धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले भोलि (बिहीबार) आकस्मिकरुपमा आयोजना गरेको आमहड्तालको पूर्वसन्ध्यामा धरानमा राँके जुलुस निकालिएको छ ।
नेकपाको धरानस्थित पार्टी कार्यालयबाट निस्किएको राँके जुलुस छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो । हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने जनाइएको छ ।
कार्यक्रममा बोल्दै नेकपाका नेता पदम इश्वोले बाध्यतावश आमहड्ताल अर्थात् बन्दको आह्वान गरिएको बताए । ‘आमहडताल गर्नु बाध्यता हो, जनताले दुःख पाउलान्, केही असहज स्थिति हुनेछ, यसको निम्ति हामी क्षमायाचना प्रकट गर्दछौं’, उनले थपे, ‘जनताका लागि लडेको हुनाले पनि एकदिनका लागि आमहड्ताललाई सहयोग गरिदिन हुन अनुरोध छ ।’
प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याइँको पराकाष्टा भएको बताएको छ । र, त्यसको विरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





















राँके जुलुस आइपुग्नुअघि भानुचोकमा हताहतार बाटो क्रस गर्दै सर्वसाधारण ।