धरानः युरोकपको पहिलो सेमिफाइनल खेलमा आज मध्यराति इटाली र स्पेन भिड्दै छन् ।
लन्डनको वेम्बली स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ । युरोकप सुरु भएको ६० वर्षको अवसरमा युरोपको विभिन्न ११ सहरमा खेलहरु भइरहेका छन् ।
क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो । स्पेनले भने निर्धारित समयमा स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
फाइनल खेल १२ जुलाईमा हुनेछ ।
यस्तो छ २ टोलीको विगत
‘हेड टु हेड’लाई हेर्ने हो भने इटालीभन्दा स्पेन बलियो देखिएको छ । विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी यी टोलीबीच अहिलेसम्म ३३ पटक भेट भएको छ ।
यी भेटमा स्पेनले १२ खेलमा जित निकालेको छ भने इटालीले ९ खेल आफ्नो पक्षमा पारेको छ। १२ खेल बराबरीमा टुंगिएको छ ।
कस्तो हो स्पेन ?
स्पेन युरोकपमा लगातार दुई पटक युरोकपको ट्रफी बिजेता टिम हो । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकपको उपाधी आफ्नो पोल्टामा पारेको थियो । यसबाहेक सन् १९६४ मा पनि स्पेनले युरोकप जितेको थियो । २०१६ मा भने स्पेनले राउन्ड अफ १६ मा हारको सामना गर्नुपर्यो । इटालीसँग २–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि त्यो टिमका धेरैजसो खेलाडीले सन्यास लिइसकेका छन्। समूह ई मा रहेको स्पेनमा यो वर्ष सबै नयाँ खेलाडीहरु रहेका छन् । तर, उनीहरू सबै प्रतिभाशाली देखिन्छन् ।
टिममा टिएगो अलकान्तारा, डिएगो लोरेन्टे, पाब्लो सरयिबा, पाउल टोरेस, पेड्री, कोके जस्ता केही अनुभवी खेलाडीहरु छन् । यस्तै आफ्नो खेल करियरको सबैभन्दा शानदार फर्ममा चलिरहेका जेरार्ड मोरेना टिमका लागि महत्वपूर्ण खेलाडी हुन् । छनोट खेलमा स्पेनले १० मध्ये ८ खेल जितेको थियो भने दुई खेल बराबरी खेलेको थियो ।
कस्तो हो इटाली ?
सन् १९६८ मा इटालीले पछिल्लो पटक युरोकपको ट्रफी चुमेको थियो। त्यसपछि इटाली सन् २००० र २०१२ मा रनर–अप बनेको थियो । २०१६ को युरोकपमा इटाली क्वार्टर फाइनलमा जर्मनीसँग पराजित भएको थियो । खेल १–१ को बराबरीमा टुङ्गिएपछि जर्मनीले पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएको थियो । त्यसैले यसपाली यो टिम दोस्रो पटक ट्रफी जित्ने योजनामा छ ।
समूह ए मा रहेको इटाली शानदार फर्ममा छ । युरो छनोटका १० खेलमा १० खेलमै जितेको थियो । इटालीले आफ्नो छनोट खेलमा आर्मेनियालाई ९–१ गोल अन्तरले हराएर टुंग्याएको थियो। योसँगै इटालीले एक वर्षमा १० भन्दा धेरै जीत निकाल्ने रेकर्ड पनि बनाएको छ ।




