Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान शहरमा गाईपाल्नेको कथा

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
धरान शहरमा गाईपाल्नेको कथा

धरानः धार्मिक पर्यटकीय क्षेत्र धरान-१४ को विजयपुरमा धेरैजसो क्षत्रीबाहुनको वस्ती छ । त्यहाँ यसअघि पनि रहर गाई पाल्ने धेरै थिए । त्यहाँ दूध, दही, मोही, घिउ खानकै लागि भएपनि धेरैले एक-दुईवटा गाई पालेकै हुन्थे । तर अहिले तिनै एक–दुईवटा गाईपाल्ने स्थानीय व्यवसायिक बन्न थालेका छन् । अहिले त्यहाँ दूध बेच्ने बढेका छन्, भनौं, दूध बेचेरै आम्दानी गर्ने र जीविका चलाउने, बचत गर्ने, घरघडेरी जोड्ने भइसकेका छन् ।
लकडाउन होस् वा अन्य समय बिहान–बेलुका धरान बजारतिर दूध बेच्न झर्ने बढेका छन् । नहुनेको पनि अहिले ५ वटासम्म त गाई त छ नै । तीमध्येका एक हुन्– प्रेमप्रसाद पराजुली । उनले विजयपुरमा ७ वटा गाई पाल्दै आएका छन् । यस्तै, डिग्री पास गर्ने पनि अहिले गाईपालनमा लागेका छन् । यति मात्रै होइन अहिले एक हजार वटासम्म गाईपालन शुरुवात गर्ने तरखरमा लागेका युवा पनि धरान–१४ मै छन् ।
यति मात्रै होइन विदेश पुगेर पनि केही गर्न नसकेपछि धरान फर्केर गाईपालनमा रमाउँदै घरघडेरी जोड्ने पनि विजयपुरमै छन् ।
‘डिग्री’ पास गरेर गाईपालनमा लागेका युवाको कथाः जागिरभन्दा यही नै फाइदा
यसअघि धेरै पढेका मान्छे गोठालो बनेका छन् भन्दै छरछिमेकले लखकाट्ने शब्द थिए तर अहिले धेरैजसो युवापुस्तालाई अमेरिका पनि यहीँ, अष्ट्रेलिया पनि यहीँ भएको छ । उनले अहिले घरमै गाईपालन थालेर यसैमा रमाउँदै आएका छन् ।
स्थानीय सुरेन्द्र घिमिरे ‘डिग्री’ पास हुनुभन्दाअघि धरानका बोर्डिङ स्कुल पढाउँथे । उनी र केही साथी मिलेर धरानको एउटा बोर्डिङ स्कुल लिए र चलाए पनि । उनले नै इटहरीम बसेर ‘कन्सल्टेन्सी’ पनि चलाए । तर जब डिग्री पास गरे उनी लगत्तै गाईपालनमा लागे । ‘यी पेशाले खासै काम काटेन’, फिस्स हाँस्दै उनले थपे, ‘जीविकाबाहेक केही नहुने, त्यही भएर गाईपालनमा लागें, बुढाबुढीको दैनिकी नै बनेको छ गाईको दूध दुहुनु, दानापानी दिनु हो र दूध बजारसम्म पुरयाउनु ।’
उनी बिहान कलेज पढाउन पुग्छन् । उनी धरान उच्चका अध्यापक हुन् । अनि उनी दिनभरी गाईगोठ र गाई स्याहार्दै बिताउँछन् । डिग्री सार्टिफिकेट लिएका घिमिरे अहिले भने ८ वटा माउ गाईसहित १४ वटा गाईवस्तुका मालिक छन् ।
केही वर्षअघि रहरले घरमै दूध खानको लागि भन्दै दुईवटा गाई पाल्न थालेका उनले अहिले यतिको संख्यामा गाईपालन थालेका हुन् । ‘डिग्री पढेपछि पशुपालन गर्न हुँदैन भन्ने धेरैको मानसिकता गढेको छ, खासमा म डिग्री नै पास गरेपनि व्यवसायिक हिसाबले नै लागिसकेको छु’, उनले थपे, ‘पछि अझै व्यवसायिक हिसाबले लाग्छु, गाईपालन थप्दै जान्छु ।’
उनको एउटा गाईले १५ देखि २० लिटर दूध दिने गरेको उनले बताए । ‘२० वटा गाई पाल्ने हो भने एक लाख आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘मैलेचाहिँ काम गर्ने कर्मचारीलाई दिएर र गाईलाई खुवाएको हिसाब गर्दा घरमै बसीबसी ४० हजार रुपैयाँ बचत गर्दै आएको छु ।’
नेपालीहरु विशेषतः घुम्ने कुर्सीमा बसेर काम गर्नुपर्ने र कुनै क्षेत्रमा लगानी गरेपछि तत्काल रिटर्न खोज्ने कारणले पनि बिग्रिएको उनी बताउँछन् । ‘नेपालीहरुको बानी के छ भने कि घुम्ने कुर्सीमा बस्ने जागिर पाउनु परयो, कि त कुनै क्षेत्रमा लगानी गरिएको छ भने तत्कालै खुरुखुरु पैसा आउन थाल्नुपरयो, यही कारणले नेपाली बिग्रिएका छन् र विदेश भौतारिन बाध्य छन् ।’
उनी कृषि क्षेत्रमै सम्भावना देखेर आफू यस क्षेत्रमा होमिएको बताउँछन् । ‘अहिले पनि एकथरी विद्धवान छन्, जसले भन्दै आएका छन्, नेपालीहरुले विदेश पुगेर रेमिट्यान्स नपठाउने हो भने यहाँ खानकै समस्या हुन्छ तर म असहमत छु, राज्यले पनि यसमै लगानी गरिरहेको छ, कृषिक्षेत्रमा सम्भव छ, मैले काम पाइनँ भनेर बजारमा डुक्रिनुको कुनै तुक छैन ।’ उनले थपे ।
उनले हाल जर्सी, हलिष्टिन र हरियाना जातका गाई पाल्दै आएका छन् । धरान पनि पशुपालनको हिसाबले उपयुक्त स्थान रहेको भन्दै उनले बेरोजगार युवा र विदेशबाट फर्किएका युवाहरुलाई पशुपालन उद्योगतर्फ लाग्न सुझाए पनि । ‘धरानमा दूध सुनसरीकै विभिन्न ठाउँदेखि धनकुटासम्मको आउँछ, मचाहिँ भन्छु धरान पनि दूधमा आत्मनिर्भर हुनुपर्छ ।
आफूले पशुपालन उद्योगका रुपमा गाईपालन थालेको र यसलाई बृहत रिसर्च सेन्टर बनाएर अघि बढ्ने सोंच पालेको उनले बताए ।उनले गाईपालनबाटै अहिले कार समेत किनिसकेका छन् । ‘अन्यतिरको पनि थपथाप र यसबाट आएको आम्दानीले भनै कार किनेको हुँ’, उनले हाँस्दै भने ।
महिलाको हिम्मत, पाल्छिन् १४ माउ गाई
‘टिरलिङ टिरलिङ’ गरी जोडले बज्ने घडीको आलराम घण्टीले बिहान ४ बजे नै विस्तारा छोड्न बाध्य तुल्याउँछ । आफूसँगै जीवनसाथी बिहानै गाईवस्तुको सरसफाइ, दानापानी गर्नमा नै व्यस्त हुन्छिन्, धरान–१४ (हात्तिसार क्याम्पस पश्चिम) की पुष्पा कटुवाल । उनले ‘पुष्पा गाई फर्म’ भनेर फर्म पनि दर्ता गरेकी छिन् ।
उनीहरु गाईपालन गर्ने किसानको जोडीका रुपमा आफ्नो पहिचान समेत बनाउन सफल भएका छन् । अहिले कटुवालको गाईफर्म भनेपछि धेरैले चिन्छन् । उनीहरुले अहिले १४ माउ गाई पालेका छन् । ‘यतिको संख्यामा गाई पालेर ६ जना बढीको परिवार धान्दै आएका छौं’, पुष्पा भन्छिन्, ‘अझ भन्ने हो भने केही रकम बचत समेत गर्दै आएको छु ।’
यस्तै, पुष्पाकै देवर १० वटा गाई पालेका छन् । उनले गाई पालेर घडेरी जोडेर घर समेत बनाइसकेका छन् । ‘विदेशमा केही कमाइनँ, उल्टै यताबाट घरपरिवारले पैसा पठाइदिएपछि म धरान फिरें’, हिक्मत कटुवालले भने, ‘तर गाई पालन थालेपछि केही सहज भएको छ, परिवारसँगै बसेर अहिले बचत पनि गरिरहेको छु ।’
घरबाटै धेरैजसो दूध बिक्री हुने गरेको उनले सुनाइन् । ‘प्रायः पियोर दूध घरबाटै बिक्री हुन्छ’, पुष्पाले भनिन्, ‘बाँकी रहेको दूध धरानका घर घर लगिदिन्छौं ।’ आम्दानीको ५० प्रतिशत खर्च हुने भएपनि ५० प्रतिशत बचत हुने गरेको उनको भनाई छ । ‘हामी खर्च सबै कटाएर अहिले फाइदामा छौं’, उनले भनिन्, ‘आम्दानी बढेसँगै उत्साह पनि बढेको छ ।’
खाडीमा भएन कमाइ: धरान फर्केर गाईपालन
आफ्नो घर-परिवार छोडी ‘मुग्लान’ भासिने, परदेशिने रहर कस्लाई पो हुन्छ र ? तैपनि परिवारको सुख र खुशीको सपना साँचेर, मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै हुन्छन् ।
आजभन्दा १० वर्षअघि विदेश पस्नेको त्यही लहरमा मिसिएका थिए धरान-१६ का रविन गौतम । उनले अहिले विजयपुर (पिण्डेश्वर क्याम्पसको जग्गा) मा गाईपालन गर्दै आएका छन् ।
उनी धेरै समय विदेशमा भौतारिरहे । १० वर्षजति विदेशमा बसेका उनी अफ्रिकामै बिताए केहीवर्ष । त्यहाँ केही नलागेपछि उनी नेपाल फर्केर फेरि साउदी, कतार पनि हान्निए । खाडीको चर्को घाम, गाह्रो काम । कमाइ कम । त्यसैले पनि उनको मन खाडीमा रम्न, बस्न मानेन । त्यसपछि उनी विदेशमा केही नहुने रहेछ भन्दै धरान फर्किए । ‘विदेशको चर्को घाममा बाहिर काम गर्नुपर्ने । कमाइ पनि खासै भएन । दुःख धेरै भयो । विदेश बसिरहन मन लागेन,’ उनले भने, ‘त्यसैले गाई पाल्ने सोचेर विदेश छोडी आफ्नै धरान फर्की आएँ ।’
परदेशले सिकायो श्रम र समयको महत्व
विदेशमा खासै कमाइ त भएन । तर त्यहाँको बसाइले उनलाई श्रम र समयको महत्व राम्रोसँग बुझाएको थियो । विदेशले सिकाएको पाठलाई धरान फर्कने बित्तिकै व्यवहारमा उतार्न थाले उनले ।
विदेशमै हुँदाखेरी गोठ दुपका लागि भन्दै एउटा गाई किने । विदेशबाट फर्केपछि लकडाउन शुरु भयो । अब के काम गर्ने त भन्नेमा उनी अन्यौल परे । तर उनले त्यतिबेलै अर्को गाई किने । दुईवटा गाईको दूध बेच्दै जाँदा माग बढ्दै गयो । त्यसपछि तीन, चार हुँदै १० वटासम्म गाई पाले । अझ यसलाई व्यवसायिक हिसाबले गर्नुपर्छ भन्दै उनले अहिले ४२ माउ गाई र ४ माउ भैंसी पाल्दै आएका छन् ।
विदेशमा कमाएको २० लाख र बैंकबाट ऋण लिएर उनले तीन महिनाअघिदेखि विजयपुरमा गाईपालन थालेका हुन् । अहिले उनले त्यहाँ एक करोड रुपैयाँ बढी लगानी गरेका छन् । ‘जग्गा लिजमा लिएको छु, संरचना बनाएको छु र गाई खरिद गर्दा करोड नाघिसकेको छ’, उनले भने, ‘विदेशले सिकाएको पाठलाई धरान फर्किएर व्यवहारमै उतार्ने कोसिस गर्दैछु ।’
दुःख गर्न सके गाईपालनबाटै राम्रो कमाउन सकिने, गुजारा चलाउन सकिने उनी बताउँछन् । ‘त्यसैले अहिले पनि यसै खेतीमा निरन्तर लागिरहेको छु,’ उनले भने, ‘एक हजार गाई पाल्ने लक्ष्यमा छु ।’
धरानमा बजार छ, समस्या धेरै रहेछ
धरान दूध बिक्रीका लागि सहज एरिया हो । यहाँ सहजै दूध बिक्री हुने उनले बताए । तीनमहिनाअघि गाई पाल्न थालेका उनलाई समस्या आइलाग्यो । पानीकै समस्याको कारणले गाईपालनमा समस्या परेको उनले दुखेसो पोखे । महिनामा एक लाखकै पानी किनेर खुवाउँदै आएको उनले सुनाए । ‘गाईपालनका लागि भनेर विशेष तरिकाले धारा जोडें जनताले विरोध गरे, मान्छेलाई पानी खुवाउन छैन, गाईलाई भन्दै विरोध गरेपछि पानी नै काटियो ।’ उनले दुखेसो पोखे ।
एक हजार गाई पाल्ने लक्ष्यका साथ लागे नेता
नेकपा एमालेका धरानका नेता भइसकेका हर्कजङ एभेङ पनि गाईपालनमा लागेका छन् । उनले एक हजार गाईपालन पाल्ने लक्ष्यका साथ अघि बढेको बताए । अहिले उनी गोठ बनाउने सुरसारमा मात्रै छन् । ‘लकडाउनले गर्दा गोठ बनाउनै सकिएन’, उनले भने, ‘तर एकदिन कम्प्लिट होला नि ।’ उनले शुरुमा ५० वटासम्म गाई लगाउने र भविष्यमा एक हजारसम्म गाई पाल्ने लक्ष्यका साथ आफू लागिपरेको बताए । ‘अहिले ५० वटासम्मलाई पुग्ने गोठ तयार हुँदैछ, थप्दै गएर एक हजारसम्म पाल्ने लक्ष्यका साथ लागिएको छ, हेरौं समयले कतिको साथ दिन्छ ।’
अधिकांशको गुनासोः अनुदान रकम पहुँचवालाले दुरुपयोग गरे
अनुदानको रकम भने स्वच्छ तरिकाले गाईपाल्नेले भन्दा पनि खुराफाती दिमाग भएकाहरुले खाइदिने गरेको गुनासो बढ्न थालेको छ ।
‘अनुदानको बीचमा मिलाउने, गोठ देखाउनेले पाउनेरहेछन्, दुईवटा गाई नै नभएकाले पनि ५० हजारदेखि करोडसम्म पाएको पाएँ, अर्काको गोठ देखाएर पनि खाएको देखियो, जसले दुःख गर्छ, त्यो कृषकले अनुदान नै नपाउने अवस्था रहेको अहिले आएर थाहा पाएँ’, रविनले भने, ‘साँच्चै राज्य छ भने यसो त गर्नु भएन नि ।’
सरकारले कृषि क्रान्तिका कुरा मात्रै गर्ने गरेको तर अनुदान अर्कैले खाँदा धेरै दुःख लाग्ने गरेको बताउँछिन् पुष्पा पनि । ‘मैले १६–१७ वर्ष भयो गाईपाल्न थालेको तर अहिलेसम्म कहाँबाट अनुदान आउँछ, कस्ताले पाउँछ भन्नेसमेत थाहा छैन’, पुष्पाले भनिन्, ‘राज्यको अनुदान गाईपाल्ने तर देखावटी गर्नेले मात्रै खाइरहेको भन्ने समेत चाहिँ सुनेकी छु ।’
सुरेन्द्रले राज्यले कृषि, पशुपालन क्षेत्रमा राम्रो ‘पोलिसी’ ल्याएपनि पहुँचवाला व्यक्तिले दुरुपयोग गर्दै जानु र यस्तो संस्कारको विकास हुँदै जानु दुःखद् रहेको बताए । ‘योचाहिँ पोलिसी लेवलमै कमजोरी छ, यस्तो कुरा सुधारिनुपर्छ ।’
तस्वीरः हाम्रो कोशी आवाज

गाईपालनमा लागेका सुरेन्द्र ।

तीन महिनाअघि गाईपालनमा लागेका रविन ।

गाईपालनमा हर्कजङ र पुष्पा ।

 

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend