धरानः सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।
सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिए । केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।
यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १५ सम्म प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। हाल विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य सुरु गरेका छन्। असार २० भित्र आन्तरिक मूल्याङ्कन सक्न बोर्डले विद्यालयहरूलाई समयसीमा दिएको छ।
स्कुल कहिले लाग्ला ?
निषेधाज्ञा केही खुकुलो भएको छ । विद्यालय सञ्चालन गर्नेबारे केही निर्णय भएको छैन । वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएसँगै सबै शैक्षिक पठनपाठन बन्द भएको छ । पठनपाठन बन्द भएको करिब दुई महिना भएको छ ।
भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्ने सम्भावना नभएपछि सरकारले वैकल्पिक विधिबाट विद्यालयहरूलाई पढाइ सुचारु राख्नु भनेको छ । तर यसको प्रभावकारिता देखिएको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्यालय सञ्चालन विषयमा अन्योल छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले नभई यो निर्णय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले लिएपछि मात्रै भन्न सकिने बताए ।
‘बाहिर जिल्लामा डिसिएमसी र स्थानीय तहले छलफल गरी जोखिम कम भएमा विद्यालय सञ्चालन गर्न सक्छन, यो निर्णय गर्ने जिम्मा उनीहरूलाई छ,’ शर्माले भने ।