धरानः देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो । सीसीएमसीले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो ।
यद्यपी विद्यालय बन्द भएपनि अनलाइन माध्यमबाट पठनपाठन सन्चालन मिलाइने सीसीएमसीले भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो ।
उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ । अनुमोदन भएपछि मात्र लागू गरिनेछ ।
प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन् । संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ । हाल छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोनासहित संक्रमण तीव्र भइरहेकाले नेपालमा पनि जोखिम बढेको छ ।
उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने जनाएको छ ।
प्याब्सनले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानीसम्बन्धी उपायलाई हरेक क्षेत्रमा कडाइका साथ लागु गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छ भनेको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग सङ्घर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्नु जरुरी छ । विगतको बन्दाबन्दी पश्चातः विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफलसमेत गरी तयार गरेको कार्यढाँचाअनुसार शिक्षालयहरुका गतिविधि सञ्चालन गर्न सान्दर्भिक भएको छ । आवश्यकताअनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ ।’
सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गर्दै आफ्ना बालबालिकालाई सङ्क्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पु¥याइदिन अभिभावकहरुलाई अनुरोध गरिएको छ ।
नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुकोे पनि ५० प्रतिशत क्षेत्र अनलाइन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरी सकेको भन्दै विज्ञप्तिमार्फत अब पनि बन्द गर्नु उपयुक्त नहुने आफ्नो धारणालाई प्याब्सनले प्रष्ट गरेको छ ।