Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२८ वर्षपछि अर्जेन्टिनालाई उपाधि

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
२८ वर्षपछि अर्जेन्टिनालाई उपाधि

धरानः दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।
ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जीतमा एङ्गेल डी मारियाको गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् । सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।
३४ वर्षका मेस्सीले क्लब र व्यक्तिगत तहमा हाँसिल गर्न पर्ने सबै सफलता पाए पनि लामो पर्खाई र प्रयासपछि राष्ट्रिय टिमको कसर पूरा गरेका हुन् ।
साबिक विजेता ब्राजिललाई उसकै मैदानमा हराएर अर्जेन्टिना क्षेत्रीय च्याम्पियन बनेको हो ।
अर्जेन्टिना र ब्राजिल विश्वकै शक्तिशाली फुटबल राष्ट्रमा गनिन्छन् । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा यी दुई टिमबीच खासै भिडन्त नभएपनि ४७ औं संस्करणको कोपा अमेरिकाको उपाधिका लागि भिडेका थिए ।

अर्जेन्टिनाले अन्तिमपटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि सन् १९९३ मा जितेको थियो । त्यसयता कोपा अमेरिकाको ट्रफी अर्जेन्टिनाले चुम्न नसके पनि यो २८ वर्षमा चारपटक उपविजेता भने बनेको छ । लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा अर्जेन्टिना चिलीसँग हारेको थियो ।
मेसीको यो दशौँ मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । व्यावसायिक फुटबल करिअरमा उनले बार्सिलोनाबाट १०, स्पेनिस ला लिगा तथा युरोपियन च्याम्पियन्स लिगमा चारपटक उपाधि जितेका छन् । फिफाले प्रदान गर्ने बालोन डिअर सर्वाधिक ६ पटक जितेका मेसीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिक प्रतियोगिताको स्वर्णपदक अर्जेन्टिनालाई दिलाएका थिए ।
मेसीले सन् २००७ मा पहिलोपटक कोपा अमेरिकामा खेलेका थिए । उनले अहिलेसम्म कोपा अमेरिकामा ३३ खेलमा २० जित हात पारेका छन् । यसैगरी, तीन खेलमा हार व्यहोरेका मेसीले दुई हजार आठ सय १७ मिनेट मैदानमा बिताएका छन् । मेसीले कोपा अमेरिकामा अहिलेसम्म १३ गोल गरेका छन् ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend