मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’
‘मातृ देवो भव’ भनेर हामीलाई हाम्रो सनातन धर्मले सिकाएको छ ।
‘तिमी मलाई असल आमा देऊ, म तिमीलाई राज्य दिन्छु’, नेपोलियन बोनापार्टको यही वाणी काफी छ आमाको महिमा बुझ्नको लागि ।
अँध्यारो रात उज्यालो पार्ने आकाशमा जुन छ ।
स्वर्गभन्दा पनि माथि आमाको ठाउँ हुन्छ ।।
आज मातातीर्थ औसी, जसलाई चलनचल्तीमा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाइने गरिन्छ । आजको दिनमा । आमाले अनेक कष्ट व्यहोर्दै नौ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चिन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन् ।
आफूले खाइ–नखाइ सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको प्रर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई जगत जननी भनिन्छ । मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । जसलाई हामी हरेक पीडामा पुकार गर्छौ ।
वैदिककालमा मातृ वियोगबाट दुःखी भई भावविह्वल हुन पुगेका मनुष्यलाई भगवान विष्णुले मातातीर्थको सोही कुण्डमा स्नान गराइ दिवङ्गत आत्माको दर्शन गर्न लगाई सान्त्वना दिलाइएको किंवदन्ती समेत रहेको छ । विशेषगरी आजका दिन सो कुण्डमा स्नान गरी पवित्र भई मातृस्मरण गरेमा मातृऋणबाट मुक्त हुने मृत्युपर्यन्त बैकुण्ठबास हुने जनविश्वास रहेको छ ।
आमालाई मनदेखि नै माया गर अनि व्यवहारमा पनि गरेर देखाऊ । आफनो जन्म दिने आमाको माया नगर्ने संसारमा कोही पनि छैन । मातृवात्सल्यले ओतप्रोत भएका बालकहरुको भविष्य राम्रो हुने विभिन्न अध्ययनहरुले देखाएको छ । सधै सधै आमाको मुखमा खुशी देख्न पाऔं । आमाको अनुहारमा खुशी र आनन्द ल्याउन सके जीवन धेरै सार्थक र अर्थपूर्ण हुनेछ ।
आज बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेका सन्तानहरु आमा लाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइतपुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् ।
आजभोलि विभिन्न कारणले आमाबुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ, जुन मानवताप्रति नै एउटा आक्षेप हो । समय त खोला न हो, आफूले गरेका कुराहरु आफैलाई फर्किने समय पनि आउँछ, वगेको समयमा आफ्नो दायित्ववाट विमुख हुनु मानव चरित्र पक्कै होइन ।
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न ताते ताते गर्दै सिकाइन्, गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहने पूरा गरिदिने, कल्पवृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ । -बिर्तामोड