धरानः २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसइई परीक्षाको मिति तय गरेको हो । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको जानकारी दिए ।
विद्यार्थी भौतिकरूपमा उपस्थित भएर नै परीक्षा हुनेछ । गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो । बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ । परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ ।
विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।