धरानः अतिरिक्त समयमा पुग्दा कुल ८ गोल भएको खेलमा तीन पटकको युरोपेली च्याम्पियन स्पेनले क्रोएसियालाई पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कोपनहेगनस्थित पार्केन रंगशालामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित बनायो ।
स्पेनलाई जित दिलाउन पाब्लो सराबिया,सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक-एक गोल गरे ।
क्रोएसियाका लागि मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक-एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो ।
तर सुरुवाती अग्रता क्रोएसियाले बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।
तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका हुन् ।
खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् । डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो ।
खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।
८५ औं मिनेटमा क्रोएसियाका मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका खेलाडी मारियोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो । खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरे ।
त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए । यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ ।
स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रहयो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन ।
अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।