धरानः केहीदिनअघि मात्र गठन भएको देशीलाइन व्यवसायी समितिले सरसफाइ अभियान थालेको छ ।
गठन भएपछि पहिलोपटक समितिको अगुवाइमा झाडु, कुचो लिएर सरसफाइमा लागेका थिए । बुधबार समितिका अध्यक्ष गंगा राई, सचिव टेकेन्द्र श्रेष्ठ, सहसचिव विनोद तामाङ (कादर भाइ) देशीलाइन टोल विकास संस्थाका अध्यक्ष सुधिर लिम्बूसहितका समाजसेवी, व्यवसायीले आफैं सहभागी भएर सरसफाइ गरेका हुन् ।
धरान उपमहानगरबाट पनि सरसफाइ कर्मचारी खटिने भएपनि थप सहयोग गर्न तथा प्रभावकारी सरसफाइको लागि पनि समितिले अभियान चलाएको अध्यक्ष राईले बताए । समितिले धरान उपमहानगर वडा नम्बर २ र टोल विकास संस्थासँग संयुक्त सहकार्य गरी सरसफाइ अभियान चलाएका हुन् । ब्यवसायीको हकहित तथा बजार सुधार तथा ब्यवस्थापनमा थप सहयोग गर्न समिति गठन भएको उनले जानकारी दिए ।

