धरानः सरस्वती ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि–विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।
सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजाअर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षराम्भ गराउने राम्रो साइत मानिन्छ यस दिनलाई । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।
माघ शुक्ल पञ्चमीको दिन मनाउने पर्वलाई बसन्त पञ्चमी, श्री पञ्चमी अर्थात् सरस्वती पूजा भन्ने गरिन्छ । यसै दिनदेखि ऋतुहरुको राजा वसन्त ऋतु सुरु हुन्छ । वसन्त ऋतुको आगमनको उपलक्ष्यमा वसन्त श्रवण गरिन्छ । वैदिक युगदेखि नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको वसन्त पञ्चमी आधुनिक कालमा काठमाडौं हनुमान ढोकाको नासल चोकमा मनाइन्छ । यस अवसरमा राष्ट्र नायकहरु जाने प्रचलन रहेको छ । पुराणमा कामदेव र वसन्तलाई मित्रका रुपमा वर्णन गरिएको छ । यस दिनमा लक्ष्मी र विष्णुको पूजा गर्ने चलन रहेको छ । हिन्दुहरुमा १२ महिना १२ देवी देवताको पूजा गर्ने प्रचलन रहेको छ जसअनुसार मङ्सीरमा श्री, पौषमा लक्ष्मी, माघमा कमला, फागुनमा सम्पत, चैतमा पद्मा, वैशाखमा नारायणी, जेठमा धृति, आषाढमा स्मृति, श्रावणमा पुष्टि, भदौमा तुष्टि, आश्विनमा सिद्धि, कार्तिकमा क्षमाको पूजा गरिन्छ । यसबाट सौभाग्य, लक्ष्मी, विद्या प्राप्त हुने विश्वास गरिन्छ । भनिन्छ एकपटक सबै ऋतुहरुले ऋतुराज वसन्तलाइ ८–८ दिन सम्म भेट गरेका थिए र जसमा ४० दिन लागेको थियो । त्यसै कारणले वसन्त पञ्चमी चैत कृष्ण प्रतिपदामा नभइकन ४० दिनअघि माघ शुक्ल पञ्चमीमा मनाउन थालिएको परम्परा रहेको छ । पहिला चैत कृष्ण प्रतिपदामा मनाउने चलन थियो । यसै दिनदेखि गाउन थालिएकी वसन्त राग त्यो बसन्त राग आजसम्म पनि चलिरहेको छ ।
हिन्दू धर्मावलम्वीहरु विद्याका देवी सरस्वतीको पूजा यसै दिनमा सम्पन्न गर्दछन् । सरस्वती शिवकी पुत्री र गणेश र कुमारकी बहिनी रहेकी छन् । यिनलाई संगीत, कला, साहित्य र विद्याकी खानी मानिन्छ । माघ शुक्ल पञ्चमीको दिनमा सरस्वतीको जन्म जयन्तिको रुपमा नेपाल अधिराज्यभर नै रहेका सरस्वती मन्दिर, पुस्तक, मूर्तिहरु स्थापना गरी पूजा, उपासना र स्तुति पाठ गरेर मनाइन्छ । सरस्वतीलाई महा विद्या, महावाणी, भारती, वाक, सारदा, आर्य, भ्रामी, कामधेनुको नामले पनि सम्वोधन गरिन्छ । शास्त्रमा सरस्वतीको लक्षण श्वेतवस्त्र धारण गरेकी गोरो वर्णकी, सदा मुस्कुराइ रहने, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, एकहातमा विणा, एक हातमा पुस्तक, एकमा स्फटिक माला र एक हातमा अभय मुद्रामा रहेकी चतुर्भुज राजहंस माथि सवार भएकी भनेर बताइएको छ ।
खासगरी विद्यार्थीहरुले यो पर्वलाई महत्वका साथ मनाउँदछन् । सरस्वतीका मन्दिरमा गई दर्शन र पूजा गर्दछन् । स–साना नानीहरुलाई अक्षरारम्भ गराउने प्रचलन पनि यही दिन रहेको छ । जो पढ्नमा अलिकति ढिला सुस्ती गर्दछन् उसलाई ॐ नमः वागीश्वरायः दैनिक पढाउनुभएको खण्डमा राम्रो रहने छ । सस्वतीको मन्दिरमा यस दिन दर्शनार्थीको भीड लाग्दछ । लेलेमा सरस्वती कुण्ड र ज्ञान कुण्ड नाउँका दुई कुण्डहरु छन्। विं.स ५२६ को सिरा लेखमा लेले र सरस्वती कुण्डका बारेमा धेरै ठूलो उल्लेख भएको पाइन्छ । त्यस हिसाबले लिच्छवीकालअघि नै लेलेले तिर्थको रूपमा ख्याति पाएको बुझिन्छ । त्यहाँको कुण्डमा स्नान गर्ने र कुण्डको जल तीनपटक पिउनाले बोल्न नजान्नेले बोली फुट्ने र वाक्य शुद्ध हुने विश्वास गरिन्छ । बौद्धधर्ममा पनि सरस्वतीलाई बोधिसत्ता मन्जुश्रीका रुपमा ज्ञानका प्रतिकका रुपमा पूजा गरिन्छ । त्यसैले त्यसदिन सरस्वती र मन्जुश्रीको मन्दिरमा दर्शनार्थीको भिड लाग्दछ ।
वैशवहरु सरस्वतीलाई वैष्णवीको रुपमा पनि मान्दछन् । श्री पञ्चमीका दिन पौराणिककालमा भक्ति पूर्व कलश स्थापना गरेर नैवेद्य गणेश, सूर्य, अग्नि, विष्णु, शिव देवताको पूजा गर्नुपर्छ । त्यसपछि सरस्वतीको पूजा गरी ताजा नौनी, दही, दूध, धानको लाभा, तिलको लड्डु, नरिवल, जल, मुला, वयर, बेल, अदुवा अर्पण गर्नु पर्दछ । सरस्वतीलाई स्वेत रंग प्रिय छ त्यसैले स्वेत पुष्प, स्वेत चन्दन, स्वेत वस्त्र, शंख आदि अर्पण गर्नुपर्छ । त्यसपछि देवीको ध्यान गर्नुपर्छ । मन्त्र अष्टाक्षरी मन्त्र गरिएको छ । ॐ श्रीम रिम सरस्वते नमः यस अष्टाक्षरी मूल मन्त्रको जप गर्नुपर्छ । यो मन्त्र विद्या, वुद्धि, सौभाग्य प्रदाएको मन्त्र हो त्यसको कारणले गर्दा सरस्वती कवजहरु पनि यसरी पाठ गर्नुभएको खण्डमा माता सरस्वतीले विद्या, बुद्धि, संस्कृति, मान सम्मान, इज्जत दिनु हुन्छ भन्ने जन विश्वास रहेको छ ।
बसन्त ऋतु
यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।
पूजा मुर्हूत
बिहान ७ बजेर १७ मिनेटदेखि १० बजेर ४ मिनेटसम्म ।
बिहान ११ बजेर २८ मिनेटदेखि १२ बजेदेखि ५० मिनेटसम्म ।
यस पूजाको शुभ समय बिहान ७ बजेर ५० मिनेटदेखि ११ बजेर ५६ मिनेटसम्म रहेको छ ।
घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथनअनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलस स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत पूजा गरिन्छ ।
सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ । ‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!
श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो । यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिम ले पूजा आरधाना गरि मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ । श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो ।
वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन् । हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् । बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन् । वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैं ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्नेता रहिआएको छ ।