धरानः शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसइई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न आइतबार शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो । गएकाे वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्राे त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुसार विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले मन्त्रालयले गएकाे वर्षकै विधि अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । अब मन्त्रिपरिषद् बैठकले पारित गरे पनि मूल्याङ्कन प्रक्रिया सुरु हुने छ ।
यस्तै, कोभिड–१९ ले रोकिएको कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए ।
उनका अनुसार कक्षा–१२ को तत्काल हुँदैन । परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ । यसका लागि पाठ्यक्रम संशोधन गरिने उनले बताए ।
परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो । सोहीअनुरूप कार्यदलले एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो ।
यस वर्षको एसइई परीक्षा दिनेमा करिब पाँच लाख विद्यार्थी रहेका छन् ।
