धरानः नेपाल अग्रवाल महिला मञ्च धरानले आफ्नो रितिरिवाज र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ‘मकर सङ्क्रान्ति नेगचार’ प्रतियोगिता आयोजना गरेको छ ।
राष्ट्रियस्तरको प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । माघ १ गते आयोजना भएको प्रतियोगिताको नतिजा आएको हो । प्रतियोगितामा रत्ना काबरा (राजविराज) प्रथम, दिव्या भारती (धरान) द्वितीय, प्रशाली अग्रवाल (विराटनगर), तृतीय बने । यस्तै, सुशिला अग्रवाल (धरान), (शर्मिला अग्रवाल (सिरहा), ज्योति अग्रवाल (धरान), ओशिन अग्रवाल (विराटनगर), रेखा अग्रवाल (धरान), तुलसी अग्रवाल (काठमाण्डौ), विनिता अग्रवाल (जनकपुर) क्रमशः पाँचौ हुँदै दशौंसम्म बने ।
मञ्चकी अध्यक्ष इन्दु तोदीको अध्यक्षता एवम् मञ्चकी उपाध्यक्ष अनु अग्रवाल तथा कार्यकारिणी सदस्य लता अग्रवालको संयोजकत्वमा भएको सो कार्यक्रममा प्रतियोगीहरुले मकर संक्रान्तिको अवसरमा आ–आफ्नो घरघरमा गरेका नेगचार (विधि) हरुको भिडियो पठाउनुपर्ने र सोही भिडियोहरुलाई आधार मानेर उत्कृष्ट १० जनाको भिडियो छानिएको थियो । १० जनामध्ये विजेता घोषणा गरिएको हो ।
प्रतियोगिताको निर्णायक मण्डलमा अन्तराष्ट्रिय अग्रवाल सम्मेलन कोलकाताकी उपाध्यक्ष मीना अग्रवाल, जनकपुर मारवाडी महिला मञ्चकी अध्यक्ष बबिता सर्राफ तथा धुलाबारी मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता वंशल थिए ।
मञ्चले अनलाइनमार्फत् नै उहाँहरुलाई पुरस्कृत र सम्मान गरेको छ । उत्कृष्ट १० जनाको पुरस्कार कुरियरमार्फत उनीहरुको घरमै पुरयाउने व्यवस्था मञ्चले गरेको छ । प्रतियोगितामा भाग लिने सबै सहभागी महिलाहरुलाई पनि ई–सर्टिफिकेट आककनलाइन मार्फत प्रदान गरिएको छ ।
आफ्नो रितिरिवाज परम्परालाई प्रोत्साहित गर्ने यस प्रतियोगिताको सबै व्यक्ति एवम् समूहहरुबाट सकारात्मक प्रतिक्रियाहरु निरन्तर आइरहेको अध्यक्ष इन्दुले जानकारी दिइन् ।