Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कप्तानको रिसले ‘एकराते माओवादी’ भइयो

हाम्रो कोशी आवाज
असार ९ २०७८, बुधबार
कप्तानको रिसले ‘एकराते माओवादी’ भइयो

हरेक मान्छेको जीवन जिउने क्रममा अनेकौं घटनाहरु घट्ने गर्छ । ती घटनाहरु कुनै सानातिना हुन्छन् जुन घटनाहरु तत्कालै विस्मृतिमा गई हाल्छ अर्थात् मान्छेले तत्कालै बिर्सन्छ । तर, कुनैकुनै घटनाहरु भने ठूला वा जीवनभर बिर्सिनै नसक्ने र भयङ्कर खालका हुन्छन् ।
त्यस्तै, यो पंक्तिकारको जीवनमा पनि एकपटक होइन, अनेकौं पटक र, अनेक खालका घटनाहरु घटेका छन् नै । हुन त म नेपालको नाम चलेको, नामी, ठूलो वा प्रसिद्ध, बुज्रुक अथवा कहलिएको लेखक वा साहित्यकार होइन । न त म आफ्नो नामको अगाडि प्रा., डा., प्राडा, ज्ञाता, विश्लेषक, विज्ञ, विद, वरिष्ठ आदिको फुर्को झुन्ड्याइने नामवाला व्यक्ति नै हुँ । त्यसैकारणले गर्दा पनि यो संस्मरण छापिएला भन्ने कुनै ग्यारेन्टी छैन । तापनि यसो …
कुरो विसं २०५८ साल कात्तिक–मङ्सिर महिनाको हो । त्यो बेला म पर्यटन मजदुर भएको नाताले ‘सि टु समिट’ नामक ट्रेकिङ एजेन्सीबाट ‘किचन ब्वाई’ पदमा काम गर्थेँ । (सो कम्पनी बन्द भइसक्यो भने, म ट्रेकिङ गाइड भएर पनि हाल ‘मुटु रोगी’ भएका कारण ट्रेकिङ फिल्डमा जान छाडिसकें । जे होस्, मेरो ट्रेकिङ गाइड लाइसेन्स नम्बर(४२४२ ‘ग्रेड ए हो ।’)
त्यो बेला हाम्रो साथमा १७ जना अष्ट्रेलियन पर्यटकहरु थिए । र, हाम्रो गन्तव्य थियो, (मनाङ जिल्लामा रहेको चुलु (स्थानीय भाषामा ‘जुलु’) पश्चिम चुली । हाम्रो यात्रा कास्की जिल्लाको बेगनास ताल भएर लमजुङ जिल्लाको खुदी निक्लिएर भुलुभुले, ङादी, बाहुनडाँडा, घेर्मु, जगत, च्याम्जे, ताल, धारापानी, बगर, लाटा मनाङ, चामे, पिसाङ, हुम्डे, भ्राका हँुदै भएको थियो । हाम्रो यात्रा तालिका २९ दिनको थियो ।
हाम्रो ग्रुप लमजुङको खुदीमा क्याम्प गरेर बसेको दिन ग्रुपमा रहेका प्रायः सबै पर्यटकहरुले प्रशस्तै सोमरस पान गरे । कतिसम्म भने, सबै पर्यटकहरु बेलुकी मातेर झल्लु भएका थिए । फलतः सधै बिहानको ८ बजे हिँड्ने रुटिन भएतापनि त्यो दिन भने हामीले ९ः३० मा मात्र हिँंड्यौं । भुलभुलेबाट हाम्रो यात्रा चीरपरिचित ट्रेकिङ रुट बेशीसहर मनाङको बाटो लाग्यो । एक त त्यो बेला देशमा तत्कालीन माओवादी र सरकारबीच द्वन्द्व भइरेहको बेला थियो । अर्को भनेको त्यो बेला अहिलेको जस्तो हातहातै मोबाइल त के टेलिफोन लाइनसमेत कताकती मात्रै थियो । त्यसैले जहाँ पायो त्यहाँ फोन गर्न पाइँदैन थियो । त्यसो भएकोले प्रायः सबै स्टाफहरुले धारापानी पुगेको दिन आ–आफ्नो परिवारलाई फोन गरे । मैंले पनि मेरी प्राणप्यारी बिनु (हाल स्वर्गे भई सकिन) लाई फोन गरें ।
हुन त इमान र जमानका साथ भन्नुपर्दा त्यो बेला यो पंक्तिकारमा नेपालका विभिन्न समुदाय, जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, लिङ्ग, क्षेत्र, भूगोल आदिबारे त्यत धेरै जानकारी थिएन (अहिले पनि छैन) । यो प्रसङ्ग किन उठाएको हो भने, त्यो ट्रेकिङमा न्युजिल्यान्ड भन्ने देशका एकजना अग्ला न अग्ला गोरा ‘राई’ पनि आएका थिए । ट्रेकिङ हाई क्याम्प हुँदासम्म उनको नाम ‘राई बूढा’ भएको थियो । अर्थात् उनलाई सबै नेपालीहरुले दिएको नाम ‘राई बूढा’ थियो । किनकि, ती बूढाको नामको पछाडि सर नेम (थर, उपथर) ‘राई’ रहेको थियो । ग्रुप लिडर ग्यारीका अनुसार उनी टुहुरो अर्थात् ओःफान, ओर्फान थिए । तापनि उनी पदीय हिसाबले भने न्युजिल्यान्डको सेनामा अधिकृत भएर रिटायर्ड भएका थिए ।
तर, दुःखको कुरो ती ‘गोरा राई बूढा’ चुलु पश्चिमको हाई क्याम्पमा बिहानको ३–४ बजेतिर मेरै काखमा मरे । आजभोलि जस्तो भए म ती गोरा ‘राई बूढा’ को पासपोर्टको फोटो कपी गरेर, मागेर जतनसाथ राख्थें, उनका बारे फिचर, लेख लेख्थें । तर, … र, इतिहासको कालखण्डमा ‘राई’ कुनै जात वा जाति होइन भनी थप प्रमाणित गर्ने आधार हुन्थ्यो कि ? नत्र त हालसम्म ‘राई’ जातै हो, जसले ‘राई’ जात होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत ‘राई’ छ ।’ भन्ने राई जातिवाला कामरेडहरुसँग बहस र छलफल गर्न थप प्रमाण वा भनौं बल पुग्थ्यो । यो प्रसङ्ग अहिलेलाई यतिमै सीमत गरौं ।
यसरी ‘गोरा राई बूढा’ ले को चुलु पश्चिमको हाई क्याम्पमा बिहानको ३–४ बजेतिर मेरै काखमा इहलीला समाप्त भएपछि उनको लास लिएर हामी सबै बेस क्याम्प झरयौं । उनको लासलाई हेलिकप्टरबाट काठमाण्डौ पठाएर हामी सबै हुम्डे आयौं । मौसम खराबीका कारण धेरै दिनसम्म मनाङको हुम्डेमा बसाइ भयो । हुम्डे विमानस्थलमा मौसम सफा नभए जहाज आउने निश्चित हुँदैन थियो । स्थिति कस्तोसम्म थियो भने, तत्कालीन शाही नेपाल वायुसेवा निगम (हालको नेवानी) को हवाइजहाज त आएन नै । निजी क्षेत्रको हवाइजहाज यति एरलाइन्स पनि मौसमको खराबीकै कारण ३–४ दिनसम्म आउन सकेन ।
त्यसपछि धेरै जसो पर्यटकहरुको स्वदेश फर्कने समय अभावका कारण पर्यटकहरुले अरु बढी दिन पर्खेर बस्न नसक्ने भएपछि महङ्गै भएतापनि १६ जना अष्ट्रेलियन पर्यटकहरु हेलिकप्टर चार्टर गरेर काठमाण्डौ फर्किए । हुम्डेमा चार दिन लामो बसाई भयो । धेरै दिनपछि फुर्सद पाएको हुनाले हामीले चार दिनको बसाइमा केही दिन २१ पत्ती अर्थात् ‘म्यारिज’ खेल्यौं । बसाईकै क्रममा एकदिन पर्यटकहरुले हामीलाई स्पोन्सर गरेर अंग्रेजी सिनेमा ‘मास्क अफ जोरो’ हेर्न नजिकैको घर (सिनेमा घर) लगे । पर्यटकहरु उडेपछि हामी नेपाली (स्टाफ) हरु पनि (११ नम्बरको यातायातबाट) पैदल हिँड्यौं । जब १६ जना पर्यटकहरु चउडे, तब हामी नेपाली (स्टाफ) हरुले पनि हतारहतार बाटो ततायौं । त्यो दिन रातसाँझ गरेर म र पेम्बा दाई ताल आइपुग्यौं । हिंँड्न सक्नेहरु अझ अगाडि गए । हिँंड्न नसकेकोले पेम्बा दाई र म तालमै बस्यौं । बाटामै पेम्बा दाईले ‘आज हामी सिम्पल ठाउँमा बसौं है भाइ’ भनेका थिए । मैंले पनि उहाँको कुरोमा सहमति जनाएको थिएँ । ताल आइपुगेपछि पेम्बा दाई सँधै बस्ने गरेको साधारण होटलमा बस्यौं । हामी त्यहाँ पुग्दा अर्कै घर (क्याप्टेन गेष्ट हाउस) का मालिक एवम् भारतीय सेनाबाट अवकाश प्राप्त गुरुङ थरका एकजना कप्तान पनि दारुपानी लिँंदै बसिरहेका रहेछन् । त्यो दिन ती कप्तान भर्खर लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर पुगेर आएका रहेछन् ।
उनले नेपालको ताजा घटनाक्रम पूरै थाहा पाएझैं गरी विभिन्न घटनाक्रमहरु भट्याउँदै थिए । खासगरी माओवादीलाई जताभावी गालीगलौज गर्दै विभिन्न घटनाक्रम सुनाउँदै थिए । उनी भन्दै थिए–साला माओवादीहरुको समूल नष्ट गर्न लागेको छ, सरकारले । अब यी आतंककारी माओवादीहरुले धर पाउने छैनन् । सारा देश आतंककारीहरुको विरोधमा छ । रुस, चीन, भारत, अमेरिका आदि देशहरुले पनि नेपाललाई सहयोग गर्ने भएका छन् । यो मनाङ जिल्लामा त झन् माओवादी भन्नेहरुको नामो निशाना छैन कतैबाट आए भने पनि गाउँका गाउँ मिलेर, बोरामा हालेर मस्र्याङ्दीमा फालिदन्छौं । माओवादी आए, नआएको हेर्न हामीले ठाउँ ठाउँमा मान्छे राखेका छौं । फेरि यो ठाउँमा माओवादीहरु आए भने भागेर जाने ठाउँ पनि छैन । साला, जो आए पनि यो देशमा बाहुन–क्षेत्रीको रजगज छ ।
फेरि पनि इमान्दारसाथ र नढाँटीकन भन्नुपर्दा त्यो बेलासम्म मलाई माओवादीका नेता देव गुरुङ मनाङ जिल्लाकै हुन् भन्ने थाहा थिएन । तर, धारापानीभन्दा तल र तालभन्दा माथिको बाटाको दायाँबाँयाका ठूला चट्टानी पर्खालहरुमा माओवादीहरुले विभिन्न राजनैतिक नाराहरु लेखेको भने आउँदा जाँदा देखेको थिएँ ।
त्यसैले मेरो मनमा खसखस भयो । के गरौं के गरौं भयो । ढुंगो जस्तो नबोली बसिरहन… ।
त्यसो त कप्तान साबको कुरो सुन्ने पेम्बा दाई र म मात्रै नभएर ३ जना भारी बोक्ने भरिया साथीहरु, स्थानीय केही मान्छे (केटा) हरु र, होटल धनीहरु पनि थिए । त्यसै त कप्तान, त्यसमाथि ‘खुकुरी रम’ को रन्को । उनले आपूmले जाने बुझेसम्मको अनेकथरी गफको फन्को लाउँदै थिए । फेरि कस्तो भने, म आपूm भरिया भएतापनि राजनीतिमा रुचि भएको मान्छे, त्यसमाथि प्रकाश ‘पूअर’, प्रकाश राई दीनदुःखी’, एमके राई ‘सुब्बा’, तेह्रथुमे जेठा, विहोशी ‘गाउँले’, दीनदुःखी राई, … आदि नामले जानी नजानी कविता, मुक्तक, गजल, फिचर, लेख, संस्मरण, नियात्रा लेख्ने भएकोले ती कप्तानको अगाडि मुख नखोली टुलुटुलु हेरेर बसिरहन सकिनँ । मैले सोचें–कप्तान निक्कै बाठा रहेछन् । राजनीति धेरै जाने, बुझेका रहेछन् । अब यिनीसँग राजनीतिक गफ गर्न बडो मज्जा आउँने भो !
तर, मेरो सोच ठ्याक्के उल्टो भयो । किनभने, जब मैंले कप्तान सा’बसंँग गफ गर्ने मनसायले ‘माओवादीहरु त्यति सजिलैसँंग कसरी निखे्रलान् र ? अनि सरकारले प्रचण्ड र बाबुरामहरुलाई त्यति सजिलै पक्राउ गर्न सक्छ र ? भनी नसक्दै कप्तान साबले प्याच्च सोधे, ‘ए, तँ पनि माओवादी होस् ? मैंले–होइन, संसारको इतिहास नै त्यस्तै छ । भारतमा पनि त्यतिका विद्रोहीहरु ज्यूँका त्यूँ छन् । भनी भारतमा विद्रोह गरी रहेका जति पनि संघसंगठनहरु थिए (अभैm पनि छन्), ती सबैको नामहरु बताएँ । उनले फेरि भने–तँ जस्तै अबुझहरुले गर्दा त यस्तो हुन्छ, देशको हालत । मैंले कुरो अन्तै मोड्न भारतमा बाले कुन–कुन युद्ध लड्नुभयो ? भनी कप्तान साबलाई प्रश्न गरेँ । तर, मैंले उनलाई च्यालेञ्ज गरे जस्तो लागेछ क्यारे ? कप्तान साबले ‘ए केटा हो पुलिस बोलाव त । पुलिस …पो भन्न थाले । ‘होइन बा, म माओवादी होइन । नपत्याए हेर्नुस् मेरा परिचयपत्रहरु’ भनी मसंँग भएभरको परिचयपत्रहरु देखाएँ ।
तर, उनले केटाहरुलाई पुलिस बोला भन्न छाडेनन् । उनले पुलिस बोला भन्न नछाडेका मात्रै होइनन्, तिमीहरुले पुलिस नबोलाउने भए म आपैm जान्छु भन्न थाले । ती कप्तान त्यसरी माओवादीप्रति बढी नै आक्रामक अथवा भनौं नकारात्मक हुनुको कारणचाहिँ उनको साक्खै दाजुको छोरीको बुढो अर्थात् भतिजी–ज्वाइँ बागलुङमा भएको माओवादी आक्रमणमा परी मरेका रहेछन् । त्यसैले उनलाई माओवादी भन्ने शब्द सुन्ने बित्तिकै रिसको पारो चढ्ने गरेको रहेछ । त्यसमाथि त्यो दिन कप्तान सा’बलाई खुकुरी रमले झ्याप्पै पारेको थियो । जसको फल अन्ततः मैले भोग्नुपरयो ।
कसरी भन्नुहोला । कप्तानले मेरो परिचयपत्र हेर्ने बहानामा मसँंग भएको नगदमध्ये एकसय झिकेर नजिकै बसेको केटालाई राख्न लगाए अनि भने–यो पैसाले रक्सी खानुपर्छ । त्यो पैसा राख्न ती स्थानीय साथीले मानिरहेका थिएनन् । उनले गुरुङ भाषामा केही भन्दै थिए । अपजसे दिन अथवा त्यो दि नमेरो खप्परमा ‘श्री’ लेखेको दिन परेर होला, किनभने, मेरो साथमा डायरी पनि थियो । जुन डायरीमा सरकार–माओवादीबीच वार्ता भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्यहरु र, सहजकर्ताहरुको नाम पनि टिपेर राखेको थिएँ । त्यो पनि बीबीसी नेपाली सेवा सुनेर । त्यसरी मैले आप्mनो डायरीमा सरकार–माओवादीबीच वार्ताभएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्यहरु र, सहजकर्ताहरुको नाम टिपेर राख्नुको कारण भने, त्यो बेला बीबीसी नेपाली सेवाले हरेक हप्ता आफ्ना स्रोताहरुलाई विभिन्न प्रश्नहरु सोध्ने र विजयी घोषित भएका स्रोतालाई पुरस्कार पनि दिने गथ्र्याे । त्यही पुरस्कार र, खासगरी विजेता घोषित मात्रै भए पनि बीबीसी नेपाली सेवाका विश्वभरिका स्रोताहरुमाझ आफ्नो नाम प्रकाश राई ‘दीनदुःखी’ (स्मरण रहोस, सुरुमा प्रकाश पुअर, अंग्रेजीमा पुअर भन्नाले नेपालीमा गरिब भन्ने अर्थमा त्यसपछि २०६१–०६२ सालसम्म म प्रकाश राई ‘दीनदुःखी’ भनेर लेख्थें भने, अझपछि खासगरी राई जात वा जाति नभएर पदवी, पगरी मात्रै रहेछ भन्ने बुझे, थाहापछि प्रकाश कुलुङ ‘दीनदःुखी’, निनामहाङ कुलुङ किरात, निनाम लोवात्ती कुलुङ हुँदै २०६२–०६३ को परिवर्तनपछि र, जातीय स्वपचिान के हो ? भन्ने सम्बन्धमा प्रष्ट भएपछि नागरिकतामा जे भए तापनि लेख्ने, पढ्ने नाम पनि मातृभाषामा किन नराख्ने ? भनेर हाल निनाम कुलङ ‘मंगले’ भनी लेख्दै आएको छु ।
हुन पनि ‘मगर’ भनेभैंm ‘कुलुङ’ मेरो जाति हो भने ‘पुन’ भनेभैंm ‘लोवात्ती’ मेरो थर हो । ‘राई’ चाहिँ काजी, बडाकाजी, चौतरिया, मीर सुब्बा, सुब्बा, जिम्मावाल, मुखिया, दिवान साहब, चौधराई, देवान, खरदार, सरदार, कपरदार, प्रधानन्यायाधीश, न्यायाधीश, मुख्यसचिव, सचिव, प्रधानमन्त्री, मन्त्री आदि भनेभैंm विगतमा हाम्रा पिता, पुर्खाहरुका पनि ठालू र धनीमानीहरुले केन्द्रीय सरकारसँग स्थानीयस्तरमा शासन गर्ने अधिकारका लागि किनेर (निश्चित रकम, ठेकी, बेठी, बेठबेगार तिरेर) पाएको पदवी, पगरी मात्रै हो ।) भनी प्रचारप्रसार हुने र, ‘आपूm प्रसिद्ध हुने’ लोभले गर्दा भाग लिने गरिन्थ्यो ।
तर, अति जान्ने सुन्ने (अजासु) कप्तान सा’बलाई यस्तो कुरो के थाहा ? अतः उनका लागि ‘के खोज्छस् कानो आँखो’ भनेझैं भए छु म । किनभने, उनले कृष्णबहादुर महराको नामलाई मात्रै कोड गरेर ‘ए, केटा हो सुन्दैनौं ? यो सांँच्चैको माओवादी रहेछ, जाओ, छिटो पुलिस बोलाऔ’ भन्न थाले । छेउमा भएका स्थानीय साथीहरु अभैm पनि गुरुङ भाषामा केही भन्दै पुलिस बोलाउन जान मानिरहेका थिएनन् । सायद उनीहरु अभैm पनि म प्रति सहानुभूति राख्दै थिए । उता कप्तान साबले मलाई ‘ल तँ माओवादी होइनस् भने आगो छोएर म माओवादी होइन भन् त’ भन्न थाले ।
मैंले त्यसै गरेँ । किनभने, न म कहिल्यै माओवादी थिएँ, न त म त्यसपछि पनि कहिल्यै माओवादी भएँ । तैपनि ‘पुलिस बोला…, तिमीहरु बोलाउँदैनौ भने म आफैं बोलाउँछु, के हेरिरहेका छन् यी पुलिसहरु ?’ भनेर कप्तान साब कराइरहे । त्यतिखेर तालमा प्रहरीको सबैभन्दा ठूलो मान्छे भनेको हवल्दार रहेछ, सईअसईहरु मनाङ जिल्लाको सदरमुकाम चामे गएका रहेछन् ।
‘आफ्नो ठाउँमा लुते कुकुर पनि… ’ भन्ने त नेपाली उखान नै छ । त्यसमाथि तालमा कस्तो रहेछ भने, पुलिस मात्रै होइन, त्यहाँको चरो, मुसो, किरा, फट्याङ्ग्रा, ढुंगो, माटो, पातपतिङ्गरसमेत कप्तान सा’बको इशारामा नाच्ने । अतः विचरा ती निरीह पुलिसहरुले मात्रै के नै गरुन् । त्यसैले त्यहाँ भएका ५–६ जना पुलिसहरु सबै आएर मलाई केरकार गरे । मानौं म साँच्चै ठूलो आतंककारी नै हँु । अझ नेपालको पुलिस न हुन्, उनीहरुले जताभावी अपशब्द प्रयोग गर्दै मलाई झाप्पु हान्दै गरे । कोही पुलिस भन्छन्, ‘साला माओवादी, तेरो नेता कृष्णबहादुर महरा मरिसक्यो ।’ कोही प्रश्न गर्छन्, ‘साला मा… र … को छोरा कहाँ–कहाँको आक्रमणमा भाग लिइस् भन् ?’ मसँग ‘म माओवादी होइन’ भन्नुबाहेक अरु जवाफ थिएन । त्यसैले भने, मेरा त्यत्रा परिचयपत्रहरु छन् हेर्नोस्, म माओवादी होइन’ । तर, नेपालका पुिलस न हुन्, उनीहरु मा … र … को छोरा ‘बट्ता बोल्छस् ?’ भन्दै झाप्पु र मुक्का प्रहार गरे । यसरी एकजना ‘अजासु’ कप्तान साबको रिसले गर्दा म ‘एकराते माओवादी’ भएँ । अर्थात् पुलिसहरुले मलाई चारैतिर घेरेर चौकी लगे । अनि मेरो हातखुट्टा बाँधेर रातभरि राखे । मानौ म ‘बिन लादेन मात्रै होइन, दिन लादेनको बाबु अझ बाजे नै हुँ ।
भाग्यवश राति मलाई कुर्न बसेको पुलिस दाजै अलि बढी नै दयालु रहेछन् । कहाँ भर्खरै मलाई आमचकारी गाली गर्दै भर्कुने पुलिस, कहाँ न्यानो टोपीसमेत खोजेर मेरो टाउकोमा ओढाइदिने दयालु पुलिस दाजै ? तर, रातभर चलमल गर्न र हलचल गर्न नपाएर… । त्यसमाथि डोरी हातको नलीहाडमै पर्ने गरी बाँधेछन् । मध्यरातमा आएर केही पुलिसहरु भन्दै थिए–साला माओवादी, र… को छोरा, अब तँ भोलि बिहान चामे जान्छस् । त्यसपछि देख्छस् तेरो हालत के हुन्छ ? साला मा … ।
त्यो रात मलाई वास्तवमै साह्रै दुःख लाग्यो । जिन्दगीमा पहिलोपटक मैले मेरी बुढी (श्रीमती) बिनु र छोरी नेराबुङलाई सम्झें । छोरो निनामहाङ जन्मिसकेको थिएन । मन थामी नसक्नु भएपछि क्वाँरक्वाँर्ती रोएँ । मेरो सुरक्षाको लागि ड्युटीमा खटेका भगवानरुपी दयालु पुलिस दाजैले झर्किदै ‘नरो भाइ, नरो, भोलि बिहान छाडिहाल्छ । उनले कसरी छुट्ने ? भनी आइडा पनि सिकाए । उनले भने, हवल्दार सा’बलाई रक्सी खाएको सुरमा के–के बोलेछु, के के ? त्यसैले एकचोटीलाई माफ पाउँ भन अनि छोडिदिन्छ ।’ मैंले पनि त्यही सोचिरहेको थिएँ । तर, ‘रातभर हातको नलीहाड दुखेर सहनै सकिनँ, त्यसैले बीचबीचमा दयालु पुलिस दाजैलाई खोल्दिनोस् न … भन्छु’, विचरा ती पुलिस दाजैको पनि आप्mनो कैदी(बन्दीलाई सहयोग गर्ने सीमा होला । फेरि दया, माया र … भएर मात्रै भएन, उनको पनि जागिरको सवाल छ । त्यसैले त घरिघरिको मेरो अनुरोधलाई लत्याउँदै र रिसाउँदै भन्छन्, ‘नकरा है नकरा, मैंले तिम्रो लागि गर्न मिल्ने र सक्ने जति सबै गरिसकेँ ।’
जसोतसो बिहान भयो । मैले मुत्न (पिसाब फेर्न) जान्छु, प्लिज खोल्दिनु न दाई भनी आग्रह गरें । अर्कोचाहिँ पुलिसले साला माओवादीलाई खोल्दे भनेर आदेश दिएपछि बल्ल मेरो हातखुट्टाको डोरी खोले । त्यसपछि पुलिसहरु, गाउँलेहरु र कप्तान बिहानै भेला भए । पुलिसहरु र, कप्तानले फेरि पनि मेरो डायरी र परिचयपत्र चेक गरे जस्तो गरे । र, त्यो कृष्णबहादुर महराको नाम किन ? लेखेको भनी पुनः हबल्दारले सोधे । मैंले बीबीसीले हरेक हप्ता सोध्ने प्रश्नमा सोधेको थियो त्यसैले … मात्र के भनेको थिएँ– ‘साला र…डीको छोरो, मा….ने भन्दै फेरि एक थप्पड हान्यो ।’
जे होस्, त्यसपछि हवल्दारले कप्तानलाई बाहिर लिएर गए । भित्र आएपछि हवल्दारले ५ सय रुपैयाँ क्लबलाई चन्दा सहयोग दिने गरी कागज गरेर छाड्नु, साला माओवादीलाई भनी घोषणा गरे । बूढो कप्तानले पनि लोलीमा बोली मिलाउँदै ‘मैंले त नागरिकले सरकारलाई गर्ने सहयोग गरेको हुँ । तर, यसको साथमा माओवादी भएको प्रमाण केही रहेनछ । नत्र यसलाई न त चामे जान दिन्थेँ, न त छोड्न दिन्थेँ । बोरामा हालेर मस्र्याङ्दीमा हालिदिन्थेँ ।’ भनी आफ्नो जिन्दगीमा ठूलै सुकाम गरेभैंm स्वघोषणा गरे ।
त्यसपछि मैले रक्सी खाएर होहल्ला गरेकाले अनुसन्धान गरी छाडिएको आदि आदि भन्ने व्यहोराको पत्र लेखी सही गराएर छाडे । त्यही बेला पेम्बा दाइले ‘कहाँ यो जस्तो राम्रो मान्छे छैन, जाँडरक्सी नै खाँदैन’ पो भन्न थाले । मैंले हत्तपत्त आँखा झिम्क्याएर ‘त्यही हिजो तपाईं अगाडि हिँंड्दा मालिङ्गोघारीमा दुई गिलास खाएको थिएँ’ भनेर चलाखी गरें । त्यस्तो ‘चलाखी’ नगरेको भए यो माओवादी नै रहेछ भनेर नछाड्न सक्थ्यो । जुन कुरो पेम्बा दाइलाई अलि तल आएपछि भनें ।
यसरी एक जना ‘अजासु’ कप्तान साबको रिसले गर्दा जिन्दगीमा मैले नक्कली र ‘एकराते माओवादी’ भएर कठ्याङ्ग्रिदो रात कटाएँ ।
थप केही जानकारी चाहिएमाः९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com

प्रकाशित मिति: असार ९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend