आज गणतन्त्र दिवस । जुनसुकै व्यवस्था भएपनि आफैंमा नराम्रो हुँदैन । तर, उक्त व्यवस्थालाई चलाउने वा नेतृत्व गर्ने नेतृत्वपङ्क्तिमा भर पर्छ त्यो व्यवस्था कतिको सही थियो भन्नलाई । गणतन्त्र दिवसमा ल्याउन जनताले गरेको त्याग र बलिदानको उच्च मूल्याङ्कन गर्दै देशलाई समृद्धितर्फ लैजान दलहरूले केही प्रयत्न नगरेका होइनन् । तर, उक्त प्रयत्न अझै पर्याप्त छैन । गणतन्त्रको संस्थागत विकास हुन नसक्दा अझै नेपाली जनताले गणतन्त्र आएको अनुभूत गर्नै पाएका छैनन् । यो सन्दर्भमा गणतन्त्र औपचारिकतामा नै सीमित भइरहेको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एकदशक पूरा हुनै लाग्दा थुप्रै आशंकाहरू उब्जाएका होइनन् । दोस्रो जनआन्दोलन २०६२–०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आइएको छ ।
अहिले जनआन्दोलन २०६२–०६३ मा उर्लेको जनसागरको आकांक्षा कति पूरा भयो भन्ने प्रश्न उठ्न थालेको छ । २००७ सालदेखि नेपाली जनताको प्रजातन्त्रप्रतिको आस्था, विश्वास, संघर्ष अनि त्यसको प्राप्तिपछिको आकांक्षा गणतन्त्रसम्म आइपुग्दा पनि उस्तै छ । २०४६ सालमा प्राप्त प्रजातन्त्रसँगै प्राप्त अधिकारहरूको रक्षा र नेपाली जनताको आकांक्षाको पूर्तिका सवालमा सत्ता नेतृत्वमा पुगेका राजनीतिक दलहरूको अनुदार चरित्र, भ्रष्ट प्रवृत्तिका कारण त्यसको आधा दशकमै मुलुकमा सशस्त्र युद्ध शुरु भएको थियो । २०५२ सालदेखि शुरु भएको माओवादी जनयुद्धले मुलुकलाई आर्थिक रूपमा कमजोर तुल्यायो तर जनताका आकांक्षा र अधिकार प्राप्तिको उत्कण्ठालाई भने जागृत गराउन सफल भएको मानिएन ।
जनयुद्ध सही थियो वा थिएन र आवश्यक थियो वा थिएन भन्ने अहिलेको सवाल एउटा ठाउँमा रहनसक्छ तर जनयुद्धकै जगमा टेकेर मुलुकमा गणतन्त्र प्राप्त भएको बिर्सन सकिँदैन । सशस्त्र युद्ध गरेको शक्ति र संसदवादी दलहरूले भारतको नयाँ दिल्लीमा भारतकै मध्यस्थतामा गरेको १२ बुँदे सहमतिपछि चलेको जनआन्दोलन–२ को उपलब्धिका रूपमा २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरेका थिए । यही दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइँदै आइएको छ ।
२०६२-०६३ को आन्दोलनको उपलब्धि राजतन्त्रको अन्त्यमा गएर टुंगिएपनि अनेकौं राजाहरूको जन्म भएको आम अनुभूति छ । यतिबेला आन्दोलनमा मृत्युवरण गरेका, घाइते, अङ्गभङ्ग भएकाहरूको आत्मा रोइरहेका छ । मुलुक चरम राजनीतिक अस्थिरताको शिकार बनिरहेको छ । यस्तो अवस्थामा शुभकामना दिने प्रचलन भने हटेको छैन । गणतन्त्रको शुभकामना दिएर मात्र जनताको आंकक्षा पूरा हुँदैन ।
नेताहरूले गणतन्त्र दिवसका अवसरमा जुन उत्साह र उमङ्गका साथ जनताका सामु आफूले गरेका सकारात्मक कामको हुँकार गर्नुपथ्र्यो त्यसको विपरीत जनता सामु शिर झुकाउनुपर्ने अवस्था अहिले छ । जनताको जीवनस्तरले गणतन्त्रको खिल्ली उडाएको छ । यत्रो राजनीतिक उपलब्धिलाई सरकारले औपचारिक कार्यक्रममा नै सीमित राख्नु दुर्भाग्य हो । मुलुकमा चौतर्फी निराशा छाए पनि आशा अझै मरिसकेको छैन । जनतामा अझै आशा मरिसकेको छैन । कुनै न कुनै दिन मुलुकको अवस्थामा सुधार आउने अपेक्षा जनताको छ ।
तर, अझै जनताले चाहेको गणतन्त्र भने प्राप्त नभएको बताएका छन् । यो अवस्थामा दलहरूले जनताको भवना बुझेर ठोस् काम गर्न जरुरी देखिन्छ ।
आज आम नेपाली जनसमुदायका निमित्त यो गणतन्त्र दिवस हर्ष न विस्मातको हुन पुग्यो, किन ? गणतन्त्रप्रति जनता किन उत्साही बन्न सकेनन् ? के यो गणतन्त्र केही सीमित व्यक्ति तथा नेताहरुका लागि मात्र हो ? खै, गणतन्त्र आएपछि त मुलुकमा भ्रष्टाचारको अन्त्य भई सुशासन कायम हुन्छ । कानूनको सही पालना हुन्छजस्तो लाग्थ्यो । नेतादेखि कार्यकर्तासम्म अनुशासनको पालना हुनेछ । बेरोजगारको अन्त्य हुनेछ आदि आदि ।
यो गणतन्त्रको स्थापना नेपाली जनताले गरेको बलिदानबाट मात्र सम्भव भएको हो । नयाँ नेपालको निर्माण र परिवर्तनका खातिर जनताले आफ्नो शीरमा कफ्फन बाँधेर गोली र बारुदको समेत कुनै पर्वाह नगरी अगाडि बढे, आफ्नो मृत्युको समेत पर्वाह नगरी सुलीमै चढ्न परे पनि तयार भए, र संघर्षमा होमिएका थिए । उनीहरू आन्दोलनमा सरिक भई सयौं, हजारौं, व्यक्तिले आफ्नो रगत र पसिना बगाउन तयार रहे । यसरी सम्पूर्ण जनता युद्धमै होमिएपछि गणतन्त्रको आगमनलाई कसैले पनि छेक्न सकेन, अनि कसैको तागत र शक्तिले रोक्न पनि सकेन । जनताका आगाडि जुनसुकै शक्ति पनि झुक्नुपर्दछ भन्नेकुरा सडकमा ओर्लिएर जनताले देखाएर प्रमाणित समेत गर्न सफल रहे । सिँगो मुलकको शक्ति एक ठाउँमा केन्द्रित भएपछि आफूलाई शक्तिशालीका रूपमा स्थापना गर्ने राजतन्त्रले पनि भविष्यलाई हेरेर घुडा टेक्नु प¥यो । अनि नेपाली जनताले गरेको निर्णयप्रति कुनै असहमति नजनाई सहजरूपमा स्वीकार गरी गणतन्त्रलाई स्वीकार गरिएको ऐतिहासिक दिन थियो ।
समग्रमा, समय बलवान छ । यसको महत्वलाई बुझ्न नसक्दा कयौं शासकहरू आफैले खनेको खाडलमा आफै जाकिन पनि बाध्य भएका इतिहासहरु छन् । जनताले गरेको निर्णयलाई जुनसुकै शासकले पनि स्वीकार गर्न बाध्य भएका छन् । तसर्थ, यो गणतन्त्र दिवस पनि अब, सार्थक बनोस् । जनताका इच्छा र आकांक्षाहरु पूर्ण गर्नेतर्फ सधैँ क्रियाशील हुन सकोस् । कानूनी राज्य भएको अनुभूति सबै जनताले गर्न सकून । देशमा फैलिएको भ्रष्टाचारको निर्मूल भई सुशासनको अनुभूति जनमानसमा हुन सकोस् । हत्या, हिंसाजस्ता घटनाहरुको अन्त्य हुन सकोस । अन्यथा यो सरकारका विरुद्ध पनि जनता नै सडकमा ओर्लनुपर्ने परिस्थितिको सृजना नबनोस । यस्तै–यस्तै परिस्थितिको सृजना हुँदै जाने र सुशासनको अनुभूति हुन नसक्ने हो भने यो गणतन्त्रलाई पनि जीवन्तता दिन सकिँदैन कि ? तर, यस्तो कहिल्यै नहोस्, गणतन्त्र दिवसको शुभकामना ।
सरकार जनहितको स्वार्थभन्दा स्वेच्छाचारी ढंगले अगाडि बढेको देखिन्छ । गणतन्त्रको गरिमा मानिएको राष्ट्रपति संस्थाप्रति सरकार प्रतिष्ठा बढाउनेभन्दा विवादित बनाउन उद्यत छ । मुलुक शान्ति प्रक्रियाको बाटोमा हिँडे पनि द्वन्द्वका अवशेषहरु बाँकी नै छन् । इतिहास साक्षी छ ः शासकीय अहंकार र हठले उपलब्धि गुम्न बेर लाग्दैन । त्यसैले असन्तुष्ट पक्षहरुलाई पनि विश्वास दिलाएर सरकारले गणतन्त्र सुदृढ बनाउन सक्नुपर्छ, अनिमात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।