Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाले बढाएको कृषि कर्म

हाम्रो कोशी आवाज
साउन १० २०७८, आइतबार
कोरोनाले बढाएको कृषि कर्म

भनिन्छ, नेपाल कृषि प्रधान देश हो । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख स्रोत कृषि नै हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ । यसअर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुख उद्यम पनि हो, अनि देशको मुख्य जीवनशैली हो ।
यसो भनिरहँदा पनि कृषिप्रति मानिसको चासो कम भएको घट्दै गएको जस्तो देखिएको छ । कृषि दुःखको पेशा हो । पढेलेखेकाले कृषि गर्दा समाजले के भन्ला फितलो सोच वर्तमान समाजमा विद्यमान सबैभन्दा मुख्य समस्या बनिरहेको छ । युवाहरुले भएका खेतलाई बाँझो राखेर विदेश भूमिमा पसिनाको सिंचाई गरिरहेका छन् ।
अर्कोतर्फ निर्वाहमुखी खेती मात्रै उत्पादन गर्ने प्रचलन बढेको छ । उता त्पादन गरेपनि उत्पादकले बजार नपाउनु, बिचौलियाहरु मालामाल हुनु, नेपालको तुलनामा विदेशबाट आएको सामानले बजारभाउ पाउनु, कृषिप्रति चासो र रुचि कम भएको भन्दा गलत नहोला ।
यता आज पनि कृषकले राष्ट्रिय अन्तराष्ट्रिय ब्यापारिक शक्तिहरुसँग प्रतिस्पर्धा गर्दा आर्थिक रुपमा असफल हुने भएकाले केही प्रयासहरु विफल भएका छन् । कृषिलाई व्यवसायीकरण गर्नका लागि लगानी नहुनु, कृषिप्रति सकरात्मक मानसिकता नहनु, उत्पादनमा विविधिकरण, सहयोगी पूर्वाधारको अभाव, अनुसन्धान र विकास प्रयाप्त नहुँदा पनि कृषि प्रणाली कमजोर बन्दै गएको छ । त्यसैले समाजमा कृषि र कृषकलाई दुःखको पेसाको रुपमा परिचय दिने प्रचलन पनि बढेको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी सङ्कटमा परेको छ । नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु अहिले रोजगारीको संकट भोगिरहेका छन् । नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ । तर कृषि गरेर बसेका युवाहरु भने यति बेला कोरोनाका कारण रोजगारी गुमाइहाल्नु पर्ला कि भन्ने चिन्तामा छैन ।
पछिलो समयमा वर्तमान परिवेश हेर्दा भने कोभिडले कृषिको महत्व सिर्जना गरको अधिकांश व्यक्तिलाई महसुस भएको छ । हिजो नाङ्गो देखिने खाली र प्लटिङ जग्गामा यतिबेला हरियाली देखिएको छ । लकडाउनको बीचमा शहर र विदेशबाट गाउँमा फकिएका व्यक्ति अहिले कृषिमा होमिएको समेत देखिएको छ ।
यसरी हेर्दा अहिले युवाहरुमा विदेशबाट आउने आम्दानीभन्दा स्वदेशकै मेहनतले दिगोरुपमा व्यवसायिक गर्न सकिने सकारात्मक सोंच पैदा भएको छ । विदेशको जति लगानी, मेहनत गर्दा नेपालमा नै आम्दानी गर्न सकिने र परिवारबाट टाढा पनि हुन नपर्ने मानसिकता अहिले युवामा पलाएको छ ।
अर्कोतर्फ खेतीपाती पहिले नपढेका मानिसले गर्ने पेसा थियो भने अब विस्तारै शिक्षित तथा योग्य मानिसले गर्ने समानित पेशामा बदलिँदै जाने सम्भावना प्रबल बढेको छ । कृषिमा व्यावसायिकता देखापर्न थालेको छ । कोरोनाको कहरका कारण शहरबाट गाउँ पसेका तथा वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषिमा संलग्न बढाउनका लागि उत्प्रेरणा जगाई त्यसतर्फ आकर्षित गर्ने राज्यलाई यो उत्तम अवसर सिर्जना भएको छ ।
यस परिवेशमा बेरोजगारी समाधानको एकमात्र विकल्प कृषिबाहेक अन्यको सम्भावना कम देखिएको छ । अब कृषि पारिवारिक निर्वाहमुखी अव्यवसायिक परिपाटीबाट बदलिँदै प्रविधियुक्त सामूहिक र व्यवसायिक कृषि प्रणाली विकास गर्न जरुरी देखिन्छ । अबका दिनमा राज्यले कृषि र कृषकलाई मर्यादित, ब्यवस्थापित तथा सम्मानित पेशा बनाउन आवश्यक छ । यसका लागि राज्यले तत्काल कृषिक्षेत्रमा विशेष राहतको कार्यक्रम घोषणा गरी यसको आधुनिकीकरण तथा ब्यवसायीकरणमा जोड दिई स्थायी किसिमका रोजगारीको अवसर सिर्जना गर्नु वर्तमान र भविष्यका लागि उत्तम विकल्प हुनेछ ।
लकडाउनले सङ्कलन गरेको पैसा, अन्नपात, सिद्दिदै जाने क्रम बढ्दै गयो, साँझ–बिहानको छाक टार्न समस्या हुने कोठाभाडा तिर्न नसक्ने अवस्था सिर्जना भयो । त्यसपछि मानिसलाई शहरको भन्दा गाउँको याद आउन थाल्यो । यसअघि रोजगारीको सिलसिलामा युवाहरु शहर र विदेश गएका कारण गाउँमा वृद्धवृद्धा, र बालबालिका मात्रै रहेको अवस्था थियो भने अहिले गाउँमा युवाहरु देखापर्न थालेका छन् । पहाडदेखि तराईसम्म खाली डाँडाहरु हरियाली देखिएको छ भने बुढा भएका आमाबुवाहरुको काखमा परिवारको साथ रहेको छ ।
गाउँ नै नदेखेको नातिले गाउँ देखेको छ । घरमै उत्पादन गरेको ताजा तरकारीले भान्सा ढाकेको छ । यता गाउँघरकै जडिबुटीले उत्तिकै महत्व पाएको छ । युवाहरु वैदेशिक रोजगार तथा शहर पसेका कारण गाउँमा भएका खेत तथा बारी खाली थिए तर यतिबेला ती खाली जग्गामा हरियाली छाएको छ । त्यसैले अहिले गाउँको हरियाली र गाउँ नै रमाइलो लाग्ने गरेको छ । साँच्चै नै विवेकशील बनौं र प्रकृतिसँग तालमेल गरी प्रकृतिका सबै जीवजन्तु तथा सम्पदाहरूको सहअस्तित्वलाई मनन गर्दै त्यसैअनुरूपको व्यवहार गरौं । समय समयमा आइरहने प्राकृतिक विपत्तिहरुले केही न केही पाठ सिकाइरहेका छन् ।
अब यस कोरोना भाइरसले निम्त्याएको परिस्थितिबाट बेलैमा सचेत होऔं । आशा गरौं यो संकटको घडी छिट्टै पार लागोस् । सबैजना आफ्नो यथास्थानमा बसौं, आफूसँग साथमा जे आफ्नो यथास्थानमा बसौं, आफूसँग साथमा जे जति छ, जुन अवस्थामा छौं, त्यसैमा रमाउन सिकौं । आखिर मनोरञ्जन पनि मानसिक तत्व न हो, साना साना कुराहरुमा खुशी खोजौं । आफू पनि बाचौं र अरुलाई पनि बचाऔं । आफ्नौ पाखो बारी खनौं, थोरै उत्पादन गरौँ तर धेरै आनन्द लिन सिकौं । अर्काको देशमा बगाउने पसिना आफ्नौ माटोमा सिञ्चित गरौं । नेपाल कृषिप्रधान देश हो भन्ने कुरालाई अब ज्वलन्त पारौं ।

प्रकाशित मिति: साउन १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend