धरानः दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न धरानमा लकडाउन कडा पारिएको छ ।
बिहान ११ बजेसम्म लकडाउन केही खुकलो भएपनि ११ बजेपछि झनै कडा बनाइएको छ । बिहान ११ बजे अत्यावश्यक सामग्री खरिद गर्न आउनेका लागि केही सहज भएपनि ११ बजेपछि प्रहरी लागेर झनै कडाइ गरिएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले सवारी चेकिङ बढाइएको र आवतजावतमा समेत रोकावट गरिएको जानकारी दिए । ‘११ बजेअघि सर्वसाधारणको किलमेल भयो, ११ बजेपछि अनावश्यक हिँड्नेलाई नियन्त्रणमा लिएर राख्न थालेका छौं ।’ उनले भने, ‘सवारी चेकिङ साथै सवारीलाई पनि कडाइ गरिएको छ ।
कोरोना संक्रमण तीव्रदरमा फैलँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागू हुने लकडाउन गरेको हो ।
यहाँका सडक प्रायः खाली रहेपनि चेकिङस्थलहरुमा सवारीसाधनको भीडभाड देखिन्छ । ठाउँ–ठाउँमा चेकिङका लागि सुरक्षाकर्मी परिचालित भएका छन् । निषेधाज्ञाको पहिलो दिनबाटै पासबिना सञ्चालन गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिई सडकमै ‘होल्ड’ गरेर राखिँदै आएको छ । यसरी होल्ड गरिएका सवारीसाधनलाई साँझ मात्र छाड्ने गरिएको प्रहरीले जनाएको छ ।
बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरिएको छ भने खाद्यान्न, तरकारीका पसलहरु पनि बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । सर्वसाधारणहरुलाई बिहान १० बजेसम्म मात्र स्वास्थ्य सुरक्षा अपनाएर खाद्यान्न तथा तरकारी खरिद गर्न छुट दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख १६ गते राति १२ बजेदेखि गते निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । तर संक्रमण अझै बढ्न थालेपछि लकडाउन नै घोषणा गरिएको प्रशासनले जनाएको छ ।
धरानमा गत वर्षको चैत यता लगभग १० पटकभन्दा बढी लकडाउन, बन्दाबन्दी र निषेधाज्ञा जारी भइसकेको स्वास्थ्य महाशाखा प्रमुख मेहता बताउँछन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार धरानमा वैशाखयता मात्रै ३०० भन्दा बढीमा संक्रमण भइसकेको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा श्वासप्रश्वासमा समस्या, अक्सिजन लेभलमा समस्या, दिमागमा असर, छातीमा समस्या, ओंठमा समस्या हुने पाइएको विज्ञहरुको दाबी छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



















