धरानः स्पेनिस महारथी क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाड्ने भएका छन् । रियलले बुधबार विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने औपचारिक रुपमा घोषणा गरेको हो ।
३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाड्ने भएका हुन् । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
रियलले रामोसलाई बिदाइ गर्न बिहीबार एक कार्यक्रम आयोजना गरिने र त्यसमा अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि सहभागी हुने जनाएको छ ।
रामोस र रियलबीच सम्झौता नविकरणबारे लामो समयदेखि छलफल चलेपनि सहमति हुन सकेन । रियलले रामोसलाई एक सिजनको लागि सम्झौता दिएपनि रामोसले भने २ सिजनको सम्झौता माग गरेका थिए ।
स्पेनिस संचारमाध्यमका अनुसार नवनियुक्त प्रशिक्षक कार्लो एन्चेलोटिले रामोसलाई बस्न आग्रह गरेपनि उनले नयाँ चुनौतीका लागि आफू तयार रहेको बताए । आफ्नो मागअनुसार क्लबले सम्झौता नदिने भएपछि रामोसले अन्यत्र नै आफ्नो भविष्य देखेका हुन् । रामोसले चोटका कारण गत सिजन धेरै खेल गुमाएका थिए ।
रामोसले रियल म्याड्रिडका लागि १६ सिजनमा ६ सय ७१ खेल खेल्दै १ सय १ गोल गरेका छन्। उनले सो क्रममा ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप तथा ४ पटक क्लब विश्वकपसंगै २२ ट्रफी जितेका छन् ।
अन्तरार्ष्ट्रिय संचारमाध्यमहरुको रिपोर्टका अनुसार रामोसको लामो समयदेखि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसंग मतभेद र मनमुटाव बढ्दै गएपछि क्लब छाड्न लागेका हुन्।