धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको दोस्रो डोज लगाउन शुरु गरिएको छ ।
आइतबार प्रतिष्ठान आइपुगेको खोप मंगलबारबाट लगाउन थालिएको हो । पहिलोदिन प्रतिष्ठानका चारै पदाधिकारीसहित प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने कर्मचारीहरू गरी ४ सय जनामा खोप लगाइएको स्कुल अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर डा. विजय खनालले जानकारी गराए ।
‘पहिलो दिन ४ सय जनामा कोभिसिल्ड खोपको दोस्रो तथा अन्तिम डोज लगाइएको छ । यसअघि पहिलो डोज लगाएको १७ सय जनालाई हामीले ३ दिनभित्र खोप लगाइसक्ने तयारी गरेका छौं,’ उनले भने, ‘अपुग भएमा र पहिलो डोज लगाउन छुटेकाहरूमा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी अस्पताल प्रशासनले व्यवस्था मिलाउनेछ ।’
यसअघि पहिलो डोज माघ १४ गते लगाइएको थियो । नेपाल सरकारबाट दोस्रो डोजको आपूर्ति ढिला भएकाले दुई महिनापछि दोस्रो डोज लगाउन थालिएको डा. खनालले बताए । खोप लगाएपनि भाइरसको स्वरूप परिवर्तन हुन सक्ने बताउँदै उनले कोभिडबाट बच्ने स्वास्थ्य उपायहरू अपनाउनका लागि आग्रह गरेका छन् ।