धरानः जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रकम चेम्जोङले विश्वमा भाषिक सम्बोधन भइरहेको बेला नेपाल मात्र भाषिक दमन हुँदै आएको बताएका छन् ।
धरानमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले पहिचानको पहिलो कुरा नै भाषा भएको भन्दै विश्वमा भाषा संरक्षण भइरहेको अवस्थामा नेपालमा दमन भइरहेको बताए ।
‘भाषिक मात्र नभएर सांस्कृतिक दमन समेत हुँदै आएको छ’, उनको आरोप थियो, ‘एकल जातीयरुपमा भएको कुरा अर्को जातिमा लादिँदै आएको छ ।’ सांस्कृतिक दमन भएकोले नै धनकुटामा रिदामा र राम्लिहाङको हत्या भएको उनको आरोप थियो ।
पृथ्वीनारायण शाहको पालादेखि लिम्बुवानसहितको पहिचान अधिकार मेटाउने काम हुँदै आएको उनको धारणा थियो । ‘जुन समुदाय जहाँ बसोबास छ, त्यहीको स्थानीय भाषाबाट सबै स्थानको नाम त्यहाँको भाषाबाट राख्दा हुन्छ ।’ भाषा, संस्कार जोगाउने काम राज्यको दायित्व भएको उनको भनाइ थियो ।