धरानः विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबारको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
सोहीअनुसार परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ ।
कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो ।
यस्तै, बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि शुरु गर्ने निर्णय गर्दै सोहीअनुसार परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । परीक्षा असार ४ गतेसम्म हुने छ ।

