धरानः स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन्।
निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए।
मन्त्री त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।
देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।