धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताएका हुन् ।
बैठकले कोरोनाबाट धेरै प्रभावित भएका जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएम) ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार समेत दिएको छ ।
मन्त्री श्रेष्ठले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डिसिसिएमले गर्न सक्ने बताएका हुन् ।