धरानः युरोकप फुटबलमा आज (मंगलबार) दुई वटा खेलहरु हुँदैछन् ।
समूह चरण अन्तर्गत आज राति समूह डी का दुई खेलहरु हुनेछन्। जसमा इंग्ल्यान्डले चेक रिपब्लिकसंग भिड्दै छ भने क्रोएसियाले स्कटल्याण्डविरुद्व खेल्दै छ ।
इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । यी दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा हुनेछ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत नकआउटको मार्ग प्रशस्त गर्नेछ । तर, पराजित भएको अवस्थामा भने अन्य टिमको नतिजामा निर्भर रहनु पर्ने छ ।
पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
त्यस्तै चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । चेक रिपब्लिकलाई बराबरले समेत अर्को चरणको यात्रा सुनिश्चित हुनेछ ।
पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । हाम्पडेन पार्कमा हुने खेलमा दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । पहिलो खेलमा चेक रिपब्लिकसँग २-० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।