Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युरोकप नकआउट चरणः पोर्चुगल र बेल्जियम, नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
युरोकप नकआउट चरणः पोर्चुगल र बेल्जियम, नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै

धरानः जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको नकआउट चरण अन्तर्गत आज नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्नेछन्।
हंगेरीको पुस्कास एरिनामा हुने आजको पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जीत निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ।
नेदरल्यान्ड्सले समूह सीको विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जीत निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
यता चेक रिपब्लिकले भने समूह डीबाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो ।
स्पेनको सेभियामा आजै हुने अर्को खेलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जीत निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ।
बेल्जियम समूह बीको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो । बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो। दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २–१ ले हराएको थियो। यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको थियो।
यता पोर्चुगल भने समूह एफ बाट उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुगेको थियो । साविक विजेतासमेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो।
बेल्जियम र पोर्चुगलबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ। पोर्चुगलले बेल्जियमविरुद्ध ३ जीत निकाल्दा २ खेल बराबरी खेलेको छ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend