धरानः खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोकपमा विजयी सुरुवात गरेको छ । ‘ग्रुप अफ डेथ’ मानिएको समूह एफको पहिलो खेलमा पोर्चुगल ३-० ले विजयी भयो ।
पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन । दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो ।
खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि राफा सिल्भाको क्रस डिफेन्डरलाई लाग्दै गुरेरोको स्थानसम्म आइपुगेको थियो ।
अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे ।

Portugal’s Cristiano Ronaldo celebrates after scoring his second goal during the Euro 2020 soccer championship group F match between Hungary and Portugal at the Ferenc Puskas stadium in Budapest, Hungary, Tuesday, June 15, 2021. (Bernadett Szabo/Pool via AP)
इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए । युरोको ५ संस्करणमा खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको पहिलो हाफमा अवसर सदुपयोग नगरेपनि अन्त्यमा भने नतिजालाई न्याय दिए ।
हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् । ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । रोनाल्डोले यसअघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।
यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।





