Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रविधिमैत्री शिक्षाको ढ्वाङ

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
प्रविधिमैत्री शिक्षाको ढ्वाङ

शिक्षालय मेरा लागि शिक्षारम्भ देखि नै कार्यथलो बन्यो । यसकै सेरोफेरोमा रमाउन थालेको चार दशक नाघिसक्यो । तर, दुःख लाग्ने कुरा के छ भने, हाम्रा शिक्षालयको शैक्षिक पद्धति हिजो जुन अवस्थामा थियो, आज पनि लगभग त्यस्तै अवस्थामा गुज्रिरहेको छ ।
पाँच दशक अघिको अमेरिकाको शिक्षा विकास र आजको नेपालको शैक्षिक पद्धति एवं विकासमा खासै भिन्नता नरहेको कुरा शिक्षा–चिन्तक गिजुभाईको ‘दिवास्वप्न’ पढ्दा होस् वा डा. शरदचन्द्र वस्तीद्वारा अनुवादित ‘असफल स्कुल’ पुस्तक पढ्दा अनुमान लगाउन सकिन्छ । शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूप तयार पारिएका पाठ्यक्रम कताकता भौगोलिक वातावरण अनुरूप प्रतिविम्बित नभएको भान हुन्छ ।
एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक समयमा आईपुग्दा हिजो हामीले जे सिक्यौँ, जे सिकाइयो, त्यसलाई धार नभएको कैंचीले काँटछाट गरेझैं थोरै परिस्कार गरेर पुरानै शिक्षा प्रणालीलाई अनुसरण गर्न बाध्य हामी वर्तमान समयको अवस्थालाई हेरेर छट्पटिँदै बस्नु बाहेक अर्को उपाय छैन । गुरुकुल र घोकन्ते शिक्षाबाट माथि उठ्दै गुणस्तरीय, प्रयोगात्मक र व्यवहारिक शिक्षा दिन लालायित हामी सूचना र प्रविधिको अल्पज्ञानमा रुमलिन बाध्य छौं ।
विद्यालयको शिक्षा राष्ट्रिय उद्देश्यलाई हासिल गर्न सरकारले ग्रामीण भेगका विद्यालयमा छात्रावासको व्यवस्था, सहरदेखि ग्रामीण भेगका विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा, प्रयोगशाला, व्यावसायिक शिक्षामा जोड दिनुपर्छ ।
अहिले पनि हजारौँ बालबालिकाहरु विद्यालयको पहुँच बाहिर छन् । तिनीहरुलाई विद्यालयमा आकर्षित गर्नका लागि विद्यालयमा दिवा खाजाको व्यवस्थालाई सकारले अघि सारेको छ । यसलाई अझै विस्तार गर्नुपर्छ । कयौं विद्यालयमा अहिले विद्याथीहरुले खानेपानी त परको कुरा शौचालयको सुविधा समेत पाउन सकेका छैनन् । प्रविधिमैत्री व्यावयसायिक शिक्षा हासिल गर्नका लागि आवश्यक भौतिक संरचनाहरुको व्यवस्था गर्नुपर्छ । विद्यालयको भौगोलिक अवस्थिति हेरेर प्राथमिक उपचारमन लागि आवश्यक व्यवस्था, खेलमैदान लगायतका सुविधा हुनु पनि अपरिहार्य छ ।
प्रविधिमैत्री शिक्षाका लागि पहिलो शर्त भनेको आवश्यक संरचना र सुविधा हो । त्यसका लागि दुर्गमका विद्यालयमा समेत बिजुली, इन्टरनेट र कम्प्युटर प्रयोगशालाको सुविधा अपरिहार्य छ । त्यस्तै शिक्षकको दक्षता अभिवृद्धिका लागि आवश्यक तालिमको बन्दोबस्त गर्नुपर्छ । प्रणाली सुहाउँदो पाठ्यक्रमको निर्माण र पाठ्यपुस्तक लगायतका सामग्रीको सहज उपलब्धभता पनि उत्तिकै महत्वपूर्ण छ । केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै सम्बन्धित समुदायको आवश्यक सहकार्यले मात्रै यो सम्भव छ । यस्ता कार्यमा जुटेर लागि परेमा विद्यालय, विश्व विद्यालयका विद्यार्थी, सर्वसाधारणदेखि सिंगो देश लाभान्वित हुनेछ ।

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend