धरानः राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ।
बोर्डको शनिवार सम्पन्न बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौं,’ उनले भने, ‘अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा सञ्चालन हुन्छ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको पौडेलले बताए। जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको हो’ उनले भने, ‘अनुमति पाउने अपेक्षा छ ।’
बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समिति एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो । उनका अनुसार कक्षा-१२ को तत्काल हुँदैन। परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरिने जनाइएको छ ।
जेठ १३ गतेदेखि परीक्षा सुरु गर्ने गरी एसईईको प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । तर महामारीका कारण परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् ।
