Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लुट्न खोजिरहन्छन् व्यापारी !

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७८, बिहिबार
लुट्न खोजिरहन्छन् व्यापारी !

कोरोना महामारीमै पनि बजारमा उपभोग्य वस्तुको मूल्य बढेको छ । यहीबेला व्यापारीले अलिकति नाफा खान खोजेको जस्तो देखिन्छ । धरानको मामिलामा कुरा गर्ने हो भने गुनासो बढ्दो छ । धरानका राजनीतिक दलले नै मेयरलाई भेटी महङ्गी नियन्त्रण होस् भन्दै ज्ञापनपत्र पनि बुझाएका छन् । धरान उपमहानगरपालिकामा बजार अनुगमन गर्ने छुट्टै निकाय नै बनाइएको छ । तर भनेजस्तो र सोचेजस्तो अनुगमन नभएको गुनासो बढ्न थालेको छ ।
जब जब व्यवसायीमा चाडबाड आउँछ, महामारीलगायतका अन्य कुराहरु आउँछ व्यवसायी सल्बलाउन थाल्छन् । यस्तो अवस्थामा सामान्य अनुगमनलाई विशेष र फराकिलो ढंगले सुरु गर्नुपर्ने आवश्यकता हुन्छ । अहिले पनि बजारमा खाद्यान्नलगायत उपभोक्ताको दैनिक जीवनयापनसँग जोडिएका वस्तुमा भाउ बढेको गुनासो आइरहेको छ ।
अहिले कहीँकतै अनुगमन भएको पाइएको छैन । सरकारले समयमै सोच्न नसकेको उपभोक्ताको गुनासो छ । यो केही हदसम्म सही पनि होला । तर यस्तो महामारीका बेला बढी नै नाफा खोज्ने व्यापारीको मानसिकताले गर्दा वर्षेनी महङ्गी र कालोबजारीको समस्या जर्जर बन्दै गएको छ । सरकारले यसको सुक्ष्म ढंगले अनुगमन गर्नु आजको आवश्यकता हो ।
मिडियाले बजार अनुगमन भएन, महङ्गी बढ्यो भन्दा मात्रै तुरुन्तै अनुगमन शुरु गर्ने प्रवृत्ति हामीमा व्याप्त छ । पहिलेकोभन्दा अनुगमन केही सुधार भए पनि यसले दीगो पद्दति बसाल्न सकिएको छैन । कर्मचारीतन्त्रमा मात्रै होइन, सरकार, उपभोक्ता, राजनीतिक दल, व्यापारी सबैमा सकारात्मक सोच हुनुपर्छ । कर्मचारीले अनुगमन गर्दा राजनीतिक दल, उपभोक्ता, व्यापारीको साथ भयो भने मात्रै कालोबजारी रोक्न सकिन्छ । नत्र अहिलेकै अवस्था दोहोरिने हो । किनकी ठगिने सरकारी कर्मचारी होइन । उपभोक्ता नै हो । अनि उपभोक्ताले किनमेल गर्दा मूल्यसूची सोध्ने, मूल्यसूचीबारे जानकारी राख्ने, मूल्यसूचीभन्दा बढी मूल्य लिएको पाइए तत्कालै गुनासो गर्ने गरेमा पनि महङ्गी नियन्त्रण हुन सक्छ । सरकारले अनुगमन गर्ने, तर उपभोक्ता ठगिरहने हो भने त्यो सरकार र कर्मचारीको मात्रै समस्या होइन, उपभोक्ता स्वयम पनि चनाखो हुन आवश्यक छ ।
अर्को कुरा, संक्रमणकाल र अस्थिर राजनीतिका कारण उपभोक्तालाई ठगी गर्ने बानी पर्दै गएका व्यवसायीका कारण पनि वर्षेनी नागरिकमाथि ‘लुट’ चलिरहेको गुनासो छ । अनुगमनले मात्रै बजारमा महङ्गी रोक्न गाह्रो छ । महङ्गी नियन्त्रण गर्न अबचाहिँ उपभोक्ता नै सचेत हुनुपर्छ । अहिले दैनिक उपभोग्य सबै वस्तुको अनुगमन गरेर महङ्गी गर्नेमाथि कारबाही गर्ने दृढताका साथ सरकारले कारबाही गर्छ । यसमा उपभोक्ता, नागरिक, सरोकारवाला निकाय र व्यावसायीले पनि साथ दिन आवश्यक छ ।
कोभिड–१९ को महामारीकै बीचमा यतिबेला खानेतेलको मूल्य ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढेको जिकिरसहित व्यवसायीहरुले खानेतेलमा मूल्य अभिवृद्धि गरेका हुन् । एक लिटरमा २० रुपैयाँभन्दा बढी मूल्य बढेपछि आम नागरिकको भान्छा महङ्गिएको छ । तोरीको मात्रै नभएर सनफ्लावर र सोयाविन तेलको पनि मूल्य बढेको व्यसायीहरुले जनाएका छन् । त्यसो त, पछिल्लो समय खानेतेलदेखि बिस्कुट, स्याम्पुहरुको भाउ पनि बढेको छ । पछिल्लो समय भएको मूल्यवृद्धिले नछोएको कुनै क्षेत्र छैन । मूल्य बढ्दा मारमा उपभोक्ता परेका छन् । तर, सरकार भने यो विषयमा मौन छ ।
नेपालमा चाडबाडको छेकोमा बजार अनुगमन गरिन्छ । तर साँच्चिकै मूल्य नियन्त्रणको लागि हो कि कर्मकाण्डी ? प्रष्ट छैन । गलत गर्नेहरुले सोझै उन्मुक्ति पाउने र उपभोक्ता मारमा परिरहने परिपाटी अन्त्यतर्फ राज्यले ध्यान दिन नसक्दा नै कालोबजारी मौलाउने हो । अस्वभाविक मूल्यवृद्धि गर्नेहरुलाई कारवाही गर्न सक्नुपर्छ । यसको लागि उपभोक्ता पनि आफैं सचेत बन्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: जेष्ठ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend