तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले स्तब्ध पार्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।
इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
वेम्बलीमा भएको खेलको निर्धारित ९० मिनेटको १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।
पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।
स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । काउन्टरमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।
तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । फेरान टोरेसको स्थानमा ६२ औं मिनेटमा मैदान छिरेका उनले डानिल ओल्मोको पासमा गोल गरेका थिए ।
यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडिको आफ्नै ३१ खेलमा अपराजित रहेको किर्तिमान यसै प्रतियोगिताबाट भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज (बुधबार) राति हुनेछ ।

इटालीको कीर्तिमान
जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३३ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो।
युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्याएको थियो। जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो।
अन्तिम १६ मा अस्ट्रियलाई हराएपछि इटालीले नयाँ रेकर्ड बनाएको थियो। जुन रेकर्ड क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा स्पेनलाई हराएसँगै भंग भयो।
अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३३ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन।
१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २८ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ।
यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ।
इटालीले सन् २०२१ मा ११ खेल खेलेको छ। इटालीले ती खेलमा २९ गोल गरिसकेको छ।
अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ। दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्।
लगातार ३३ खेलमा अपराजित इटाली दोस्रो स्थानमा अब इटाली छ।

