Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कविताः फरक धरान

हाम्रो कोशी आवाज
चैत्र १३ २०७७, शुक्रबार
कविताः फरक धरान

साँगुरी भञ्ज्याङ-भेडेटार
ओडेर शीरमा
सर्दु-सेउती
दायाँ बायाँ
पानीका घडा
पञ्चकन्या-विजयपुर
शीरफूल
भानुचोक-छाताचोक
छातीमा सजाइ
चारकोसे टेकेर
मृदु मुस्कानका साथ
हाजिर छ सधैं
लाहुरे पारामा
ठाँटिएर सफासुग्घर
स्वागतमा तम्तयार
सौन्दर्यको अजस्र प्रवाह
पूर्वको धरोहर
मेरो सुन्दर धरान शहर ।

तिमीले भनेजस्तो
बेइमान छैन धरान
तिमीले कल्पना गरेजस्तो
असुरक्षित छैन धरान
अनि छैन रत्ति पनि
कुरुप कुनै पनि अर्थमा
तिमीले आरोप लाएझैं
छैन जँड्याहा धरान
परबाट हेरेझैं
तिमीले सुनेझैं
कदाचित् छैन
डुबेको धरान नशामा
अनि
पराइले भन्ने गरेझैं
बेढंगको छैन धरान ।

‘असतोमा सद्गमय
तमसोमा ज्योतिर्गमय’
सरस्वती बन्दना
जप्दछ धरान हरेक दिन
मुक्त कण्ठले
नपत्याए
महेन्द्र क्याम्पसमा गएर सोध
हात्तीसार क्याम्पसमा गएर सुन
पिण्डेश्वरी विद्यापीठमा गएर हेर
इन्जिनियरिङ कलेजमा गएर नियाल
यहाँका पाठशालाहरुमा सोध
भोलिका कर्णधारहरुलाई
ढाँट्दैनन् तिनीहरु
यहाँको परम्परै यस्तो छ ।

सजग छ धरान
स्वस्थ राख्नुपर्छ
आफ्ना परिवारजनलाई भनेर
सुविधा सम्पन्न
बडेमाको अस्पताल
स्थापना गरेको छ धरानले
आफ्नो लागि मात्र नभई
जोकोही आउछन् धरान
सम्झेर आफन्त
सबैलाई
चौडा छाती लिएर
सगौरव
‘सेवा नै धर्म’ भन्दै
थाकें नभनी अहोरात्र
‘स्वस्थ धरान–स्वस्थ नेपाल’को
प्लेकार्ड बोकेर
जननीप्रतिको असीम माया
बोकेर हृदयभरि
घोपा क्याम्पमा
व्यस्त छ सेवामा
मेरो धरान ।

हजारौंमा दुईचार
खोट्टा सिक्का हुनु
कुनचाँही अनौठो हो र ?
वैंशमा दुईचार
बौलाए केटाकटी
पात्तिएर–मात्तिएर भने
कुनचाहिँ आश्चर्य हो र ?
के पोखरामा हुन्नँ त्यस्तो ?
के काठमाण्डौमा हुन्न त्यस्तो ?
के तिम्रो शहरमा हुन्नँ र त्यस्तो ?
अनि
किन मुद्दा बनाउँछौ
मात्र धरानलाई ?
वलिमा चढाउन यत्तिकैमा ?
के बिगारेको छ र धरानले तिम्रो ?

गौरव छ मलाई
सुन्दैछु
दुईचारजना मात्तिएर
बौलाएकाहरु
होसमा आइसके रे
आउनेक्रममा छन् रे अरु पनि
त्यसैले
कान नथुन मित्र
धरानले तिम्रो कान
बनाउने छैन अपवित्र
नखुम्च्याऊ
त्यति सुन्दर नाक तिम्रो
गन्हाउँदैन धरान वास्तवमा
यहाँ त
सफाइका पाठशालाहरु छन्
विकासका यज्ञशालाहरु छन्
सहकारिताका विश्वविद्यालयहरु छन्
त्यसैले त
धरान यति हार्दिक छ
पाहुना सत्कारमा
परम्परा बनाउने धुनमा ।

मित्र !
तिमीले सुनेभन्दा
तिमीले सोचेभन्दा
वास्तविकतामा
धेरैधेरै फरक छ धरान ।

ऊँ शान्ति ! ऊँ शान्ति !! ऊँ शान्ति !!!
विजयपुर गुञ्जन्छ हरपल
बुढासुब्बा आशिर्वाद दिन्छन्
दन्तकाली शक्ति दिन्छिन्
पिण्डेश्वर बाबा
मस्त छन् ध्यानमा
सम्पूर्ण प्राणीको भलाई खातिर
पवित्र छ धरान
पञ्चकन्याको दयाले
न गर्मी न जाडो
न समतल न ठाडो
ज्यादै उपयुक्त छ
अनुपम यो बासस्थल
निश्चिन्त अनि निशंकोच
आऊ मित्र
स्वागत गर्छ तिमीलाई
हार्दिक मनोभावले
सौन्दर्यको अजस्र प्रवाह
पूर्वको धरोहर
मेरो सुन्दर धरान शहर ।

मित्र !
तिमीले सुनेभन्दा
तिमीले सोचेभन्दा
वास्तविकतामा
धेरैधेरै फरक छ धरान ।

-कविता कुसुम

प्रकाशित मिति: चैत्र १३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend