Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होमस्टेका लागि ‘होस्टेमा हैंसे’ खोइ ?

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
होमस्टेका लागि ‘होस्टेमा हैंसे’ खोइ ?

नेपालको पर्यटन विकासमा करिब दुई दशकदेखि होमस्टे पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म र उत्तरमा लोमान्थाङदेखि दक्षिणमा माडीसम्म होमस्टे खोल्ने लहर चलेको छ । यो लहरमा समयमै उत्प्रेरणा र सहयोग विस्तार गर्न सकियो भने नेपालमा होमस्टे पर्यटन अझ मौलिक ढङ्गबाट सुव्यवस्थित भई अघि बढ्नेछ । यतिबेला होमस्टेका लागि ‘होस्टेमा हैंसे’ चाहिएको छ । उचित सहजीकरण र प्रवद्र्धनमा सघनीकरण चाहिएको छ । २०६७ सालमा नेपाल सरकारले पहिलोपटक ‘होमस्टे सञ्चालन कार्यविधि’ जारी गरेपछि नेपालको होमस्टे पर्यटन तिब्र गतिमा अघि बढ्न थालेको हो । अहिले देशका कम्तिमा सय ठाउँमा होमस्टे खुलेका छन् । नेपालको समग्र पर्यटकीय आवास प्रणालीमा होमस्टेले महत्वपूर्ण स्थान ओगट्न थालेको छ ।
ठूलाठूला होटल खुलेको खुल्यै छन् । हरेक प्रदेशमा अहिले होटल तथा रिसोर्ट खोल्ने लहर नै चलेको छ । सँगसँगै ग्रामीण भेगमा होमस्टे सञ्चालन गर्ने लहर पनि बढेको छ । पर्यटनप्रतिको बढ्दो चासो सर्वत्र देखिन्छ । पर्यटन विकास भनेको एकीकृत प्रयासको समग्र रूप भएकाले हवाइ तथा सडक यातायात (पहूँच), ‘आकर्षण’ वा सम्पदा पहिचान एवं विकास, अन्य पर्यटकीय सुविधा विस्तार, प्रचारप्रसार, बजारीकरण, जनशक्ति उपलब्धता, सरोकारवालाहरूको पहल र सक्रियता आदिको सन्तुलित तथा समन्वयात्मक विकास हुनु जरुरी ठानिन्छ ।

नेपालका होमस्टेले यहाँको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् । होमस्टेको विशेषता भनेकै सांस्कृतिक पहिचानसहितको आवास व्यवस्था हो । त्यसैले गर्दा नै लिम्बू, लेप्चा, राई, शेर्पा, गुरुङ, तामाङ, मगर, नेवार, थकाली, थारु, राजी आदि जाति बसोबास गर्ने क्षेत्रमा होमस्टे पर्यटनले गति प्राप्त गरेको हो । अहिले त कतिपय बाहुन–क्षेत्रीले समेत होमस्टे व्यवसाय मन पराउन थालेका छन् । हरेक पर्यटकले आफ्नो भ्रमणमा नयाँ नयाँ खानाका स्वाद लिन चाहन्छ, नयाँ नयाँ नाच हेर्न चाहन्छ, नयाँ नयाँ मानिससँग कुराकानी र भेटघाट गर्न चाहन्छ, नयाँ खालका दृश्य अवलोकन, अध्ययन गर्न चाहन्छन् । जातीय विशेषता सहितका सांस्कृतिक होमस्टेको भविष्य नै उज्ज्वल हुन्छ । चक्रीय प्रणालीमा आधारित पदमार्गमा हरेक रात फरकफरक जातजातिले चलाएका होमस्टेमा बस्न चाहने पर्यटक धेरै हुन्छन् । यो विशेषतामा पनि अब हाम्रो ध्यान जानुपर्ने देखिन्छ ।
होमस्टेलाई खालि आवासका दृष्टिले मात्र हेरियो भने त्यो हाम्रो भूल हुनेछ । यसमा समयमा नै सचेतता अपनाउनु पर्छ । विज्ञ संस्थाहरूले होस्टेमा हैँसे थप्ने भनेकै यस्तै कार्यको सहजीकरणका लागि हो । अद्यावधिक ज्ञान तथा सीप प्रदान, अवलोकन भ्रमणको अवसर, भाषिक क्षमता अभिवृद्धि, सम्पर्क सूत्र बढाइदिने कार्य, आधुनिक सूचना तथा सञ्चार प्रविधि विस्तारमा सहयोग, हरेक होमस्टे गन्तव्यलाई प्रादेशिक तथा राष्ट्रिय सूचना प्रणालीमा आवद्ध गरिदिने कार्य अहिलेका महत्वपूर्ण आवश्यकता हुन् ।

विश्वमा कमै मात्र पाइने बहुसांस्कृतिक पर्यटन नेपालमा सम्भव छ । किनकि हामीकहाँ ५९ जातजाति छन् । हरेकको एउटाएउटा विशेषता सहितको विशेष गन्तव्य बनाउँदा पनि यो सानो भूगोल भएको देश नेपालमा ५९ थरी (विश्वमै दुर्लभ) सांस्कृतिक होमस्टेका ‘विशेष गन्तव्य’ बनाउन सक्ने अवसर छ । ती गन्तव्यका पहिलो उपभोक्ता स्वयं नेपाली हुने छन् । गैरआवसीय नेपालीमा यसप्रति झन् बढी रुचि छ । त्यसपछि मात्र विदेशी आउनेछन् । किनकि एउटा जातिको अनुभव लिनासाथ नेपालीलाई पनि अर्को जातिको अनुभव लिन मन लाग्ने छ । यो पङ्क्तिकारले पनि हालसम्म गुरुङ, लिम्बू, तामाङ, शेर्पा, नेवार, थारु, बाहुन, चेपाङ आदि जातजातिको होमस्टे अनुभव लिने मौका पाएको छ । थप जातिको घरमा बसेर अनुभव लिने इच्छा अझै छ । मजस्तै सबै आन्तरिक तथा बाह्य पर्यटकको चाहना भनेको पनि त्यही नै हो । अहिलेका पर्यटकको चाहना र रुचि बुझेर होमस्टे सञ्चालनका नयाँ सम्भावना खोज्ने, खुलिसकेका होमस्टेहरूलाई प्रोत्साहन र सहयोग प्रदान गर्ने कार्य नै यथार्थमा ‘होस्टेमा हैंसे’ हो । यसका लागि संघ, प्रदेश, स्थानीय तीनै तहका सरकार र अन्य गैरसरकारी संस्थाहरू, सहकारी तथा निजी क्षेत्रको अहम् भूमिका छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend