूरी रहेको बताउँदै अतिरिक्त क्रियाकलापहरूमा समेत सक्रिय सहभागी रहन जानकारी गराएका थिए । कार्कीले भित्तेपत्रिकाको चिनारी र उद्देश्य, प्रकाशित हुने सामग्री तथा जानकारीहरू, पत्रकारिताका आधारभूत सिद्धान्तहरू लगायतको सैदान्तिक सीप सिकाएका थिए ।
तालिम सम्पन्नपछि ३ समूह निर्माण गरिएको थियो । सो समूहहरूले एक सातामा भित्तेपत्रिका तयार गरी वडामा बुझाउनुपर्ने हुन्छ । पत्रिका प्रकाशित गर्ने उत्कृष्ट एक समूहलाई पुरस्कृत गरिने तालिम संयोजक नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी गराए ।
तालिममा २० जना विद्यार्थीहरू सहभागी भएका थिए । तालिममा धरान १८ का महिला तथा बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तान, धरान–१८ का बाल सञ्जालकी अध्यक्ष मोनिका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।