Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

हाम्रो कोशी आवाज
असार १९ २०७८, शनिबार
स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

धरानः स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।
पेनाल्टीमा जानु अघि खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।
खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
अब स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।
प्रि-क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । स्विट्जरल्यान्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएर स्पेनसँगको भेट पक्का गरेको थियो ।

प्रकाशित मिति: असार १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend