Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वको यो सोताङ गाउँ

हाम्रो कोशी आवाज
असार १७ २०७८, बिहिबार
पूर्वको यो सोताङ गाउँ

पूर्व नेपालको सोलुखुम्बु जिल्लाको सोताङ गाउँमा आदिमकालदेखि बसोबास गरिआएको राईहरू राताप्खु पुर्खाको सन्तान हुन् । राताप्खुका सन्तानको उद्गमथलो सोताङ गाउँ हो । सोताङ भूमिको नामकरण राताप्खुले गरेको हो । राताप्खु पुर्खाले सोताङ भूमिमाथि पाइला टेक्ने क्रममा सत्तो शब्द प्रयोग गरेका थिए ।
सत्तो शब्द कालान्तरमा अपभ्रंश भएर सोत्तो भयो । सोत्तो शब्दलाई नेपालीकरण गर्दा सोताङ भनिएको हो । सोताङ राई जातिको भाषामा अहिले पनि सोताङ शब्दलाई सोत्तो नै भन्ने गरिएको छ । सोताङ इलाकामा रहेको बन फाडेर मानव बसोबास र खेतीपाती गर्न योग्य भूमि बनाउने पहिले व्यक्ति राताप्खु थिए ।
उनले रा चालेइ (धानको बीउ) ल्याएर धानको खेती गर्ने सुरुवात गरेका थिए भन्ने श्रुति इतिहासमा पाइन्छ । सोताङ जातिले पुज्ने कुलदेवता र रीतिथिति राताप्खुले सिर्जना गरेका थिए । सोताङ जातिमा राताप्खु शीर्ष पुरुष थिए । सोताङमा विकास भएको राई जातिको संस्कार, संस्कृतिलगायत सम्पूर्ण कुरा सोताङमा सृष्टि गरिएको मानिन्छ । तथापि सोताङवासी राईले आफ्नो परिचय सोताङ नभनेर नाछिरिङ भन्ने गर्दछन् ।
रावाखोलाबाट बसाइँ सरेर राताप्खु वर्तमान सोताङ गाउँ आएको मौखिक इतिहास रहेको छ । तर रीतिथिति सम्पन्न गर्दा बखान गरिने रिसिवामा रावाखोला भूमिलाई पुकार्ने गरिएको पाइँदैन । नागी र अन्य कुलदेवताको पुजाआजामा सोताङ क्षेत्रको भूभागमा पर्ने बिदेल्खु र सोबोलु बीचमा अवस्थित ठाउँहरू मात्र पुकार्ने गर्दछन् । यसको अर्थ संस्कार संस्कृतिमा बखान गरिने रिसिवाले सोताङ राईको कुलदेवता रावाखोलामा उत्पत्ति भएर रावाखोलाबाट मान्दै ल्याएको देखिदैन ।
सोताङ जातिले सोताङमा बसोबास गर्दा नाछिरिङ भन्ने गर्दछन् । सोताङ गाउँ छाडेर लाखापाखा लागेपछि नाछिरिङको सट्टा सोताङ भन्ने गर्दछन् । यसरी उद्गम भूमि सोताङ भएको राई जातिले नाछिरिङ र सोताङ दुईटा शब्द प्रयोगमा ल्याउने गरेको पाइन्छ । सोताङ गाउँमा रीतिथिति गर्दा सोताङ र नाछिरिङ दुवै शब्द प्रयोग गर्ने गरिएको पाइँदैन । बरु सोताङ र नाछिरिङ शब्दको सट्टा पुरुषलाई नास्मी र स्त्रीलाई योक्मा भनेर रीतिथितिमा पुकार्ने गर्दछन् । नास्मी शब्दको प्रयोगले सोताङ राई जातिको सृष्टि पुर्खा नास्मी भएको पुष्टि गर्दछ । सोताङ र नाछिरिङ मध्ये कुन शब्दले वास्तविक पहिचान दर्शाउछ ? यस विषयमा सोताङ–सोताङबीच बहस गर्न आवश्यक रहेको देखिन्छ ।

सोताङ, पिल्मोङ, राखाली, पाराली, बाङदेल, दिम्माली आदि नाछिरिङको सन्तान भएको मानिन्छ । राई, लिम्बू, सुनुवार किरातको सन्तान हो । तर कोही आफ्नो पहिचान किरात लेख्न तयार भएको पाइँदैन । प्रायः जाति र भाषाको सम्बन्ध भूमिसँग जोडिने गर्दछ । जातिले बसोबास गरेको थातथलोको नामलाई आधार बनाएर भाषा र जातिको नामकरण गरिएको पाइन्छ ।
यसको उदाहरण केही शब्दहरू लिऔ–बङ्गाल थातथलो हुनेले बङ्गाली, ब्रिटेन थातथलो हुनेले ब्रिटिस, असाम थातथलो हुनेले असामी भन्छन् । भाषा पनि इङल्याण्डमा बोलिने इङ्ग्लिस नेपालमा बोलिने नेपाली, बङ्गालमा बोलिने बङ्गाली हुन्छ । राखाली, पाराली, पिल्मोङ, सोताङ, दिम्माली, बाङदेल आदि नाछिरिङको सन्तान भएपनि युगौयुगअघि आपसमा छुट्टिएर बेग्ला बेग्लै ठाउँमा वंश विकास भएको समुदाय हो । फरक–फरक ठाउँमा बसोबास गरेर वंश विकास गर्ने क्रममा भाषा र संस्कृतिको संरचनामा भौगोलिक भिन्नता आएको हो । नाछिरिङको सन्तानहरूबीच भावनात्मक एकता रहेपनि उनीहरूको भाषा, संस्कृति र उद्गम थलो भिन्नाभिन्नै भएको कारण एकतामा अनेकता थपिन पुगेको हो । युगौँयुगसम्म आपसमा भाषिक र सांस्कृतिक सम्पर्क विच्छेद हुँदा नाछिरिङको सन्तानहरूको भाषा र संस्कृतिमा आएको भिन्नताले विविध रूप धारण गरेको छ ।

नाछिरिङ केवल सबै जातिको साझा पुर्खा अथवा आदिम पुर्खा मात्र मान्न सकिने अवस्था रहेको छ । नाछिरिङको सन्तानहरू विभिन्न स्थानमा विकास भएको हुनाले उनीहरूको उद्गम भूमि एवं विकास थलो नै जातिको रूपमा परिणत भइसकेको अवस्था छ । भाषा र संस्कृति फरक रहेको परिस्थितिमा नाछिरिङका सन्तानहरू नाछिरिङ शब्दको छातामुनि अटाउन सकिने अवस्था क्षीण रहेको छ भने वैज्ञानिक आधार पनि देखिएको छैन ।
भाषा र संस्कृतिमा रहेको एकरूपताले विविध समुदायलाई जोडेर एकताको गाँठोमा कसेर राख्ने गर्दछ । भाषा र संस्कृति नै भिन्न भएपछि जातीय एकताको पहल निरर्थक हुन्छ । मानव सभ्यताको सुरुवातमा दाजुभाइ छुटिएर बेग्ला बेग्लै स्थानमा बसोबास गर्न पुग्नु भाषा भिन्नताको कारक तत्व हो । फरक–फरक स्थानमा बसोबास गरेका दाजुभाइका सन्तानहरू फरक परिवेशमा हुर्किदै फैलिदै जाँदा भाषा र संस्कृतिको संचरना परिवर्तन भयो ।
भाषा र संस्कृति भिन्न भएकै कारण नाछिरिङको सन्तानहरू सोताङ, पिल्मोङ, राखाली, पाराली, बाङदेल, दिम्माली आदि समुदायमा विभाजन हुनु परेको हो । दिस्मीका सन्तानहरू माप्य, खप र योङलिहाङ भए । माप्यका सन्तान खालिङ भए । खपका सन्तान कुलुङ भए । योङलिहाङका सन्तानहरू थुलुङ र बाहिङ भए । दिस्मीको सन्तानहरू विभिन्न जातिमा विभाजित छन् । नाछिरिङका सन्तानहरूले युगौंयुगदेखि कायम गर्दै आएको जातीय एकतालाई जीवन्त राख्ने इच्छा हुँदाहुँदै पनि पृथक जाति र संस्कृतिमा विभाजन हुनुको विकल्प नरहेको देखिन्छ । पुस्तौपुस्ता अघि आ–आफ्नो पुर्खाले सिर्जना गरेर एकपछि अर्को पुस्ताले मौखिकरूपमा जीवित राख्दै ल्याएको मौलिक भाषा र संस्कृतिको अस्तित्व गुमाएर कसैले आफ्नो जातिको ऐतिहासिक धरोहर मेटाउनु हुँदैन । -इमेलमार्फत्

प्रकाशित मिति: असार १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend