धरानः २१ वर्षपछि बार्सिलोनाबाट बिदाइ हुँदै गरेका पूर्वकप्तान तथा खेलाडी लियोनेल मेस्सी पत्रकार सम्मेलनमै भावुक बन्दै भक्कानिएर रोएका छन् ।
सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए । क्लबबाट बिदा हुने निश्चित भएपछि पत्रकार सम्मेलन गर्दै उनले ‘आफ्ना लागि यो एकदमै कठिन क्षण’ भएको बताए ।
‘यो एकदमै कठिन छ, म यसका लागि तयार नै थिइनँ,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्न तयार भएको थिएँ । तर, यस वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौँ,’ उनले भावकु हुँदै भने, ‘आज मैले ‘गुड–बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ । र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँगै बिदा हुँदैछु ।’
उनले अहिलेसम्म कसैसँग सम्झौता नगरेको खुलाए । लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका हुन् । कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए । मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए । आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो ।
मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो। तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि सो क्लवबाट बाहिरिएका छन् । मेस्सीले गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।