Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका निजी तथा सरकारी स्कुलमा हप्ताको एकपटक सर्वजातीय पहिरन लगाउन प्रोत्साहन गरिनुपर्नेमा जोड

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
धरानका निजी तथा सरकारी स्कुलमा हप्ताको एकपटक सर्वजातीय पहिरन लगाउन प्रोत्साहन गरिनुपर्नेमा जोड

धरानः धरानमा रहेका सरकारी तथा निजी विद्यालयमा हप्ताको एकपटक जातीय पहिरन लगाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।
धरान उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिको बैठकमा यो कुरा उठेको हो । ‘धरान शहरलाई आदिवासी जनजातिको शहरको झल्को दिनको लागि हप्ताको एकदिन विद्यार्थीहरुलाई जातीय पहिरन लगाउन प्रोत्साहन गर्नको लागि नगरपालिकामार्फत् शिक्षा महाशाखामा पहल गर्ने निर्णय भएको छ’, अभियन्ता स्वर्णिमहाङ फोम्बोले भने ।
विशेषतः साना साना नानीहरुलाई पनि पहिचान झल्किने खालको के गतिविधि गर्ने भन्नेबारेमा छलफल हुँदा सो निर्णय भएको उनले जानकारी दिए । ‘विद्यालयले हप्तामा एकपटक पोशाक परिवर्तन गर्ने चलन छ’, उनले भने, ‘त्यस्तै यो पहिरनलाई पनि प्रोत्साहन गर्न सके राम्रो हुन्थ्यो र विद्यार्थीले पनि आफ्नो संस्कार, संस्कृतिबारे जान्ने अवसर हुन्थ्यो कि भन्ने हो ।’

बहुजातीय शिक्षालय स्थापना हुने
धरान उपमहानगरपालिकाले बहुजातीय शिक्षालय स्थापना गर्ने जनाएको छ । धरान उपमहानगरपालिकाका आदिवासी जनजाति विकास समितिका संयोजक नरेशकुमार इवारमले धरानले नयाँ नयाँ काम गरिरहनुपर्छ भनेर आगामी आव २०७८–७९ को नीति तथा कार्यक्रममै समेटेर लगिएको बताए । उनले मातृभाषा अध्ययन गरिने शिक्षालयकोरुपमा विकास गर्न बहुजातीय शिक्षालय स्थापना गरिने बताए । ‘धरानस्थित बहुजातीय सङ्ग्रहालयमा कोठाको व्यवस्थापन, शिक्षकलाई तलबको व्यवस्थापन गर्दै त्यहाँ पठनपाठन गर्ने भनेर लागेका छौं’, उनले भने, ‘शिक्षालयमा मातृभाषा अध्ययनको लागि मात्र नभई विभिन्न जातजातिको रितिथिति, सँस्कृति, रहनसहन, परम्परा र इतिहास अध्ययन गर्ने प्रतिष्ठानकोरुपमा विकास गरिनेछ ।’
कक्षाकोठामा शुरुवातदेखि भाषा अध्यन गराई मातृभाषामा दक्ष बनाइनेछ भने कक्षा कोठा सबै जातजातिहरुको साँस्कृतिक पहिचान झल्कने अनुसार निर्माण हुनेछ । शिक्षालयमा पढ्ने विद्यार्थीहरुको आर्थिकस्तर न्युन भएमा उनीहरुलाई सामुदायिक विद्यालयमा निःशुल्क अध्ययन गर्न छनौटको आधारमा सिफारिश गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend